कथा : ईश्वरको रगत

मिलनको हातमा चियाको कप थमाइदिएपछि चुरोट सल्काई मोहिनीले । तानी लामो सर्को र धूवाँ छोडेर पोखी अमूर्त बिस्मत– ‘अझै बिहे गरेको छैन भन्नुहुन्छ, भनेपछि अब कहिले त … ?’
यो प्रश्नले अनिश्चितताको खल्लो एवम् गाढा भाव तैरियो मिलनको मुहारमा । चियाको कप अघिल्तिरको टेबलमा राखेर विषाद् आवाज निकाल्यो उसले– ‘खै अब त …!’
‘मतलब ?’
‘किन गर्नुप-यो बिहेसिहे !’
‘किन … ?’ चुरोटको धूवाँ हठात् फुकेर फरक्कै फर्किई मिलनतिर– ‘जिन्दगी लामो छ त, चलाउनु परेन ? कि मर्ने विचार छ यत्तिकै ?’
आवेशमा आएकी थिई ऊ, किन हो तत्कालै मधुर भई र शिर नत गर्न पुगी । मानौँ छिटाछिटा परिरहेको पानीले अचानक झरीको रुप धारण गरेथ्यो, जुन पुनः निमेषमै सिमसिमेमा रुपान्तरण भयो ।
‘मलाई अन्यथा बुझ्नुभो सायद, मैले त केवल यति भन्न खोजेको हुँ कि जीवनको बाटो साँच्चै लामो छ र अप्ठ्यारो पनि, जहाँ हिँड्न एक्लै …।’
‘तर नटुङ्गिने बाटोजस्तो लामो कहाँ हुन्छ र जीवन, यो हिँड्दाहिँड्दै अचानक कहीँ टुङ्गिन सक्छ ।’
अवाक् भई ऊ । चिया पिउन थाल्यो मिलन । स्थिर बन्दै गएको वातावरणबीच सृजित अनौठो, रहस्यमय अनि गम्भीर परिवेशको तप्त किनारमा उपस्थित दुइटै हृदयमा असीम तुफान पैदा भएको थियो अहिले । मानौँ बलिरहेको अग्निछेउ छन् दुवै र जलाइरहेछ दुवैलाई ह्वारह्वार्ती त्यही अग्निरापले ।
‘ए साँच्ची, चुरोट पिउनुहुन्थ्यो कि ?’
‘अहँ ! मलाई धूम्रपान र मद्यपानको आदत छैन ।’
खोइ के सम्झिई उसले, झट्टै निभाई हातको चुरोट र भनी– ‘मै पनि पहिले कहाँ पिउँथेँ र ?’ हु-याई ठुटो झ्यालबाहिर । ‘पछि पो लत बस्यो, तर छोड्छु पिउन अब, यसकै कारणले होला, खोक्दा आजकल असह्य गरी दुख्छ छाती …।’
फिस्स हाँस्यो ऊ– ‘साँच्ची खै त छोरी ?’
‘ऊ त मावलमै छे, पढ्दै छे त्यतै ।’
‘विराटनगरमा ?’
‘हजुर !’
सामुन्नेको दराजको ऐनाअगाडि उभिन पुगी ऊ । समेटेर बाँध्न लागी काँधभरि फिँजारिएको कपाल । यस बेला पो निहा¥यो मिलनले शिरदेखि पाउसम्म उनलाई । कान्तिहीन मुहारको जीर्ण फाँटभरि अगाध पीडाको रङ पोतिएको थियो । पहिरोले ताछेको कुनै ढुंगेनी पहाडझैं लाग्ने उनको दुवै आँखाका खोल्सीबाट ओरालिएको आँसुको धुमिल गोहो ओठको दोभानमा पुगेर त्यतै बिलाएको प्रष्टिन्थ्यो । बिघ्नै दुब्लाएकी ती नारीलाई पढ्दा लाग्थ्यो ऊ कुनै महाविपत्तिमा अदृश्य पिल्सिएर बलजफ्ती श्वास लिइरहेकी छ ।
जो हेरिरहन नसकेर हुत्यायो नजर उसले भित्ताको फोटोमा । अहो ! झस्कियो एक्कासि ऊ त यतिबेला पो– ‘एहे ! उहाँ नै हो … तिम्रो …?’
‘हो’ – को संकेतमा मुन्टो हल्लाई मोहिनीले ।
‘…अहिले कहाँ त ?’
‘घर त बुटवल हो, अहिले चैँ मलेसिया हुनुहुन्छ । दुई वर्ष भयो जानुभ’को ।’
फेरि सल्काई चुरोट । तानी धूवाँ सट्सटी र पोखी भावुकता ।
‘बगरको मुढा रहेछ जीवन, समयको भेलले जता लछा¥यो उतै लछारिनुपर्ने ।’ त्यसपछि स्वर दबाएर नबुझिने गरी कुन्नि के–के बोली ऊ, जुन बाँकी वाक्यांश त सुनेन मिलनले, तर पलकभरि जमेको आँसु देखेर लख चाहिँ काट्यो वियोगको अदृश्य आगोमा पुनः जल्न थाली मोहिनी ।
‘अहो ! चार पो बजिसकेछ, म जान्छु ल अब ।’
जुरुक्क उठेको मात्र के थियो ऊ अनायस मुल्कोको छालजस्तो हुत्तिएर सम्मुख आइपुगी मोहिनी । रोऊँ कि हाँसूँको द्वैध भावमा झुकाई शिर । लाग्थ्यो, ऊ केही गम्भीर कुरा भन्न खोजिरहेकी छ, ओकल्न चाहिरहेकी छ हृदय पोल्ने विष । तर, कठिन भइरहेछ उनलाई । साँँच्चै सकिन पनि । केवल यति भनी– ‘चाँडै बिहे गर्नोस् ल !’

०००

‘आप्पा, कहाँ राखौँ यो हिलो ?’
‘त्यहीँ राख, काठको तख्तामा ।’
‘म पनि ढुङ्गा बोक्छु नि है आप्पा ?’
‘हुँदैन जेठा, तिमीले नसक्ने काम हो त्यो ।’ बाबुले अनुमति नदिएपछि ऊ ढुङ्गा नबोकेर कलिलो हातमा अट्नेजति मुछेको हिलो ओसाथ्र्यो प्रायः र बस्थ्यो टुक्रुक्क बाबुकै छेउमा ।
बाबु गाउँभरिकै कुशल डकर्मी । हरेकको घर बनाउने जिम्मा मिल्थ्यो उहाँलाई । गारो लाउन, ढुङ्गा फोर्न, माटो मुछ्न र काठका कलात्मक झ्यालढोकाहरु बनाउन निपुण थिए बाबु । काममा जाँदा उहाँको दौराको फेर समातेर पछ्याउन कहिल्यै छोडेन मिलनले । कहिले सक्ने काम सघाउँथ्यो ऊ बाबुलाई त कहिले आफैसँग गुन्गुनाउँदै खेल्थ्यो । उसलाई हेरेर मनमनै रङ्गिन सपना कोर्दथे बाबु । गर्व र स्नेहले पुलकित बन्थ्यो छाती । थकाइ र पीरहरु उसै अल्पिएको आभास हुन्थ्यो । कहिलेकाहीँ बिसाएर सुर्ती बेर्दै भन्नु हुन्थ्यो उहाँ– ‘छोरा, साह्रै गाह्रो छ यो गारो लगाउने काम, मैले तिमीलाई यस्तै काम गरेर पढाउँदै छु, तिमीले चाहिँ पढेर पछि अरु नै असल काम सिक्नू है ! सजिलो खाले । मेरो सपना छ, तिमी राम्रो मान्छे बन्नू ।’
सुनेर हाँस्थ्यो ऊ । त्यस बेला बाबु हाँस्नुहुन्थ्यो या रुनुहुन्थ्यो, सम्झना छैन उसलाई । अफसोच ! यति बेला रोइरहेछ ऊ अँध्यारोको फेर समातेर, नेपथ्यको सहारा लिएर । धिक्कारिरहेछ आफैलाई– ‘मलाई माफ गर्नोस् आप्पा ! आफ्नै जिन्दगीको ढिल भत्किएपछि सकिनँ सम्याउन मैले तपाईंको सपनाको टार ।’
हे¥यो उसले, कोठाको भित्तामा उनै स्वर्गीय बाबु–आमाको पुरानो फोटो । सँगै थिए माक्र्स, माओ, गोर्की, भूपि र नारायणगोपालका पुरानिँदै गएका फोटोहरु पनि ।

०००

जति भुल्न चाह्यो उति सल्बलाउँछ मथिंगलभरि विगत । सायद त्यसैले केही दिनदेखि ऊ तनावमा छ । घरीघरी कायर बन्छ मन– ‘फर्किन्छु गाउँ, जोत्छु बारी, छर्छु मकै, बस्दिनँ अब यो सहरमा ।’
कहिले विगत, वर्तमान र अनिश्चित भविष्य सोचेर आतंकित बन्छ ऊ त कहिले भएभरको साहस बटुलेर संकल्प गर्छ– ‘हैन, केही गर्नुपर्छ मैले, यही सहरमै बसेर ।’
मोहिनीसँगको पछिल्लो भेटपछि किन हो उसले आफूलाई जीवनको अन्तिम किनारछेउको दहमा आधा डुबेर आधा उत्रेको महसुस गरिरह्यो ।

०००

झुलुक्क बल्छ र पलभरमै निभ्छ काठमाडौँ । गाँज्छ अँधेरीले अभावग्रस्त सहरलाई । लोडसेडिङले छ्यापेको रातलाई मैनबत्तीको धिमा उज्यालोले चिर्ने प्रयासमा पल्टाउँछ मिलन जीवनका विक्षिप्त पत्रहरु । बाँच्नुका छिद्र पृष्ठहरुमा पाउँछ उसले आफूलाई दोस्रो विशाल मुलुकद्वारा अतिक्रमित कुनै अनाम भूमिबाट बेखबर लखेटिएको बेसहारा शरणार्थीको रुपमा । यति बेला हृदयमा यसरी सुसाउँछ पीडाको सुनामी, जसरी सुसाउँछ चैतको आँधीमा तमासले गाउँको बाँसघारी ।
‘को हुँ म ?’
‘हँ ! म को हुँ ?’
‘कवि ?’
‘समाजसेवी ?’
‘कलाकार या दार्शनिक ?’
‘कि नेता हुँ म ? देशको भविष्य निर्माण गर्ने राष्ट्रनायक ?’
‘अहँ, कोही पनि होइन म, केही होइन । हुँ म केवल एक अयोग्य पूर्वलडाकु, अपाङ्ग, आफ्नै जीवनको पहरा गर्न नसक्ने एउटा नामर्द मानिस, आदर्श बाबु–आमाको नालायक पुत्र, यस लोकको सबैभन्दा असफल पात्र । बस, यत्ति हुँ म !’ चित्त बुझाउँदै उसले ‘फू’ गरेर निभाइदियो थर्मसको बिर्कोमाथि लर्खराइरहेको आफैजस्तो मैनबत्ती ।

