खेलकुदमा विद्यालय

feature (4)सामाखोसी इंग्लिस बोर्डिङ स्कुल (सेब) स्कुल नेपाली खेलकुदमा परिचित नाम हो । गतवर्षसम्म यसै सेब स्कुलले गर्ने सेब भलिबल प्रतियोगिता विद्यालय तहमा चर्चित थियो । यसवर्ष त्यसै विद्यालयले जुनियर तहको बास्केटबल प्रतियोगिताको आयोजना ग¥यो ।

विद्यालय तहदेखि नै खेलकुदको विकास हुनुपर्छ भन्ने मान्यता राख्ने विद्यालयका प्रिन्सीपल युवराज थापाले भलिबलमा स्थानको समस्या तथा सहभागी टोलीको पर्याप्त संख्याको अभावमा यसपटक बास्केटबल प्रतियोगिताको आयोजना गरेको बताए । सेबले आयोजना गरेको भलिबलमा आयोजक टोली एकपटक पहिलो भएको थियो भने धेरैपटक दोस्रो या तेस्रो भएको थियो ।

चेस, बास्केटबल, भलिबल टेबलटेनिस र ब्याडमिन्टनलाई प्राथमिकता दिएको सेबले वर्षभरि हुने गरेका बास्केटबल प्रतियोगितामा सहभागिता जनाउने गरेको छ । थुप्रै उपाधि जितेको सेबले यो वर्ष आफैँले आयोजना गरेको प्रतियोगितामा उपविजयी भएको हो । खेलकुदको विकास र विद्यार्थीको आत्मबल र सामाजिक जिम्मेवारी बहनको सोचको विकास गर्नसमेत खेलकुदले ठूलो सहयोग गरेको उनको अनुभव छ ।

खेलकुदलाई प्राथमिकता दिने क्रममा विद्यालयले केही नाम चलेका प्रशिक्षकलाई जिम्मेवारी सुम्पने गरेको छ । बास्केटबल टोली रबि श्रेष्ठले हेरिरहेका छन् भने भलिबलमा ईश्वर घमाला, प्रेम शाही र प्रज्वल मल्लले टोलीले हेरिरहेका छन् । चेसमा नेपालका नाम चलेका खेलाडी उत्तम थापा विगतमा प्रशिक्षक थिए । सेबको यो लगाव र खेलप्रतिको मोहले काठमाडौंको उत्तरी भेगका अन्य विद्यालयलाई पनि खेलकुदमा केही गर्ने हौसला जागेको छ ।

यो त भयो सेबको कुरा काठमाडौंको उत्तरी भेगमा प्राय जसो खेलकुदका गतिविधि भई नै रहने गर्छन् । यो क्षेत्र बास्केटबलमा ने बढी सक्रिय छ । पछिल्लो समय नेपाली बास्केटबललाई धान्ने र थेग्ने काम शिक्षण संस्थाले नै गरेको छ ।

बास्केटबलबाहेक भलिबलको हकमा कुरा गर्ने हो भने पुरानो नैकापमा रहेको न्यु डाइमन्ड एकडेमी नेपाली महिला भलिबलको महत्वपूर्ण शक्ति मानिन्छ । आसन्न साग खेलकुदमा समेत न्यु डाइमन्डका उत्पादनको राष्ट्रिय टोलीमा राम्रो उपस्थिति रहेको छ । यसै विद्यालयमा अध्ययनरत प्रतिभा माली हाल नेपाली भलिबलमै नाम परिचित खेलाडी हुन् ।

नेपाली चेसमा अन्नपूर्ण स्कुलका छात्रहरू विद्यालय तहमा नै उत्कृष्ट मानिन्छन् । विजय डंगोल त्यस विद्यालयमा अध्ययन गरिरहेकै समयमा नेपालका नाम चलेका खेलाडी थिए । त्यसो त नेपालमा शीर्ष चेस खेलाडी रूपेस जयसवाल दीपज्योती स्कुलमा अध्ययन गरिरहँदा नेपालका स्तरीय खेलाडीको कोटीमा रहेका थिए । यो श्रृंखलामा अन्य थुप्रै नाम छन् । तारा घले दीपजयोतीमै अध्ययन गरिरहँदा नै च्याम्पियन बनेकी थिइन् । चेसकै सवालमा हाल उत्कृष्ट खेलाडीको रूपमा हिमाल लामा र विवेक लामा माहँकाल माविमा अध्ययन गरिरहँदा नेपालका राम्रा खेलाडीको रूपमा चिनिन्थे । सुरुची लामा त्यसै विद्यालयमा अध्ययन गरिहँदा नेपालकी पहिलो क्यान्डीडेट मास्टर रहेकी थिइन् ।

खेलकुदमा नाम चलेको अर्को विद्यालय एलआरआई कुनै समय पौडीमा अब्बल मानिन्थो । विविधा रिमाल र प्रसिद्धजंग शाह त्यस विद्यालयमा अध्ययन गरिरहँदा नै नेपालका स्टार खेलाडी बनेका थिए । उक्त विद्यालय करातेमा पनि अब्बल थियो । बालाजुको सिद्धार्थ बनस्थली इन्स्टिच्युट नेपाली करातेमा उत्कृष्ट मानिन्छ । यो विद्यलायले बालाजु कराते एकेडेमीका थुप्रै खेलाडीलाई छात्रवृत्ती दिने गरेका कारणले पनि विद्यालय तहमा उत्कृष्ट भएको हो ।

ललितपुरको लिटल एन्जल्स स्कुल अहिले पनि पौडी खेलाडी उत्पादन गर्ने विद्यालयको रूपमा रहेको छ । यसै विद्यालयमा कुनै समय छात्रवृत्तीमा अध्ययन गरेकी गंगा चौधरी हाल नेपालकी स्टार जुडो खेलाडीको रूपमा रहेकी छिन् । कुनै समय नेपाली बास्केटबल, तेक्वान्दो र पौडीमा अब्बल बाबा बोर्डिङ स्कुल पछिल्लो समयमा पौडीमा मात्र केही प्रभाव छाड्न सफल भएको छ ।

यो श्रृृंखलामा लामो सूची हुन सक्छ । तर, यी केही उदाहरण हुन् । जे होस् नेपालका केही विद्यालयको खेलकुदमा रहेको योगदान प्रशंसनीय नै छ ।

प्रतिक्रिया