दैलेख, २२ फागुन । द्वन्द्वको सुरुआतसँगै हाम्रो गाँउघरमा नाचिने सयवर्ष पहिलेदेखिको पुस्तासँगै हस्तान्तरण हुँदै आएका नाचहरू हराउने अवस्थामा पुगेका छन् । हाम्रो समाजमा आएको सामाजिक राजनीतिक परिवर्तनसँगै सदियौँदेखि चलिआएका नाचहहरू लोप हुने अवस्थामा पुगेका हुन् ।
नयाँनयाँ गीतसंगीतले गाउँघरसम्म छाउन थालेपछि खासगरी हाम्रो समुदायहरूमा नाचिने हुड्के, पैंजरी, ढोलकी, रत्यौली, गर्रालगायत परम्परागत लोक नृत्यहरू हराउने अवस्थामा पुग्न थालेका हुन् ।
हुडके नाच
मुस्किलले चाडपर्वहरूमा ठाडीभाका, रत्यौली र देउडा नाचमा बुढापाकाहरूको मोह देख्न सकिन्छ । तर, सदियौँदेखि समाजको गहनाभैmँ चलनचल्तीमा आएका लोकनृत्यहरूप्रति पछिल्लो पुस्ता नजिकिन नसकेपछि हराउने अवस्थामा पुगेको हो । कालभैरव–७ का ७२ वर्षीय प्रेमबहादुर घर्तीले सामाजिक सहिष्णुता राख्नका लागि पुराना गीत र नाच निकै महत्वपूर्ण माध्यम भएको बताए । कामकाज सकेर थकान मेट्ने र मनोरञ्चन लिने माध्यमका लागि नाच भएको उनको तर्क छ । ‘धुमधाम पञ्चेबाजा बजाएर विवाह गर्ने चलन थियो अहिलेका युवाहरू सुटुक्क मन्दिरमा गएर विवाह गर्छन् ।’ घर्तीले भने, ‘पहिले विवाहमा पञ्चैबाजा बजाउने, ढोलकी, मारुनी र हुड्का नचाउने गरिन्थ्यो ।’ केहीवर्षदेखि एफएम रेडियो र मोबाइलको बढ्दो प्रभावले गर्दा यहाँका लोक नृत्यहरूले आधुनिक समाजमा निरन्तरता पाउन नसकेको कलासंस्कृतिकर्मीहरू बताउँछन् ।
सांस्कृतिक, ऐतिहासिक, र सामाजिक दृष्टिले महत्वपूर्ण मानिने यस्ता नृत्यहरू विशेष कार्यक्रमबाहेक गाउँघरबाट हराउन थालेका छन् । मागल दुलही लिन जाँदा र भित्र्याउँदा गाइने विशेष भाका हो । दमाई जातीमा हुने हुड्केले हुड्का बजाएर नाच्ने नाचलाई हुड्का भन्ने गरिन्छ । पहिलेपहिले विवाह, ब्रतवन्ध र अन्य खुसियालीमा ऐतिहासिक र पौराणिक वीर पुरुषहरूको गाथा गाएर हुड्का नाच्ने गरिन्थ्यो । जानकारका अनुसार मध्य तथा सुदूरपश्चिममा मागल र हुड्के विरलै नचाएको पाइन्छ । जिल्लाका पूर्वी भेक कुनैबेला गर्रा, मयुर र पैंजेरी नाचले चिनिन्थ्यो तर विरलै देखिने गर्दछ ।
प्रतिक्रिया