०००

बिहानैदेखि चिसो छ राजधानी । रातको झरीले नजिकका थुम्काहरुमा हिउँ पोखाएर हिँडेछ । तिनै हिउँबाट थुरिएर आएको चिसोमा थरर काम्दै सिरकभित्र गुम्सिएर पढिरहेथ्यो मिलन भी.एस. नयपलकृत उपन्यास– ‘हाफ ए लाइफ’ । स्वतन्त्र भइसकेपछिको भारतबाट इङ्गल्यान्ड हुँदै अफ्रिकामा अन्त्य भएको उपन्यासको पात्र बिलिचन्द्रनको नीरस जीवनकथामा पौडिरहेको थियो ऊ । आफ्नै बाबुबाट तिरस्कृत भएपछि न यता न उताको आधा जीवन बाँच्न विवश बिलीको ठाउँमा उभ्याउँदै थियो उसले आफूलाई र बिली भएरै गर्दै थियो कल्पनामा अफ्रिकी मूलकी प्रेमिका आनासित नीरस संवाद ।
‘आना, म तिम्रो पट्यारलाग्दो जीवन बाँचेर थाकिसकेँ, मेरा हातपाउ र मस्तिष्क निस्क्रिय हुँदै गइरहेका छन्, टुट्दै जाँदैछ हृदय, अब उसो … ।’ यसै बेला कसैले ढक्ढक्यायो ढोका । थरङ्गै भयो ऊ । बोल्यो सम्हालिएर– ‘पस्नोस्, खुल्लै छ ।’
घ¥याक्क खुल्यो ढोका । ठिङ्गै उभिई एउटी अद्र्धमूच्र्छित नारी प्रतिमा । छक्कै प¥यो मिलन । झन्डै निस्क्यो मुखबाट– ‘आना !’ यद्यपि त्यहाँ आना नभएर मोहिनी थिई । भयभीत आँखाको निलाम्मे दहमा आँसुको पुल्ठो बालेर उभिएकी मोहिनी । सचेत भयो ऊ ।
‘ए, तिमी पो ! तर कसरी यहाँ …? बस न ।’
अचम्म छ, किन यो हालतमा ऊ यहाँ ? कसरी पत्ता लगाई उसले मेरो कोठा ? मनमनै उठेको प्रश्न प्रकट भयो बाहिरै ।
‘होटल्नी दिदीले देखाइदिइन् तपाईंको यो कोठा ।’
‘होटल्नी भन्नाले …?’
‘जहाँ तपाईं खाना खानुहुन्छ ।’
‘ए, हो ?’ अकमकियो ऊ– ‘बस न ।’
अलिकति सिरक पन्छाएर जब छेवैमा बसी मोहिनी, मुखबाट ह्वास्स रक्सीको गन्ध आयो । अस्तव्यस्त थिई ऊ । पुस्तक बन्द गरेर हे¥यो मिलनले सरसर्ती । दिनरात रोएर सुन्निएजस्ता थिए आँखा, जसलाई बगिरहेको आँसुले अरु प्रमाणित गरिरहेथ्यो । घाँटीमा डोरी बेरिएजस्तो डाम, कोतरिएको घाउबाट निस्किएर बासी हुँदै गएको रगत, जुन सुक्दै थिए क्रमशः । उनको यो भयंकर रुपले अकस्मात् विचलित गरायो मिलनलाई । चिसिँदै आयो शरीर । थरर्र काँपे ओठ– ‘मोहिनी, के भो तिमीलाई ?’
‘मिलन, अब म … अ … ब … ।’ केही भन्न खोज्दै थिई, अवरुद्ध भयो गला ।
‘अब के ? भन न के भो तिमीलाई ?’
‘मलाई अब बाँच्न मनै छैन ।’ ऊ घोप्टिएर रोई ।
‘धत्, यो के भनेकी तिमीले ?’
‘त्यसले अर्कै बिहे गरेछ ।’
‘हँ ? भन्नाले पर्वतले …? ऊ त मलेसिया पो …।’
‘धोका दियो त्यसले मलाई । उताबाट चार महिनाअघि नै फर्किएको रहेछ गाउँ र मलाई थाहै नदिई गाउँमै …।’
‘त्यसैले तिमीले सुसाइड गर्न खोज्यौ ? बस, यत्ति घटनाले ?’
‘बाँच्नै मन छैन मलाई अब ।’ सुँक्कसुँक्क गरेर पुछ्न थाली अाँसु, छोडी उच्छवास र दुखाउँदै भनी– ‘तपाईंजस्तो मान्छेको रुप धारण गरेको ईश्वर देखिनँ मैले कतै पनि ।’
‘म ईश्वर होइन मोहिनी ! म त संसारकै पत्तुर चिज हुँ, महत्वहीन, भत्किसकेको डिही हुँ म, जो बस्तीको संवेदनाभन्दा धेरै टाढा छ … एक्लै ।’
झ्यालबाट हे¥यो उसले तुवाँलोले ढाकेको बाहिरको आकाशलाई । झन्डै बस्र्यो ऊ झरीजस्तै । परन्तु थामियो कठोरसाथ र सम्झायो उसैलाई– ‘यति कमजोर नठान आफूलाई । सम्झ, जीवन र सम्बन्धहरु साँच्चै रहस्यमयी हुन्छन्, अकाशजस्तै … । मलाई आफैले सम्झाएकी होइनौ पहिले ?’
‘मेरो जीवनमा बज्र खसेको यो दोस्रो चोटि हो । अब तेस्रो चोटिमा त …।’
यति भनेर मोहिनीले खोली ब्याग । झिकेर सल्काई चुरोट र नबोली सट्सट तीनचार सर्को तानेर फटाफट हिँडी त्यहाँबाट । उसलाई पछिल्तिरबाट हेरेर सुस्तरी बोल्यो मिलन– ‘तर दुइटै बज्र आफैमाथि आफैले खसोलेकी होइनौ मोहिनी तिमीले ।’

