काभ्रे, ३० फागुन । काभ्रेपलाञ्चोक जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद र जरिवाना हुने ठहरेको दोषीहरूलाई फैसला कार्यान्ययनका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्रन थालेको छ । यसरी पक्राउपर्नेमा बनेपा–१० बस्न १९ वर्षीय गोविन्द कर्माचार्य पनि रहेका छन् । चोरी मुद्दा लागेका उनलाई ०७२ को ७ जेठमा अदालतले १ लाख ३० हजार रुपैयाँ जरिवाना र १ महिना कैदको फैसला सुनाएको थियो ।
रविओपी–८ बस्ने १८ वर्षका सरोज थापा र डाडागाँउ–५ बस्ने २१ वर्षका पवन किङरिङ मगर पनि पक्राउ परेका छन् । उनीहरूलाई चोरी मुद्दामा दोषी ठहर गरिएको थियो । यस्तै सवारी ज्यान मुद्दाका दोषी पात्लेखेत–९ बस्ने ४० वर्षका सुवास थापालाई २०६२ को २९ वैशाखमा जम्मा २ हजार रुपैयाँ जरिवाना गरिए पनि उनी फरार रहँदै आएका थिए ।
त्यसैगरी गतबिहीबार दुर्घटना गराउने चालक पनि पक्राउ परेका छन् । बिहीबार दिउँसो २ बजेको समयमा बनेपाबाट काठमाडौंतर्फ गइरहेको बा २ ख ६३६ नं. को बस र विपरीत दिशातर्फबाट आइरहेको बा ७० प ४८९९ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाई सवारी दुर्घटना हुँदा मोटरसाइकल चालक वर्ष ३० को श्याम शाक्य र पछाडि सवार वर्ष ३६ को नवाङ् लामा घाइते भएका थिए ।
अस्पतालमा उपचारकै क्रममा उनीहरूको मृत्युसमेत भएको थियो । सो घटनामा प्रहरी टोलीले तत्कालै उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो र दुर्घटनापश्चात् तत्कालै फरार रहेका बसका चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । उपचारकै क्रममा मृत्यु भएका शाक्य र लामाको मृत्यु भएको सवारी ज्यान मुद्दामा प्रारम्भिक अनुसन्धानपश्चात् मृतकका शवहरू आफन्तलाई जिम्मा लगाइएको थियो । प्रहरीले सो दुर्घटना गराई फरार रहेका बा २ ख ६३६ नं. को बसचालक वर्ष ३८ को रामबहादुर तामाङलाई २९ फागुनमा नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइएको पनि जनाएको छ ।
प्रतिक्रिया