खेलकर्मीलाई लाग्यो महाधिवेशन

congress sportsनेपाली खेलकुदको नेतृत्व खेलकर्मीले गर्ने या राजनीतिक व्यक्तित्वे गर्ने भन्ने प्रश्न विभिन्न समयमा उठ्ने गरेका छन् । तथापि, खेलकर्मी आफैँले समग्र खेलकुदको नेतृत्व गर्ने हिम्मत या चाहना गरेको घटना भने कमै छ । यसरी खेलकुदको समग्र नेतृत्वको चाहना र हिम्मत गर्ने प्रायः करातेमा आबद्ध छन् । नेपालका ठूला दलहरू कांग्रेस, एमाले, एमाओवादी, नेकपा–माओवादी, माओवादी(विप्लब समूह) र मधेसबादी दलमा समेत खेलकुदको नेतृत्व गर्न तम्सने र साहस गर्ने खेलकर्मीहरू करातेमै आबद्ध रहनेहरू छन् ।

काठमाडौंमा नेपाली कांग्रेसको १३औँ महाधिवेशन सुरु भएको छ । नेपाली राजनीति विचारमाभन्दा बढी गणितमा अडेको छ । यसमा कुनै विवेकशील व्यक्ति असहमत हुन सायद नसक्ला । यही गणितको चर्चा हुँदा सभापति र महामन्त्रीको विजयको आँकलन सुरु भएको छ । तथापि, आफूलाई बौद्धिक ठान्ने समूहको आँकलन नेपालमा धेरैजसो मिल्ने गरेको छैन, त्यो अलग पाटो हो ।

यसै महाधिवेशनका कांग्रेसको नेतृत्वदायी निकाय केन्द्रीय समितिमा रहन आतुर करातेकर्मीलगायतको एउटा समूह छ । खेलकर्मीको महत्वपूर्ण उपस्थिति रहेको यो महाधिवेशनमा धेरैजसो वर्तमान उपसभापति रामचन्द्र पौडेलका समर्थक मानिन्छन् । नेपालका दोस्रा अन्तर्राष्ट्रिय रेफ्री मीनकृष्ण मर्हजन जनजाति कोटामा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने बताउँछन् । खेलकुदमा लामो समय बिताएका यिनी सम्पूर्ण खेलकर्मी एउटै मोर्चामा रहनुपर्ने आवस्यकता औँल्याउँछन् । नेपालका थुप्रै स्टार खेलाडीको उदयमा मीनकृष्णको भूमिका महत्वपूर्ण मानिन्छ । मीनकृष्णसहितको समूहको मिहिनेतका कारण ललितपुरमा कराते खेल महत्वपूर्ण पाटो बनेर बसेको छ । उनले गत महाधिवेशन प्रतिनिधिमा ललितपुर एक नम्बर क्षेत्रमा सबैभन्दा धेरै मत पाएर विजय हात पारेका थिए ।

त्यसो त करोतकै दावा गुरुङले उम्मेदवारीको घोषणा गरेका छन् । त्यसो त, सरिता प्रसाईं र मोहन राईले पनि उम्मेदवारीको तयारी गरेका छन् । बागलुङका सिंहबहादुर राना र काठमाडौंका राजन केसी रामचन्द्र पौडेलको समूहमा रहेको जनाइन्छ । नेविसंघको बुटवल महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित प्रसाईं त्यो समयदेखि रजनीतिमा सक्रिय रहेकी छन् । त्योभन्दा अघि नै प्रसाईं करातेको राष्ट्रिय च्याम्पियन हुन् । त्यसो त राष्ट्रिय खेलकुद परिषद्को समेत अनुभव बटुलिसकेका मोहन राई नेपाली मार्सल आर्टको पहिलो पुस्ताका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी हुन् ।

दावा आठौँ दक्षिण एसियाली खेलकुदका संयोजक थिए । उनले पनि खुलातर्फ केन्द्रीय सदस्य उम्मेदवारीको घोषणा गरेका छन् । यी मध्ये केही समयअघि नै जनजातिको तर्फबाट उम्मेदवारी घोषणा गरेका महर्जनले सबै खेलकर्मीको साथ रहने विश्वास व्यक्त गरेका छन् । करातेकर्मी बाग्लुङका सिंहबहादुर राना पौडेल पक्षमा मानिन्छन् ।

तेक्वान्दोका प्रदीप जोशी शेरबहादुर देउवा पक्षमा रहेका छन् । खेल प्रशासकहरूको पनि यो अधिवेशनमा थुप्रैको उपस्थिति रहेको छ । हिमालयन शेर्पा क्लबको अध्यक्ष कर्मा छिरिङ शेर्पा पनि केन्द्रीय सदस्यको उम्मेदवार छन् । उनी लामो समयदेखि महामन्त्री प्रकाशमान सिंहको नजिकको व्यक्तिको रूपमा रहँदै आएका थिए । यसैगरी, नेपाली करातेमा प्रतियोगिता अभाव भइरहेको समयमा गणेशमान सिंह मेमोरियल प्रतियोगिता आयोजना गर्न प्रमुख भूमिका निर्वाह गर्ने रामकृष्ण चित्रकार पनि पौडेल समूहमा रहेको जनाइन्छ ।

पछिल्ला पुस्ताका कांग्रेसी नेतृत्वमा खेलकुदका जानकार व्यक्ति मध्येका एक रामकृष्ण ललितपुरको फुटबल गतिविधिमा सक्रिय नाम हो । यी बाहेक फुटबलमा आबद्ध नरेन्द्रविक्रम नेम्बांग देउवा समूहको साथमा रहने सम्भावना प्रबल रहेको छ । उनी विश्व प्रकाश शर्मा निकट मानिन्छन् ।

खेलकर्मीबाहेक खेलकुदमा कांग्रेसी कित्ताको नेतृत्व गर्न तम्सने कांग्रेस खेलकुद विभाग प्रमुख धनराज गुरुङ र नेपाल लोकतान्त्रिक खेलकुद संघका देवेन्द्र शेरचन पनि पौडेल कित्तामा रहेका छन् ।

पछिल्लो समय नेपाली समाजका विभिन्न पाटाका नेतृत्व करातेकर्मीले गरे । ती नेतृत्व अन्यभन्दा फरक र उत्कृष्ट रहे । एनआरएन मकाउको नेतृत्व होस् या बेल्जियममा करातेकर्मीको भूमिका । त्यसो त नेपालमा गएको भूकम्प पछि मानवीय संवेदनाको सवालमा मार्सल आर्टिस्टहरू सबैभन्दा अगाडि देखिए । यसकारण मार्सल आर्टिस्ट जो जहाँ रहे पनि नेतृत्व तहमा रहनुपर्छ भन्ने चाहना आमखेलकर्मीको बढ्दै गएको छ । यसकारण हरेक क्षेत्रमा सम्बन्धित खेलकर्मीको आवश्यकताको ठहर धेरैले गरेका छन् ।

प्रतिक्रिया