सहयोग मिलेन :प्रवक्ता पाठक

खोटाङ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता तथा सदस्य प्राध्यापक डा. विष्णु पाठकले १३ महिना बित्दासमेत आयोगले अपेक्षित काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सदरमुकाम दिक्तेलमा आयोजना गरेको पीडित तथा सरोकारवालासँगको अन्तक्र्रियामा प्रवक्ता पाठकले कामका हिसाबले उच्चस्तरीय अंग भए पनि सरकारको उचित सहयोग नमिल्दा आयोगले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताए । पाठकले भने, ‘आयोगलाई हातखुट्टा बाँधेर पोखरीमा फालेसरह बनाइयो, काम सुरु गर्नै गाह्रो भो ।’

पाठकले पछिल्लो समय अन्तर्राष्ट्रिय समुदायबाट समेत आयोगलाई सहयोग प्राप्त हुन नसकेको उल्लेख गरे । नेपालमा ९ वर्षसम्म आयोगको पक्षमा वकालत गरेको संयुक्त राष्ट्र संघसमेत आयोग बनेपछि चुप बसेको पाठकले बताए ।

स्थानीय शान्ति समितिको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा काहुले–३ का भीमबहादुर राईले द्वन्द्वको समयमा नेकपा माओवादीसँग हिँडेकी पत्नी चन्द्रा राईको हालसम्म अत्तोपत्तो नभएको गुनासो गरे । चन्द्रालाई बेपत्ताको सूचीमा राख्न ०७१ साल १९ फागुनमा सिफारिस गरिए पनि कार्यान्वयन नभएको स्थानीय शान्ति समितिले जनाएको छ । अन्तक्र्रियामा सहभागीले पीडितको पक्षमा काम गर्न र उनीहरूको विश्वास जित्न आयोगलाई सुझाव दिएका छन् । (सौस)

प्रतिक्रिया