दुई लघुकथा

kabitram copy१, उचाइको दुई बोध कथा

कथा – १ ,

ऊ साथीको काँध चढेर माथि उक्लियो र तल हेर्दै भन्यो, ‘तिमी तल छौ तिम्रो र मेरो उचाइ एक छैन । तिमीसँग मेरो कुरै हुन सक्दैन ।’ तल बस्नेले मञ्चको खाबो काट्दै भन्यो, ‘तिमीलाइ तल झारेर बुझाउन चाहान्छु कि, एक मा एक घटाउदा शून्य हुन्छ ।’

कथा–२,

उसले काँधमा चढाएर साथीलाई माथि उकाल्यो, उसले माथि हेर्दै उसले भन्यो, ‘तिमी माथि छौ । मेरो र तिम्रो उचाइ एक छैन । तिमीसँग मेरो कुरै हुन सक्दैन । ‘ माथिको मान्छेले डोरी झार्दै भन्यो, ‘तिमीलाई माथि उकालेर बुझाउन चाहान्छु कि एकमा एक मिल्दा एघार हुन्छ ।’

 

२, नदी सदा बग्दाछन्, पहाड सदा ढल्दाछन्

सङ्लो बग्दैथियो नदी । वर्षाको भेलले यो धमिलियो । बग्दो भेलले किनारहरू काट्दै ठूलो पैरो झा¥यो । नदीको बाटो पूरै अवरुद्ध भयो । वरपरका पहाडहरूले ठहाका मारे, हाहाहा…देखियो तेरो अग्रगामिता !

अवरुद्ध नदी दहको रूपमा जम्न लाग्यो । भेल त बढ्दो थियो नै नदी जति जम्यो उति यसमा शक्तिको वृद्धी भयो । अन्ततः अवरुद्ध गर्ने पैरो मात्र होइन त्यसलाई टेवा दिने पहाडै सोरिदियो । तर, अब पानीमा त्यही स्वरूप थिएन । पहाड्कै अथाह माटोको सम्मिलनले यो बाक्लो थियो ।

त्यहाँ पहाड पहाड थिएन । पानी पानी थिएन । हिलै बग्दो थियो नदीमा । तर, स्थिति थियो विजयको । बाग्लिएको नदीले गर्वसाथ उल्लास ग¥यो, वाह ! क्या समावेसिता !

समय बित्दो छ । पानी सङ्लदो छ । नदी गन्तव्यतिर सुसाउँदो छ । तर, कथा यो सकिएको होइन । फेरि वर्षा आउनै छ । नयाँनयाँ अवरोधका पहाड ढल्नै छ ।

समावेसिता बाग्लिएर शास्वत अग्रगामिताको अनवरत कथा कोरि नै छ । मान्नोस, यो कथा उहिलेदेखि थियो छ र भई नै रहनेछ । सत्य यही हो, नदी सदा बग्दाछन्, पहाड सदा ढल्दाछन् ।

 

प्रतिक्रिया