कविताहरु

कविता “प्रलय”

uddim copy

उदिम किराती

स्वतन्त्र बग्नु दिनु पर्नेलाई
तिमीले जमाउन खोज्यौ
बायाँ हातहरूमा
स्वतन्त्र उभिन दिनु पर्नेलाई
तिमीले दौडिन बाध्य बनायौ
युध्द मैदानहरूमा
स्वतन्त्र उड्न दिनुपर्नेलाई
तिमीले थुन्न खोज्यौ
पिँजडाहरूमा
स्वतन्त्र बाँच्न दिनुपर्नेलाई
तिमीले मार्न खोज्यौ
गाउँ, बस्तीहरूमा
सहरहरूमा
सडकहरूमा
बेरोजगार मजबुरीहरूमा महँगी, भोगमरीहरूमा
गरीबी, अभावहरूमा

जात, जाती धर्महरूमा
लंैगिक व्यवहारहरूमा
संस्कृति, संस्कारहरूमा
तेस्तै…
कानुनी कानुनहरूमा
सरकारी, गैरसरकारी अफिसहरूमा
राज्यको हर अधिकारहरूमा

तिमीलाई
थाहा छैन रहेछ
समय गतिशील छ
समय,
न तिम्रो वशमा हुन्छ
न मेरो वशमा
यो त आफ्नै गतिमा
कुदिरहनेछ ।

तिमीले
यी समयसँगै
बग्ने नदीहरूलाई
समयसँगै उभिने पहाडहरूलाई
समयसँगै उड्ने
चराहरूलाई

समयसँगै स्वतन्त्र बाँच्ने यी मान्छेहरूलाई
रोक्न खोज्यौ
थुन्न खोज्यौ
मार्न खोज्यौ र
ठूलो गल्ती ग¥यौ

नदीलाई
जमाउन खोज्यौ र
गाउँ, बस्ती डुबायो
पहाडलाई
झुकाउन खोज्यौ र
पहिरो गयो
चरालाई
थुन्नु खोज्यौ र
हराए राष्ट्रिय धूनहरू
मान्छेलाई
मार्न खोज्यौ र
भयो ठुल्ठुला युद्धहरू

तिमीलाई
थाहा छैन रहेछ
समय गतिशील छ
समय,
न तिम्रो वशमा हुन्छ
न मेरो वशमा
यो त आफ्नै गतिमा
कुदिरहने छ ।

देश

चन्द्र गुरुङ

अधबैँसे युवकले
पर्समा चेपिराखेको छ ब्रान्डेड सुरक्षा
मौकामा सदुपयोग गर्नलाई
कन्डमको ठूलो होर्डिङ बोर्डमा लेखिएको छ–
निस्फिक्रीको ग्यारेन्टी
यस्तो, सस्तो र सुलभ साधन होइन देश !

दिमागमा नाफाघाटाको ग्राफ कोर्दै
कुनैभ्रष्ट नेताले आश्वासनको सिग्रेड दानापानी छर्दै
घोषणपत्रको खोस्टोमाथि चारो खुवाउँदै
निर्दोष रहरहरू, र
गरिब आँसुमाथि मोजमस्ती गर्ने सपना जस्तै पालेको
खसीमार्केट होइन देश ।

बिहेभोज वा पार्टीतिर
भोजनपछि बाँडिने सुगन्धित पान होइन देश
शानले मुखमा हाल्यो
कुटुरकुटुर सुपारी टोक्दैटोक्दै टाइमपास ग¥यो
चपाएर स्वाद जति सिध्याइसकेपछि
जथाभावी थुक्न मिल्ने ।
दुई तिघ्राको कापमा
सल्केको लुतो वा खटिरा होइन देश, महाशय
मनलाग्यो लुकीलुकी,
एकान्ततिर चुपचापचुपचाप कन्यायो ख्वार्र ख्वार्र
र, भरपूर आनन्द लियो ।

देश
तिम्रो दिमागमा चल्ने नयाँ नयाँ दाउ होइन
जितको लागि लड्न र लडाउन मिल्ने
धोखापूर्ण खेलमा
गोटीलाई कहिले अगाडि त
कहिले पछाडि सार्न सकिने ।

खल्तीमा सजाइराखेको
या डायरीमा चेपिराखेको गुलाब होइन देश
गुपचुप र अवैध भेटघाटहरूमा
कुनै मइऽऽयालाई उपहार दिन, वा
आफ्नै हातले केशराशिमा सिउरिदिन मिल्ने ।

तिम्रो भेँडा जस्तो नाक होइन देश
यहाँवहाँ, जहाँ मर्जी
तिम्रो बोलीवचन जस्तै अशभ्य
तिम्रा कर्तुतहरू जस्तै घिनलाग्दो र अपच्य स्टाइलमा
चलखेलको चोर औँलाले कोट्याई राख्ने ।

देश–
जाँदाजाँदै जुन माटोमा एक गहिरो चुम्बन रोपेर गएको थियौ
फर्किंदा त्यही माटोको स्पर्शको सुखानुभूति हो
देश– नसानसामा बग्ने अनुभूति
टाढिनुपर्दा मनमा उठ्ने पीडाको ज्वारभाटा
अँगालोमा बाधिँदाको आनन्द, र
हृदयको कुनाकुनामा चलमलाउने आत्मीय लहर हो ।

देश–
साथी–सँगी हो
भाइ–बन्धु हो
हो हाम्रो आमा ।

प्रतिक्रिया