तर म म नै हुँ
–हेमा आले “बोगी”
अलिअलि कुरा बुझ्नथाल्दा नै
मेरी मोईले दिएकी हुन्
मलाई यी हातका रैंया र घलेक ।
हर अप्ठेराहरूमा पौंठेजोरी गर्न सक्षम
यी पाखुरा र नाडीहरू !
अनी मेरी मोईको न्यानो मखमलीमाया !
जस्तै आँधिबेहरीलाई पनि
सहजै छेकिदिन्छ मेरो घलेक !
जीवनका उकाली–ओरालीहरूमा
आत्मबल धर्मराउँदा
दह्रो पाइला टेक्न सघाउँछ
मेरो पटुकी !
मेरा बोईका
धेरै धेरै आशिषहरू जडिएका छन्
मेरो शिरपूmलमा ।
गलाको नौगेडी र जन्तरमा
मबुकी ब्युटी देखिन सक्छु !
टलक्कै टल्किने मेरो फुलीमै
कसैको दिल बसेछ भने
मेरो भन्नु केही छैन !
जम्मामा मिलाएर
तपाईं मलाई के देख्नुहुन्छ कुन्नि?
तर म, म नै हुँ !
म माने मगर्नी
या
म माने महिला
तर म, म नै हुँ ।
–नवलपरासी
[email protected]
गाई र हँसिया हथौडा
–सांकेन बान्तावा
एक समय थुप्रै थिए
तातो आरनमा अर्जापिएका
हँसिया हथौंडा
जसले काँडाहरू काटेर
फूलैफूल उमार्छौं भन्थे
झोँडघारी फाडेर
गाउँबस्ती सिँगार्छौ भन्थे
जड ऐतिहासिक चट्टान फोडेर
आधुनिक घरको जग हाल्छौँ भन्थे ।
तर हिजो आज हथौडा
गाई गोठ बनाउनमै व्यस्त छ
हँसिया पनि
हरियो घाँस काट्न मै व्यस्त भो
र काँडाहरू बग्रेल्ती पलाएका छन्
झाडीहरू मौलाएका छन्
फेरि चाहिएको छ नयाँ हँसिया हथौडा
जसले काँडा मात्र काटोस्
झाडी मात्र फाडोस्
ऐतिहासिक चट्टान फोडेर
साँच्चै नयाँ घरहरूको निर्माण गरोस्
तर अब हँसिया हथौडा अर्जाप्ने कहाँ ?
हँसिया घाँसमा अल्झेको छ
घाँस गाईको मुखमा
गाई गोठमा सुरक्षित छ
जहाँ अहिले गोठ छ
त्यहाँ पहिले आरन थियो ।
“घाट चाहियो”
– मिरा आचार्य
भोलिहरूमा
एउटा मृत वासी समाचार
अखबारहरूमा छापिन्छ
तब,
मैले तिम्रा सहयोगी कर्तुतहरूलाई
दागबत्ती दिनै पर्छ
हो म त्यसैको तयारीमा छु
मलाई एउटा
सुन्दर घाट चाहिएको छ
जहाँ बद्नामीका कत्लाहरू
प्रशोधित धुँवा फालेर
मेरा सामुन्ने जल्न सकुन्
म त्यो धुँवा पिएर
यस पृथ्वीमा
हो यस पृथ्वीमा
मेरो पूरा उमेर ढुक्कले बाँच्न सकु
जब तिम्रा शृंगारिक शब्दहरू
निर्धारित मृत्युवरण गरेर
यमराजको कठघरा
अन्तर्वार्ता दिन तयार हुन्छन्
तब, हिजोको खबरहरू
अखबारका नयाँ पेजहरूमा
फेरी नजन्मने प्रण गर्छन्
मलाई केबल
यसैका लागि
एउटा सुन्दर घाट चाहिएको छ
“रमाउँछु म”
–रोजी लाबुङ राई
रमाइरहन्छु सधँै म मेरो निःस्वार्थ भावनामा
हराइरहन्छु हरपल म मेरो आफ्नै सिर्जनामा
चाहान्नँ म अरूको अभिव्यक्ती नक्कल गर्न
मान्दैन मेरो मनले कसैको सिर्जना हुबहु सार्न
सक्दिनँ कहिल्यै विनागल्ती आरोप प्रति आरोप खप्न
समय छैन मसँग अनावश्यक त्यस्ता कुरा पनि सुन्न
स्वतन्त्र छु सधँै म हमेशा चाहन्नँ बस्न पिँजडामा
सफल सक्षम छु हरदम आफ्नै कर्तव्य अनि कार्यमा
खेल्नु छैन कसैसँग मलाई हार र जितको बाजी
गर्नु छैन मलाई कसैसँग नक्कल अनि देखासेखी
झार्नु छैन मलाई कहिल्यै आफ्नै नजर आपैmँदेखि
गिराउन चाहन्नँ आफूलाई आफ्नो नैतिकतादेखि
झुकाउन चाहन्नँ म मेरो स्वाभिमान कसैको करकापदेखि
आफ्नै व्यवहारमा भरपुर छु म त्यसैमा मिल्छ सारा खुसी
आत्मसन्तुष्टी छु त्यही हो मेरो सबै लक्ष्य अनि प्राप्ती
कोही खेलवाड नगरोस् सिर्जनामा त्यस मै हुन्छ जाती
बुधबारे–५ झापा नेपाल (हाल, बेलायत)
प्रतिक्रिया