सबै माओवादीको एकै स्वर

Mao-Meet-With-Pm copyकाठमाडौं, ५ चैत । द्वन्दकालीन घटनासँग सम्बन्धित मुद्दामा अदालतबाट धमाधम निर्णय भइ आफ्ना नेताहरू पक्राउ पर्ने अवस्था आएपछि एकीकृत नेकपा माओवादीसहितका सबै माओवादी पार्टी एक ठाउँमा उभिएका छन् । एमाओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति नेपाल गठन गरेका डा. बाबुराम भट्टराईले पनि माओवादीहरूको मोर्चामा साथ दिएका छन् ।

एमाओवादी, विभिन्न नाममा रहेका माओवादी र नयाँ शक्तिका नेताहरूले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर द्वन्दकालीन घटनासँग सम्बन्धित मुद्दा सत्यनिरूपण तथा मेलमिलाप आयोगले मात्र हेर्ने व्यवस्था गर्न माग गरेका छन् ।

माओवादी पार्टीका नेताहरूले द्वन्दकालीन घटनामा अदालतले हात हाल्नु शान्ति सम्झौताको भावना विपरीत भएको भन्दै सत्यनिरूपण तथा मेलमिलाप आयोगले मात्र पहिलेका मुद्दा हेर्न पाउने गरी आयोगसम्बन्धी ऐन संशोधन गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, मातृका यादव, मणि थापालगायतका नेताहरू प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेकामा नयाँ शक्तिका तर्फबाट डा. बाबुराम भट्टराईकी पत्नी हिसिला यमी गएकी थिइन् ।

एमाओवादी अध्यक्ष दाहालले द्वन्दकालीन घटनासँग सम्बन्धित मुद्दालाई नियमित मुद्दाजस्तो मानेर अदालतले फैसला सुनाउने कुरा आपूmहरूलाई कुनै पनि हालतमा सह्य नहुने भन्दै यस विषयमा गम्भीर हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको संचारकर्मीहरूलाई बताए ।

जवाफमा प्रधानमन्त्री ओलीले द्वन्दसँग जोडिएका सबै मुद्दा सत्यनिरूपण तथा मेलमिलाप आयोगले मात्र हेर्ने व्यवस्था मिलाउने बारेमा आफू सकारात्मक रहेको बताए ।

पछिल्लोपटक ओखलढुंगा जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीविरुद्ध पूर्वसांसद् केशव राईले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएर राईलाई पक्राउ गर्ने बाटो खोलिदिएपछि सबै माओवादी एक ठाउँमा उभिएका हुन् ।

प्रतिक्रिया