काभ्रेमा ग्यास कालोबजारी रोकिएन

काभे, १ चैत । ग्यास नपाउँदा बनेपामा डेरा गरी बसेर काभ्रे क्याम्पसमा ११ कक्षामा अध्यनरत महेश पराजुली घर जाने तरखरमा छन् । उनी जस्तै चैतन्य क्याम्पस १२ मा अध्ययनरत मनिष गौतम पनि यस्तै समस्यामा भौतारी हिँडेका छन् । बनेपाको विभिन्न क्याम्पसमा काभ्रेका विभिन्न गाविसका विद्यार्थी अध्ययनरत छन् । यसैगरी, सिन्धुली, सिन्धुपाल्चोक रामेछापलगायत जिल्लाहरूबाट काभ्रेमै बसेर अध्ययन गर्नेहरू थुप्रै छन् ।

यसै जिल्लामा नाकाबन्दी र तराई आन्दोलनको मौका छोप्दै कालोबजारी गर्नेहरू अहिलेको सहज अवस्थामा पनि कालोबजारी गर्न छाडेका छैनन् । काभ्रेमा पछिल्लो समय ग्याँसका डिपोहरूमा देखिन त थालेको छ, साथमा कालोबजारी पनि मौलाउँदो अवस्थामा छ । कालोबजारीयाहरू भारतले फेरी नाकाबन्दी गर्ने हल्ला चलाउनमा पनि सक्रिय छन् । डिपोमा २०औँ दिनसम्म पनि नाम लेख्दा पनि ग्यास नपाउँदा विशेषगरी डेरामा बसेर पढ्ने विद्यार्थीहरू मर्कामा पर्दै आएका छन् । सरकारले तोकेको मूल्यभन्दा पसलेले दोब्बर २ हजार ४ सय रुपैयाँ माग गरेपछि हरि अधिकारी भन्छन्, ‘बनेपाको चारदोबाटो छेवैमा रहेको ग्याँस डिपोले यस्तो गरेर ग्याँस बेचिरहेको छ । पैसा हुनेहरूले त तिर्छन तर हामी विद्यार्थीहरूलाई साह्रै नै मर्का परेको छ ।’

ग्यासको तौलमा पनि उपभोक्तहरू ठगिँदै आएका छन् यसरी कालोबजारी मौलाउन पुग्दा स्थानीय प्रशासन मौन बसेर सहयोग गरेको आरोप स्थानीय उपभोक्ताहरूको छ । काभ्रेमा रहेका ग्याँस डिलरहरू अधिकांश मापदण्ड विपरीत रहेको छ तर अनुगमन हुन सकेको भने अझै छैन ।

प्रतिक्रिया