बन्यो शिक्षकको पेसागत प्रारूप

काठमाडौ, ३ चैत । शैक्षिक जनशक्ति विकास परिषद्ले पहिलोपटक ‘शिक्षक सक्षमताको प्रारूप’ पारित गरेको छ । यसअघि शिक्षकको पेसागत दक्षताको स्पष्ट मापदण्ड नबनेको भन्दै शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा सो प्रारूप तयार पारिएको हो ।

बुधबार शिक्षा मन्त्रालयमा बसेको परिषद्को बैठकले विभिन्न ८ वटा शिक्षक सक्षमताको मापदण्ड पारित गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले शिक्षकमा विषय वस्तुको ज्ञान, शिक्षण सिकाइका तौरतरिकासम्बन्धी ज्ञान, विद्यार्थीको पृष्ठभूमि, कानुनी आधार तथा पेसागत आचारसंहिता, सूचना तथा सञ्चार प्रविधिलगायतको ज्ञान अनिवार्य हुनुपर्नेलगायतको मापदण्ड पारित गरेको हो ।

शिक्षकहरूको पेसागत दक्षता अभिवृद्धिको लागि काम गर्दै आएको केन्द्रले यसअघि पाठ्यक्रम र शिक्षक सेवा आयोगले निर्धारण गरेको मापदण्डको आधारमा शिक्षहरूलाई तालिम दिँदै आएको थियो । बैठकले शिक्षकहरूको तालिमको ढाँचामा पनि परिवर्तन गर्ने निर्णय गरेको छ । विगतमा शिक्षकहरूले ५ वर्षभित्र ३० दिनको तालिमलाई १०÷१० दिनको तीन मोडलेमा तालिम दिने गरिएको केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमले जानकारी दिए । उनले भने, ‘आगामी वर्षदेखि त्यसलाई परिवर्तन गरेर १५÷१५ दिनको बनाइएको छ ।’ गौतमका अनुसार तालिम शैक्षिक तालिम केन्द्रमा मात्र सञ्चालन गरिनेछ । सरकारले पेसागत विकासका लागि शिक्षकहरूलाई छोटो र लामो अवधिको विभिन्न तालिम दिँदै आएको थियो ।

बैठकले तालिममा सहभागी हुने शिक्षकहरूको मूल्यांकनको विधि पनि पारित गरेको छ । तालिममा उत्तीर्ण हुन लिखित परीक्षाका साथै अन्य विभिन्न मापदण्डहरू पास गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया