थपिँदै ८० मेगावाट

काठमाडौं, ३ फागुन । नेपाल विद्युत् प्राधिकरण र भारतको एनभिभिएनबीच ८० मेगावाट विद्युत् खरिद गर्ने सम्झौता भएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनबाट आयात गर्ने गरी प्रतियुनिट ३ रुपैयाँ ४४ पैसा भारतीय रुपैयाँ अर्थात् ५ रुपैयाँ ५० पैसामा सो विद्युत् ऊर्जा खरिद गरिने भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले सुख्खा याममा नेपालको विद्युत् उत्पादन अझै घट्ने स्थिति रहे पनि भारतबाट ८० मेगावाट विद्युत् आयात भएसँगै लोडसेडिङको समय घट्ने बताए । उनले लोडसेडिङको समय दैनिक २ घन्टाका दरले घट्ने अनुमान गरिएको बताए ।

नेपालसँग विद्युत् व्यापार गर्न भारतले नियुक्त गरेको नोडल एजेन्सी एनपिटिसीमार्फत विद्युत् आयात गर्ने निर्णय कार्यन्वयन गर्न भारतबाट आएको टोली र विद्युत् प्राधिकरणबीच ३ फागुनमा भएको छलफलपछि सो सहमति भएको हो । ऊर्जासचिव सुमनप्रसाद शर्माको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र निगमका महाप्रबन्धक एके मेगुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हाल १ सय ३२ केभी भोल्टेज स्तरमा चार्ज हुने सो प्रसारण लाइनबाट फेब्रुअरी १६ (फागुन ४) देखि १८ (फागुन ६) भित्र ८० मेगावाटसम्म विद्युत् लिन सुरु गर्ने र जुन महिनाको अन्त्यसम्म सो विद्युत् लिइने सम्झौता पत्रमा उल्लेख गरिएको छ । सो विद्युत् मुजफ्फरपुर डेलिभरी विन्दुमा प्राप्त हुनेछ ।

एनभिभिएनले प्राधिकरणलाई सुरुमा प्रतियुनिट ८ रुपैयाँ ८० पैसामा ८० मेगावाट बिजुलीको प्रस्ताव गरेका कारण भारतबाट थप बिजुली नआउने आशंका बढेको थियो । तर एभिभिएनले दर घटाएर ५ रुपैयाँ ५० पैसा पु¥याएपछि विद्युत् खरिद सम्झौता भएको हो ।

नेपालले भारतबाट विभिन्न विन्दुबाट हाल २ सय ३५ मेगावाट बिजुली आयात गर्दै आएको छ । ८० मेगावाट थपिएपछि भारतबाट आयात हुने बिजुली ३ सय १५ मेगावाट पुग्नेछ ।

प्रतिक्रिया