अर्को महिना मलेसियास“ग मैत्रीपूर्ण फुटबल

main copyकाठमाडौं, १२ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को महिना मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । मलेसियन फुटबल संघको अनुरोधमा २ देशबीच १६ चैतमा मलेसियाको क्वालालम्पुरमा मैत्रीपूर्ण खेल तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी गराएका छन् ।

आउने २ वर्ष राष्ट्रिय टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपर्ने भएकाले जतिसक्दो मैत्रीपूर्ण खेलका लागि पहल गरिने तुलाधरले बताए । ‘अब हामीले सन् २०१७ मा साफ च्याम्पियनसिप र २०१९ मा विश्वकप÷एसियन कप छनोट खेल्नुपर्छ । त्यसअघि खेल्नुपर्ने प्रतियोगिता छैन,’ उनले भने, ‘यो भनेको निकै लामो समय हो । राष्ट्रिय टोलीलाई व्यस्त, फिट राख्न र फिफा वरीयतामा सुधार ल्याउन पनि हामी मिलेसम्म मैत्रीपूर्ण खेलका लागि प्रयास गर्नेछौँ ।’

नेपालले मैत्रीपूर्ण खेल तयारीको आन्तरिक खर्च र हवाई टिकट मात्र बेहोर्नेछ । त्यसबाहेक सबै खर्च मलेसियाले गर्ने एन्फाका प्रवक्तासमेत रहेका तुलाधरले बताए । उनका अनुसार मैत्रीपूर्ण खेलको तयारीका लागि एन्फाले अर्को साता खेलाडीलाई प्रशिक्षणमा डाक्नेछ ।

नेपालको राष्ट्रिय टोली र यु–२३ ले पछिल्लो १ महिनामा लगातार २ उपाधि जितेको थियो । नेपाली राष्ट्रिय टोलीले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकपको उपाधि जितेर फर्केको थियो ।

राष्ट्रिय टोलीकै अधिकांश खेलाडी सम्मिलित नेपाली यु–२३ ले ३ फागुनमा भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको हो । सागमा नेपालले स्वर्ण पदक जितेको यो तेस्रोपटक हो । सन् १९८४ र १९९३ दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा नेपाली राष्ट्रिय टोलीले स्वर्ण जितेको थियो । नेपालले यसपटक २३ वर्षमुनिको स्पर्धामा स्वर्ण पदक जितेको हो । २००४ को नवौँ संस्करणपछि सागमा २३ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।

मलेसियाविरुद्ध भने नेपालको नतिजा सन्तोषजनक छैन । अहिलेसम्म ५ भेटमा नेपालले १ खेलमा गोलरहित बराबरी खेलेको छ भने बाँकी खेलमा पराजित भएको छ । सन् १९९५ मा विश्वकप छनोटको पहिलो लेग गोलरहित बराबरी खेलेको नेपालले त्यसयता मलेसियालाई जित्न सकेको छैन । सोही विश्वकप छनोटको दोस्रो लेगमा ४–० को पराजित नेपालले १९९८ को विश्वकप छनोटको पहिलो लेग २–० र दोस्रो लेग ३–० ले गुमाएको थियो । पछिल्लो पटक २००८ मा मलेसियामै भएको मर्डेका कपमा नेपाल ४–० ले पराजित भएको थियो ।

फिफाको पछिल्लो वरीयतामा नेपाल १८८औँ र मलेसिया १७१औँ स्थानमा छन् ।

प्रतिक्रिया