तालिकाअनुसार मात्र विद्युत् कटौती गर : अख्तियार

काठमाडौं, १३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल विद्युत् प्राधिकरणलाई समय तालिका अनुसार मात्र विद्युत् कटौती गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार लोडसेडिङ तालिकाभन्दा छिटो विद्युत् कटौती गर्ने र ढिलोगरी आउने गरेको उजुरी बढेपछि आयोगले प्राधिकरणका पदाधिकारीलाई बोलाएर यस्तो निर्देशन दिएको हो ।

‘जनतालाई झुक्काएर विद्युत् कटौती गर्न पाइँदैन, लोडसेडिङ तालिका अनुसार नै विद्युत् कटौती गर’, पुष्करले भने, ‘प्रत्येक समयमा १५ देखि २० मिनेट अघोषित विद्युत् कटौती गरेर सातामा तालिकाभन्दा १४ घन्टाभन्दा बढी लोडसेडिङ गर्न पाइँदैन ।’ पछिल्लो समय अस्पतालको अप्ररेसन थिएटरदेखि इमर्जेन्सी सेवामा समेत विद्युत् प्राधिकरणको लापरबाही गरेकाले जनताले सास्ती भोग्नुपरेको गुनासो आएपछि कडा कदम चाल्नुपरेको पुष्कर बताउँछन् ।

आयोगले बुधबार ऊर्जासचिव, प्राधिकरण प्रमुख र विभिन्न विभागका प्रमुखलाई एकैसाथ बोलाएर यस्तो निर्देशन दिएको हो । जवाफमा प्राधिकरण प्रमुखले भारतबाट आयात गरिने ९० मेगावाट विद्युत् खरिदमा ढिलाइ हुँदा यस्तो भएको जवाफ अख्तियारलाई दिएका थिए ।

त्यस्तै विशेष फिडरमार्फत एनजिओ, व्यवसायी र केही उच्च घरानलाई बत्ती दिएको विषयमासमेत अख्तियारले प्रश्न गरेको पुष्करले बताए । तत्काल यस्तो कार्य बन्द नभए आफूहरू कारबाहीको प्रक्रिया अगाडि बढाउन बाध्य हुने अख्तियारले चेतावनी दिएको छ ।

त्यस्तै आयोगले अहिले प्राधिकरणको २५ देखि ३० प्रतिशतसम्म रहेको चुहावट पनि १५ प्रतिशतमा झार्न निर्देशन दिएको छ । जनतालाई जति एम्पाएर क्षमता भनेर मिटरबक्स दिएको हो सोही बमोजिमको भोल्ट दिन पनि प्राधिकरण र ऊर्जा सचिवलाई निर्देशन भएको छ ।
त्यस्तै आयोगले ट्रान्सफर्मर जलेको समयमा कर्मचारीको लापरबाही रहेको विषयमा विस्तृत अध्ययन गरी कारबाही प्रक्रिया अगाडि बढाउने पुष्करले बताए ।

त्यस्तै उपत्यकाको विभिन्न ठाउँमा नो लाइटमा फोन नउठाउने र गुनासोसमेत नसुनेको उजुरी आएकाले तत्काल कारबाही गर्न प्राधिकरणलाई निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया