थिबियालाई खोटाङमा न्यायो स्वागत

thibe copyखोटाङ, २ फागुन । खोटाङ जिल्लामा गायिका जानुका राईद्वारा स्वरबद्घ तथा सांस्कृतिक अभियन्ता कपिल राईद्वारा निर्मित गीति भिडियो ‘थिबिया’को विशेष प्रदर्शनी भएको छ । नेपाली गीत संगीतले अरूको नक्कल गर्दै पाश्चात्य बाटो समाइरहेको बेला यो कार्य उदाहरणीय र प्रशंसनीय भएको दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।

किरात राई सांस्कृतिक कलाकार संघ खोटाङको सहयोगार्थ दिक्तेलस्थित जिल्ला विकास समितिको समीक्षालय हलमा शनिबार ‘थिबिया’को विशेष प्रदर्शनी गरिएको थियो । कलाकार संघको दोस्रो जिल्ला सम्मेलन उद्घाटनसत्र समापनपछि बेलुकीपख प्रदर्शन गरिएको गीति भिडियो ‘थिबिया’ हेर्न दर्शकको बाक्लो भिड लागेको थियो ।

किराती वस्तीहरूमा प्रचलित मिथकअनुसार ‘थिबे चरा’ षड्यन्त्रकारीको जालमा परेर छोरा गुमाउने आमाको एक दुःखान्त कथाको प्रतिरूप हो । उहिलेउहिले कुनै एक वस्तीमा एक सोझी र इमानदार आमा थिइन् । अनेक जालझेलमा परेर उनले ‘थिबे’ नाम गरेका आफ्नो छोरा खोलाको बाढीमा बगाई पठाइन् । जब छोरा बगाई पठाइन्, त्यसपछि बल्ल उनले आफूमाथि भएको जालझेलबारे थाहा पाएर बिलौना गर्छिन् ।

आफ्नो सोझोपनको फाइदा उठाएर आरिसेहरूले छोरालाई खोलामा फाल्न लगाएको थाहा पाएपछि आमा विक्षिप्त बन्छिन् । अन्ततः त्यही बिलौनीमै उनको मृत्यु हुन्छ । मृत्युपछि आत्मा चरा बन्छ र ‘थिबेऊ ! थिबेऊ !!’ भन्दै खोलैखोला आफ्नो छोरा खोज्दै हिँड्छन् । ती महिला नै चराको रूपमा थिबेको आमा थिबिया हुन् ।

पूर्वी पहाडी जिल्लाका किराती वस्तीहरू हुँदै बग्ने खोलाहरूमा जबजब वर्षा याममा बाढी आउँछ, त्यो चरा बाढी पछ्याउँदै तलमाथि गर्दै उडिरहेको देखिन्छ । यही मिथकलाई आधार मानेर मुन्धुमी मूलधारमा आधारित बिल्कुलै फरक तर, ऐतिहासिक किराती सभ्यता तथा मौलिक परम्परामा आधारित किराती मिथकीय गीति भिडियो संग्रहको नाम हो ‘थिबिया’ ।

इतिहास, जीवनशैली र सांस्कृतिक तथा परम्परा मौखिक रूपमा मात्र रहेका किराती राईहरूको लागि थिबिया दस्तावेज भएको किरात राई विश्लेषकहरूको भनाइ छ । आफूमा भएको कलामार्फत आफ्नो समाज, संस्कृति र इतिहासको संरक्षणका लागि थिबिया गीति भिडियो निर्माण गरिएको निर्देशक जनक राईले बताए । ‘थिबिया सिंगो किराती समुदायलाई आफ्नो समाज बुझ्ने सानो तर, महत्वपूर्ण दस्ताबेज हुनेछ ।’ उनले भने, ‘जुन गीति भिडियोले पछिल्लो समय नेपाली सांगीतिक बजारमा निक्कै चर्चा पाएको छ ।’

९ लाखभन्दा बढी खर्च गरेर पहिलोपटक किराती मिथकमा आधारित गीति भिडियो संग्रह ‘थिबिया’ बजारमा ल्याइएको निर्माता कपिलले बताए । खोटाङलगायतका किरात वस्ती तथा थातथलोमा छायांङकन गरिएको भिडियो संग्रहमा ४ वटा किराती इतिहास तथा संस्कृतिमा आधारित मिथकीय गीतहरू समेटिएको छ ।

गीति भिडियो संग्रहमा जनक राई, रोशन राई र भूपेन्द्र राईको निर्देशन रहेको छ । थिबियामा गीतकारहरू वीरेन्द्र राई, भूपाल राई, टीका चाम्लिङ र खुक्सङ खम्बुको शब्द तथा वरिष्ठ गायक तथा संगीतकार जीतेन राई, शान्तिराम राई, सुरेश अधिकारी र मनोज साङसोङको संगीत रहेको छ ।

एल्बम्को म्युजिक भिडियोमा पशुपति राई, सन्ध्या साम्पाङ राई, पवन राई, कोशिस राईलगायत कलाकारहरूले अभिनय गरेका छन् ।

प्रतिक्रिया