औँठी नदिँदा बिहे भाँडियो

वीरगन्ज, २८ फागुन । बेहुलीका बुबाले दाइजोमा औंठी नदिँदा बेहुलीको सिउँदोमा सिन्दुर हाल्दै गरको बिहे भाँडिएको छ । वीरगन्ज उपमहानगरकालिका–१८ लक्ष्मणवाका २२ वर्षीय अनुप बर्णवाल र भारत बिहार पश्चिम चम्पारणको बेतियाकी २१ वर्षीया युवतीबीचकोे बिहे भाँडिएको हो । वीरगञ्जको आदर्शनगरस्थित महावीर धर्मशालामा बिहीबार राती बेहुलीको सिउँदोमा सिन्दुर हाल्न अघि बढेका बेहुलालाई उनका बुबा अंकुर बर्णवालले रोकेर दाइजोमा कबुलै नगरिएको सुनको औंठी बेहुलीका बुबासँग मागे ।

बेहुलीका बुबाले सुनारले बनाउन नभ्याएकाले औंठी पछि दिने भन्दै हात बेहुलाका पक्षसँग जोडे । त्यसपछि बेहुलाका बुबा अंकुरले औंठी नपाए छोराको बिहे नगर्ने धम्की दिए । बेहुला अनुपले पनि औंठी नपाएसम्म बेहुलीको सिउँदोमा सिन्दुर नहाल्ने अडान त्यतिबेलै लिए ।

त्यसमै विवाद भई विवाह मण्डपमै दुई पक्षबीच कुटाकुट हुँदा बिहे भाँडिएको हो । दुवै पक्षबीचको झडपमा बेहुलापक्षका एक महिला र बेहुलीपक्षका एक पुरुष घाइते भएका छन् । बिहेको मण्डपमा झडपको खबर पाएपछि राती नै पुगेको प्रहरीले बेहुला अनुप र उनका बुबा अंकुरलाई नियन्त्रणमा लिएको छ । दुबैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साले हिरासतमा राखेको छ ।

बेहुलीका बुबाले दाइजोमा बेहुलाका बुबालाई नगद २ लाख ४० हजार रुपैयाँ बिहे हुनुभन्दा अघिको छेका (टीकोटालो समारोह) मै दिइसकेका थिए । नगदसँगै बेहुलालाई सुनको सिक्री र औंठी पनि पहिले नै दिइसकेको बेहुलीका बुबाले बताए । बिहेको मण्डपमा सिन्दुर हाल्ने बेला बेहुलाका बुबाले थप सुनको औंठी मागेपछि विवाद र कुटाकुट भएको बेहुलीका बुबाले बताए ।

‘औंठी बनाउन सुन पसलमा अर्डर गरिसकेको थिएँ, सुनारले बनाउन नभ्याएकाले ल्याउन सकिनँ’, सुन पसलेले दिएको औंठीको बिल देखाउँदै बेहुलीका बुबाले भने, ‘धेरै हारगुहार गरँे, तर बेहुलाका बुबाले मान्दै मानेनन् ।’ दाइजोमा दिएको नगद, सुनको गरगहना, बेहुला पक्षलाई लत्ताकपडा किन्दा र भोजभतेरसहित आफ्नो ७ लाख रुपैयाँ खर्च भएको बेहुलीका बुबाले बताए ।

भारतमा घर भए पनि बेहुलापक्षको दबाब र आग्रहमा बेहुलीका बुबाले छोरीको विवाह समारोहका लागि वीरगन्जको आदर्शनगरमा रहेको महावीर धर्मशाला दुई दिनलाई भाडामा लिएका थिए । बिहेको भोजभतेरको सबै चाँजोपाजो पनि बेहुलीका बुबाले नै गरेका थिए । ‘मैले त जन्ती मेरै घरमा ल्याउनु भनेको थिएँ । तर बेहुलाका बुबाले बिहे वीरगञ्जमै गर्नुपर्छ भनेर दबाब दिएपछि मैले धर्मशाला बुक गरेको थिएँ’, उनले भने, ‘जन्तीलाई भोजभतेरसहितको सबै खर्च पनि मेरै थियो ।’

प्रहरीले बिहेको मण्डपबाट बेहुला अनुप र उनका बुबालाई हिरासतमा लिएपछि शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा बेहुला र बेहुली पक्षबीच दिनभर छलफल भयो । छलफलका क्रममा बेहुलापक्षले विवाह नरोकिदिन आग्रह गरे पनि बेहुलीका बुबा जगरनाथले छोरी दिन मानेनन् ।

त्यसपछि बेहुलापक्षले बेहुलीपक्षलाई क्षतिपूर्तिवापत भारतीय रुपैयाँ ४ लाख (६ लाख ४० हजार रुपैयाँ) दिने प्रस्ताव गरेपछि बेहुलीका बुवा जगरनाथले बेहुला पक्षविरुद्ध प्रहरीमा जाहेरी नदिने सहमति गरेका छन् । तर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले दाइजो समाजिक अपराध भएकाले आपसी सहमतिमा पीडकपक्षलाई रिहा गर्न नमिल्ने बताए ।

‘दाइजो र महिला हिंसा जस्ता घटना सामाजिक अपराध हुन् । उनीहरू आपसी सहमति के गर्छन् ? त्यो हाम्रो सरोकारको विषय होइन’, डिएसपी बोगटीले भने, ‘प्रहरीले सामाजिक अपराध अन्तर्गत कारवाही अघि बढाउँछ । बेहुलीपक्षका तर्फबाट जाहेरी दिलाउने प्रयासमा हामी छौँ ।’

प्रतिक्रिया