संक्षेप

ल्हारक्यालले मानेनन्
काठमाडौं । दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकरमा गोली फेला परेपछि पक्राउ परेका एमाओवादी सभासद् ल्हारक्याल लामाले आफ्नो स्वास्थ्य ठीक नभएको भन्दै ‘पोलिग्राफ टेस्ट’ गर्न अस्वीकार गरेका छन् । ‘पोलिग्राफ’ झुटो पत्ता लगाउने मेसिन हो । अनुसन्धानका क्रममा अभियुक्तको शरीरका विभिन्न भागमा पोलिग्राफ जोडेर बयान लिँदा झुटो बोलेमा पोलिग्राफमा उत्पन्न हुने भाइब्रेसनको आधारमा झुटो प्रमाणित हुन्छ ।

अनुसन्धानमा संलग्न एसपी प्रद्युम्न कार्कीले भने, ‘उहाँले आफ्नो स्वास्थ्यमा सामान्य समस्या रहेको भन्दै पोलिग्राफ अस्वीकार गर्नुभयो ।’ मंगलबार ल्हारक्याललाई पोलिग्राफ टेस्ट गर्न प्रहरी प्रधान कार्यालय लगिएको थियो ।

त्यस्तै मंगलबारै प्रहरी र अख्तियारको संयुक्त टोलीले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको ल्हारक्यालको लकर खोलेको छ । २०१४ देखि भाडामा लिएको ल्हारक्यालको सो लकरमा केही पनि फेला नपरेको एसपी कार्कीले जानकारी दिए । उनले भने, ‘लकर २०१४ देखि भाडामा लिएको देखियो, तर केही फेला परेन ।’ (सौस)

दूतावासले कर्मचारी हटाउने
काठमाडौं । दिल्लीस्थित दूतावासका हकमा ‘स्थानीय दरबन्दीमा २० भन्दा बढी कर्मचारी राख्न नमिल्ने’ भनेर नेपाल सरकारले परिपत्र जारी गरेपछि दूतावासले स्थानीय कर्मचारी छनोट तथा अवकाशको प्रक्रिया अघि बढाएको छ । दूतावासले पहिलो चरणमा अनिवार्य अवकाश दिइने भनेर छनोट गरेका स्थानीय दरबन्दीका नेपाली तथा भारतीय कर्मचारीसँग ‘स्थायी सेवा’को कागजात रहेकाले सरकारको निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।

स्थायी दरबन्दीका कर्मचारीले कानुनले दिने आवश्यक सेवा र सुविधा नलिई अवकाशपत्र नबुझ्ने भनेर अडान लिएपछि ४ नेपाली चौकिदारसहित केही भारतीय कर्मचारी निष्काशनको विषय विवादमा आएको छ ।

बढीमा २२ वर्षदेखि स्थायी हैसियतमा कार्यरत ८ जना कर्मचारीलाई कुनै पूर्वसूचना अथवा सेवा र सुविधाको प्याकेजविनै अवकाश दिन लागिएको विषयलाई राजनीतिक भातृ संगठनका प्रतिनिधिहरूले उठाएपछि यसबारे दूतावासले थप निर्णय गर्न सकेको छैन ।

दूतावास स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयले जारी गरेको अर्को परिपत्रअनुसार कुनै पनि कुटनीतिक नियोगमा स्थायी दरबन्दीमा स्थानीय कर्मचारी नराख्ने र कतै रहेको भएमा आगामी चैतभित्रमा सबैलाई अवकाश दिइने जनाइएको छ ।

कर्मचारीले भने आफ्नो अवकाश उमेर (५८ वर्ष) अनुसार बाँकी अवधीको तलबसुविधासहित अवकाश पत्र बुझ्न सकिने अडान राखेका छन् । कर्मचारीको समस्याबारे परराष्टमन्त्री कमल थापालाई पनि राजनीतिक भातृ संगठनले अवगत गराएका छन् । दूतावासमा अभैm पनि स्थायी, अस्थायी र करार सेवामा २ दर्जनजति स्थानीय दरबन्दीका कर्मचारी छन् ।

दूतावासले अहिले अवकाश दिन छनोट गरेका कर्मचारीमा २२ वर्षदेखि चौकिदारी गर्दै आएका गुल्मीका कृष्णप्रसाद पन्थ, जितबहादुर हमाल(१९ वर्षदेखि), नारायण भुजेल(१४ वर्षदेखि) र रघुनाथ ज्ञवाली(१९ वर्षदेखि) छन् । (सौस)

युवतीले लुटिन्
म्याग्दी । खाजा खान बोलाएकी एक युवतीले नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जालीका साथमा रहेको सुन, मोबाइल टेलिफोन र पैसा लुटेकी छन् । सोमबार साँझ बेनीको ‘पुन होटल एन्ड नान हाउस’मा खाजा खान जाँदा आफ्ना साथमा रहेको दश तोला सुनलगायत सामान लुटिएको पीडितले बताए ।

खाजासँगै मगाइएको रक्सीमा लठ्याउने पदार्थ मिसाएर खुवाइएपछि आफू बेहोस भएको र आफ्ना तीन तोलाको औंठी, चार तोलाको सुनको सिक्री र दुई तोलाको हातमा लगाइएको चेन लगायत लुटेर युवती फरार भएकी जुक्जालीले बताए । खाजासँगै रक्सी खाएका जुक्जाली बिहान मात्रै बिउँझिएका थिए । लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्षसमेत रहेका जुक्जालीको ती युवतीसँग कृषि औजार कारखानामा भेट भएको थियो । सामान किन्न आएकी युवतीले भिजिटिङ कार्ड लगेपछि उनीहरूबीच दुई तीन दिन फोनमा कुरा भएको थियो ।

कपाल खैरो पारिएको, सेतो प्यान्टस् र सेतो स्विटर लगाएकी पातलो शरीर भएकी युवतीको हुलियाका आधारमा अहिले खोजी भइरहेको छ । अरबी भाषा बोल्ने अन्दाजी २० वर्षकी ती युवतीले जुक्जालीसँग आफ्नो घर म्याग्दीकै दोवा भएको बताएकी थिइन् । (सौस)

प्रतिक्रिया