जनताको समस्याप्रति प्रदेश सरकार संवेदनशील छ –मुख्यमन्त्री यादव

राजविराज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अग्निपीडितहरूका लागि मधेस प्रदेश सरकारले घर निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
गत मंगलबार भएको भीषण आगलागीले समस्यामा परेका सप्तरीको महदेवा गाउँपालिकास्थित चिम्टीका अग्निपीडितहरूको अवस्थाबारे जानकारी लिनका लागि पुगेका मुख्यमन्त्री यादवले यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रदेश सरकार जनताको समस्याप्रति संवेदनशील रहेको भन्दै उनीहरूको पीडा र समस्याप्रति सदैवसाथ रहने प्रतिबद्धता व्यक्त गरे ।

१–२ दिनभित्रै आवश्यक निर्णय लिएर अग्नीपीडितहरूका लागि प्रदेश सरकारले घर निर्माणको सुरुआत गर्ने मुख्यमन्त्री यादवले उद्घोष गरे ।

‘प्रदेश सरकार जनताको साथमा छ’, मुख्यमन्त्री यादवले भने, अन्य समस्या छन् भने पनि सरकार त्यसबाट पछि हट्ने छैन ।’

उक्त अवसरमा मधेस प्रदेश सरकारका वन तथा पर्यटनमन्त्री भरत प्रसाद साह, पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह, मधेस प्रदेशसभा सदस्य मनिष सुमन, किरण साह, प्रजिअ किरण थापा, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, स्थानीय जनप्रतिनिधि लगायतका विभिन्न पार्टीका नेताहरूको उपस्थित रहेको जसपा सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिए ।

प्रतिक्रिया