ला जोकोन्दा

hang yung agata copy

मुस्कान खसेर
लाभामाथि
लाभासित बगेछ लाभा मुस्कान
मुस्कानमा मुस्कान बिलाएर त्यो
तस्बिर बनेछ वर्तमानको
ला जोकोन्दा !
गिजामा भित्ता झुन्डिएको
गिजामा देश टाँसिएको, भेष टाँसिएको

सायद आफ्नै बर्बादीमा
मुस्कुराएको हुनुपर्छ त्यो
मस्तिष्कमा तुर्लुंगिएको तुर्लुङ जिन्दगी
तुर्लुंग तुम्लेट बोकेर उँट मरुभूमि
घामले खाएको बालुवाको हलुवा
तुर्लुङतुर्लुङ हिँडिरहेछ्न् मान्छेहरू
उनेर करङमा मुटु
ला जोकोन्दा !
तिम्रो मुस्कान टिप्न
म जो हाम्फालेँ लाभामा
म पनि मुस्कान न थिएँ !
लाभाले छोएर भस्म भएँ कि
तेस्सै यौटा रिक्तताले निहुँ खोज्दछ तेस्सै

ला जोकोन्दा !
मुस्कुराएर बसिदिनु सजिलो छ
मुकुन्डो हजार पाउँछन् बजारमा
आकाश हेर, आकाश
पिता त्यो सधैँ मुस्कुराइरहेकै छ बादलविना
धर्ती हेर, धर्ती
आमा तिनी सधैँ अनुहारमा मुस्कान टालेकै छिन्
तर, लाभालाभामा खस्यो रे तिम्रो मुस्कान
जो धुवाँ पनि हुन नपाई शून्य भयो

ला जोकोन्दा !
रङ रहेछ मुस्कान त्यो
रङ रहेछ रङ !
त्यो आँसुमा बगेर छाँगा भएछ
छाँगा लाभालाभामा खसेछ
छङ छङ छङ रङ छाँगा बगेछ गालामा लाभामा

ला जोकोन्दा !
मुस्कान पनि यति राजनीतिक हुन्छ
मलाई थाहै थिएन ।

प्रतिक्रिया