०००

मिलनले आफूलाई एकाग्र बनाउँदै लगेको थियो र बनाउनैपथ्र्यो सायद । मान्छेको मन कुलोको पानी जस्तै हुँदो रहेछ, जसरी जता बगाए पनि हुने र उसले पनि आफूलाई कुलोजस्तै बग्न अभ्यस्त गराउँदै लगेको थियो । ऊ पूर्वछापामार लडाकु, सशस्त्र द्वन्द्वका क्रममा दुस्मनद्वारा बलात्कृत भएपछि विक्षिप्त बनेकी निर्दाेष श्रीमतीले फूलजस्ती नाबालिकासहित घर छाडेपछि ऊ गाउँ फर्केन । आमाबाबुको मृत्यु भइसकेकोले दाइको काँधमा सबै घरबार सुम्पेर पीडालाई शक्तिमा बदल्दै बरु युद्धमा खटिरह्यो । त्यही सलसिलामा आफैले बोकेको ग्रिनेट पड्केर गम्भीर घाइते भएपछि उसले आफ्नै एउटा हात गुमायो । यसरी शक्त हुँदा हिजो नेताहरुको प्रिय हतियार भएर वर्गीय मुक्तिको सपना देख्दै निःसर्त लडाइँमा होमिएको उसको सुन्दर घर जुन लडाइँले उजाड्यो र उसलाई समेत अपाङ्ग बनायो, आज अशक्त भएपछि तीनै लडाइँलाई थुक्दै सरकारमा आसीन आफ्नै श्रद्धेय नेताहरुसँग घाइते तथा अपाङ्ग योद्धाहरुको आधारभूत अधिकारका लागि लडिरहेछ ऊ ।

