भ्रष्टाचार नियन्त्रण सशक्त पारिनु आवश्यक

बैतडी, २० फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय प्रमुख रवीन्द्रप्रसाद शर्माले भ्रष्टाचारविरुद्धको कारबाहीलाई सशक्त ढंगले अघि बढाउने बताएका छन् । बैतडीमा बुधबार सम्पन्न ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचार जानेबुझेको पढेलेखेको व्यक्तिबाटै हुने गरेको छ, उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्न सबैले चनाखो हुनुपर्ने भन्दै समाजलाई सचेत पार्न सचेतनामूलक अभियानमा हामी लागेका छौँ ।’ कार्यक्रममा बोल्दै अधिकांश व्यक्तिले भ्रष्टाचार नियन्त्रणको सुरुवात राजनीतिक क्षेत्रबाटै हुनुपर्नेमा जोड दिएका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सीमा सीमित भएको र भ्रष्टाचार नियन्त्रणमा सरकारी संयन्त्र उदासीन भएको भन्दै भ्रष्टाचार नियन्त्रणमा मुलुकको नीति, न्याय क्षेत्रको निष्पक्षता, सञ्चार क्षेत्रको पहुँचमा सार्वजनिक क्षेत्र आदिजस्ता व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सुदूरपश्चिमका सेती र महाकाली अञ्चलका सबै जिल्लाबाट अख्तियारको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा दर्ता भएका दुई हजार ३८५ उजुरीमध्ये ७८ दशमलव ७४ प्रतिशत अर्थात् एक हजार ८७८ फछ्र्योट गरिएको छ भने ५०७ बाँकी रहेको कार्यक्रममा बताइएको थियो । अदालतमा दर्ता गरिएका मुद्दाअन्तर्गत स्थापनाकालदेखि चालु आवको माघ मसान्तसम्म एक करोड सात लाख छ हजार ८५९ रूपयां २९ पैसा असुल भएको पनि अख्तियारको प्रतिवेदनमा उल्लेख छ । तीन वर्षको अवधिमा महाकाली अञ्चलको बैतडीबाट २८३ उजुरी परेकामा २०७ फछ्र्योट भएका छन् ।

कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र क्षेत्राधिकार विषयमा आयोगको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय दिपायलका शाखा अधिकृत तेजप्रकाश जोशीले बोल्नुभएको थियो भने पत्रकार महासङ्घका अध्यक्ष नरेन्द्र भट्टले टिप्पणी गरे ।

प्रतिक्रिया