लघुकथा

Nadeesh copy

गाउँमा माटोको हाहाकार छ । दिन प्रतिदिन रित्तिँदै गइरहेछ माटो । रहस्यमय छ– कसले चोरिरहेछ माटो ? कहाँ पु¥याइँदै छ माटो ?

गाउँमा कालो आतंक व्याप्त छ । चारैतिर कालै कालो नजर आइरहेछ । यो कालो आतंकसँग कुनै विनाशकारी प्रलयको सम्बन्ध छ, गाउँलेहरू तयार छन् ।

उनी हुन मुखिया । केही समयअघि कालो अबिरद्वारा स्वागत गरिएथे उनी गाउँलेहरूबाटै र कालै नैतिकताको हिसाबले सम्हाल्न आएछन् मुखिया पद । भनिन्छ, कालो रङसँग उनको गहिरो सम्बन्ध छ । त्यसैले होला उनी आजकाल जहाँजहाँ जान्छन् कालो कपडा फर्फराउँछन् गाउँलेहरू, कालै दोसल्लाले स्वागत गरिन्छ उनलाई । प्रफुल्लित मुद्रामा उनी कालो कपडाको गुणगान गाउँछन्, गुनासो पोखिरहन्छन् ‘मेरो लागि यति काफी भएन’ र हरेक साँझ एकछिन घोप्टो परेर भक्कानिँदै रुन्छन अरे आफ्नो खोपीमा । खै किन रुन्छन उनी ?

गाउँमा माटोको हाहाकार छ । दिन प्रतिदिन रित्तिँदै गइरहेछ माटो । रहस्यमय छ– कसले चोरिरहेछ माटो ? कहाँ पु¥याइँदै छ माटो ?

कालो आतंकसँग जुधिरहेछन् मुखिया बा । जुध्न बाध्य छन् मुखिया बा । त्यसोभए, यीसँग हरेक समस्याको निराकरण छ । गाउँलेहरू हुल बाँधेर मुखिया बाकोमा निवेदन दिन जान्छन् ‘हामीलाई हाम्रो माटो फिर्ता देऊ ।’ कोमल हृदयका धनी मुखिया बाका आँखामा आँशुका थोपाहरू टिल्पिलाउँछन् । आँशुका थोपाहरूमा कालै रंगिदिन्छ उनको सिंहासन । ‘म तपाईंहरूको माटोको मूल्य चुक्ता गरेरै छाड्नेछु, सारा गाउँलेको कसम ।’

‘मुखिया बाको जय होस ।’

‘कसले चोरिरहेछ हाम्रो माटो यो मध्य रातमा ?’ गाउँलेहरू आश्चर्यचकित हुन्छन् जब उनीहरू आफ्नै मुखियाले माटो कुम्ल्याइरहेको देख्छन् ।

कोही भन्दै थियो ‘कुरो त्यसो होइन अरे । मुखिया बा अल्मलिएछन् । माटै माटोको रासभित्र आफ्नो माटो चिन्न सकेनछन् उनले । त्यसैले नमुनाका लागि केही माटो संकलन गरेर बाहिर लादैछन रे !’

‘यो मध्यरातमा किन ?’

‘आफ्नै माटो चिन्न नसकेकोमा ठूलो पश्चाताप छ रे उनलाई, त्यसैले आफ्नो मीठो निद्रा त्यागेर सुटुक्क आएका अरे’

‘मुखिया बाले माटो फिर्ता गरेरै छाड्लान् त ?’

‘मुखिया बाले माटोको मूल्य चुक्ता गरेरै छाड्छन अरे ।’

‘मुखिया बाले माटोको मूल्य चुक्ता गरेरै छाडेछन् ।’ नवनिर्मित आयातित कालो आलिशान महलतिर इंकित गर्दै कसैले भन्यो ।

गाउँमा माटोको हाहाकार छ । दिन प्रतिदिन रित्तिँदै गइरहेछ माटो । अब छर्लंग छ, कसले चोरिरहेछ माटो ? कहाँ पु¥याइँदै छ माटो ?

प्रतिक्रिया