विदाको दिन पनि गाउँगाउँमा जिल्लाको टोली

22पाँचथर,२९ फागुन । पाँचथरमा र्सावजनिक बिदामा पनि गाविस तहमा नै स्थानीय प्रशासनले नागरिकता वितरण गरेको छ । सरकारी बिदा अथवा अन्य बिदामा पनि गाउँगाउँमा घुम्ती शिविर स्थापना गरी घरदैलोमै नागरिकता वितरण गरिएको छ ।

गाउँदेखि सदरमुकाम आउन नागरिकलाई कठिनाइ तथा आर्थिक खर्च हुने भएकाले घरदैलोमा जनमुखी अधिकार सेवा प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले बताए । जिल्ला प्रशासनले नमुना कार्यालय स्थापना गरी नागरिकता वितरण गरिरहेको छ । नेपाल सरकारले जनमुखी प्रशासन, जनताकै अधिकारको अवधारण लागू गर्ने नितिअनुरूप पाँचथरमा पनि जनताको घरघरमै सेवा दिएको हो ।

प्रमूख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले गाउँ घरमै सेवा उपलब्ध गराउन सकिएमा अरू कार्यालयले पनि अनुसरण गर्ने र सर्वसाधारण लाभान्वित हुने बताए । लगातारको ३ दिनको सार्वजनिक बिदालाई जनताको घरदैलोमा पुगी सेवा प्रदान गरिने क्रममा आंगनामा हांगुम, मौवा, वलने, आरुबोटे गाविसका लागि गरिएको सिविरमा ४ सय १५ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको प्रजिअ घिमिरेले बताए । माङजाबुङको चौथी बजारमा घुम्ती सिबिरबाट १ सय ७६ जना गरी जम्मा ५ सय ९१ जनाले नागरिकता प्राप्त गरेका छन् ।

घुम्ती शिविरमा पशु सेवा कार्यालयले कुकुरलाई रेविजविरुद्ध भ्याक्सिन लगाएका र अन्य पशुको रोगसम्बन्धी औषधिसमेत वितरण गरिएको थियो । सिविरमा महिला तथा बालबालिका कार्यालयबाट अपांगता भएका व्यक्तिलाई अपांग परिचयपत्र २३ जनालाई वितरण गरिएको बाल अधिकार अधिकृत सरस्वती सिवाकोटीले जानकारी दिएकी छन् । सोही अवसरमा जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णप्रसाद कोइरालाले विद्यालयका विपन्न परिवारका बालबालिकाहरूलाई स्टेसनरी वितरण साथै मोबाइल दुरूपयोगले हुने घटना, लागुऔषधलगायत अनुशासनका विषयमा सचेतना दिलाएका थिए । जिल्ला निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली संकलनसमेत गरिएको थियो ।

माङजाबुङमा गएको घुम्ती सिविरबाट सेवा पाएर स्थानीय जनता हर्षित बनेको र नागरिकले ०४४ सालपछि दोस्रोपल्ट घरदैलोमा सेवा पाएको एमाले पूर्वगाविस अध्यक्ष बालकृष्ण शर्माले बताए । स्थानीय नागरिकले पुनः सेवा पाउनका लागि आग्रहसमेत गरेको प्रजिअ घिमिरेले बताए । शनिबारको बिदालाई सदुपयोग गर्दै रबीमा सरकारी सेवा प्रवाह तथा सुशासनको सार्वजनिक सुनुवाई गरिएको छ ।

प्रतिक्रिया