पाँचथर, १ चैत । मेचीको पर्यटन प्रवद्र्धनका लागि पाँचथर आइपुगेका एमालेका प्रभावशाली नेता तथा संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्बाङले पाँचथरमा सोमबार सम्वोधन गर्दै जारी भएको संविधान महिलामैत्री भएकाले कार्वान्वयन भएरै छाड्ने बताए । नेम्बाङले राष्ट्रपति, सभामुख र अब चैत महिनाभित्रमा महिला प्रधानन्यायाधीश पनि महिला नै बन्ने पक्का भइसकेको नयाँ संविधान महिलामैत्री रहेको प्रमाणित भएको बताए ।
मेचीको पर्यटन प्रवद्र्धनका एमाले मेची अञ्चल कमिटीको अभियान जारी छ । सोही अभियानअन्तर्गत पाँचथरमा भएको कार्यक्रममा नेम्बाङले यस्तो बताएका हुन् । फिदिममा भएको कार्यक्रममा जनजातिका पहिचान, कला संस्कृति प्रस्तुत गरिएको थियो । फिदिमको कार्यक्रममा लिम्बू गीतसहित केलाङ नाच प्रस्तुत गरिएको थियो । त्यसैगरी राईहरूको साकेला नृत्य पनि प्रस्तुत गरिएको थियो ।
अभियानअन्तर्गत झापाको सुखानी पार्कदेखि ताप्लेजुङको ढुंगेसाँघुसम्मको पर्यटकीय स्थानहरूको भ्रमण हुने आयोजकले जनाएको छ । कार्यक्रममा एमालेका ७५ वटै जिल्ला अध्यक्ष, सबै अञ्चल इन्चार्ज, केन्द्रीय कमिटीका पदाधीकारीसहितको १ सय ५० जनाबढीको जम्बू टोली रहेको आयोजक समितिका संयोजक डम्बरसिंह सम्बाहाम्फेले बताए ।
पाँचथरमा आयोजित कार्यक्रममा स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरे, सुरक्षा निकायका अधिकारी उपस्थित थिए ।
प्रतिक्रिया