०००

‘म विदेश जान्छु अब, दुबईमा महिलाहरुका लागि राम्रो कोटा आएको रहेछ ।’
दुई महिनापछि दाखिल भई मोहिनी मिलनको डेरामा । यस बेला उसको दिप्त मुहारमा आशाका रुमानी बिम्बहरु झलमलाएका थिए भने हातमा थिए केही कागजात । मौन रह्यो मिलन । के नै बोलोस् र ऊ ?
‘मैले यत्तिकै भनेकी होइन तपाईंलाई, डकुमेन्ट सबै मिलिसक्यो, यी हेर्नोस् त … ।’
कम्पनीको छाप अंकित भिसा, पासपोर्ट र नागरिकताका प्रतिलिपिहरु क्रमशः देखाएर भनी उसले– ‘अब मेडिकल रिपोर्ट आउन मात्रै बाँकी छ ।’
साँच्चै भनेकी रहिछ उनले । अहो ! अहिले पो भयो उकुसमुकुस छाती, कसोकसो बढ्यो मुटुको वेग, लाग्यो दिमागमा तिलस्मी झट्का । तर किन ? कसरी या के कारणले ? भेउ पाउन सकेन उसले, बरु हे¥यो मुस्कुराइरहेकी मोहिनीलाई । मुहारको तेजस्वी किरण झन् बलिरहेथ्यो प्रगाढ बनेर । लाग्थ्यो, जिन्दगीले काट्नै लागेको यो अर्को टर्निङसँगै उद्घाटित हुँदै छन् उसका सम्भावनाका तमाम ढोकाहरु ।
‘हो त रहेछ । ल, बधाई छ तिमीलाई ।’ शब्दसँगै चिसो श्वास छोड्यो उसले ।
‘नउडुन्जेल त केको बधाई र …!’
‘तर उड्ने निश्चित छ नि त अब, होइन र ?’
‘अँ, अब त्यस्तै पन्ध्र–सोह्र दिनपछि ।’ हत्तपत्त मिलनपट्टि फर्केर गरी अन्जान प्रश्न– ‘कतै मैले यो निर्णय गरेर गल्ती त गरिनँ ?’
‘छैन, बरु सही ग¥यौ । यहाँ पाखुरी बजाएर खान्छु भन्नेलाई समेत ठाउँ छैन । कसरी बाँच्नु ?’
‘म अब उड्नुअघि विराटचोक जान्छु र छोरीलाई भेट्छु । साह्रै याद आइरहेको छ उसको ।’
मुटुमा अर्को ढुङ्गा खस्यो मिलनको । बोल्नै नसकेर ओराल्यो मुख भुइँतिर । आँखामा पानी हो या आँसु, थालिसकेछ जम्न । पुछ्यो उसले आफैले मात्र थाहा पाउने गरी ।
‘साँच्चै, तपाईंले मलाई माफ गर्नुभयो ?’
‘हँ ?’
‘माफ के माफ ?’
‘खोइ मोहिनी, माफ त कसले कसलाई पो … ।’
बीचमै अड्कियो ऊ ।
‘पछि आउँछु ल’ भन्दै हिँडी मोहिनी ।

०००

गाडीको हर्नले मोबाइल बजेको सुनेनछ उसले । उत्रेपछि मात्र थाहा पायो । ऊ बौद्ध गुम्बामा दीप प्रज्ज्वलनका लागि जाँदै थियो । मृतात्माहरुको सम्झनामा जलाउने शान्तिको दीप, कसैको सफलता र सुस्वास्थ्यका लागि जलाउने कामनाको दीप, पवित्र प्रेमको दीप ।
मोबाइलमा मिसकलका साथै म्यासेज पनि आएको रहेछ । ऊ सिधै गयो म्यासेजको इनबक्समा । लेखिएको थियो– ‘फोन उठाउनुभएन, कहाँ हुनुहुन्छ ? म बागबजार साकेला आर्टअगाडिको हार्दिक होटलमा छु । तुरुन्तै भेट्न चाहन्छु तपाईंलाई, जरुरी छ– मोहिनी ।’
जब पढ्यो उसले म्यासेज, झङ्कृत भए दिमागमा विपत्का सन्त्रासपूर्ण तारहरु । तनावपूर्ण प्रश्नहरु तँछाडमछाड गर्दै उठे मनका कन्दराबाट । फोन ग-यो उसले त्यही नम्बरमा । देखायो मोबाइलले इङ्गेज । फेरि ग-यो, नेटवर्क फेल देखायो । फेरि ग¥यो, लागेन, लाग्दै लागेन । गयो मेसेजमा र लेख्यो– ‘त्यहीँ बस्दै गर, म बीस मिनेटमा आइपुग्छु ।’
हताश भएर ऊ ट्याक्सीबाट रोदुङ क्याफे पुग्दा जुन विदीर्ण अवस्थामा विचलित थिई मोहिनी, ठीक त्यही अवस्थामा अढाई महिनाअघि उपस्थित भएकी थिई त्यसरी नै मिलनको कोठामा र पोखेकी थिई आँसुसँगै आफूलाई ।
व्यग्र अवस्थामा भेटिएकी उसले मिलनलाई छेवैमा पाउनासाथ च्याप्प समाई हातमा । झन्डै रोई कहालिएर । झन्डै छोडिदिई आफूलाई उसको न्यानो बाहुमा, सायद छोडिदिन्थी पनि होला मिलन आफै नसम्हालिएको भए ।
‘कहिले आयौ पूर्वबाट ?’ गार्डेनको चेयरमा बस्दै सोध्यो उसले ।
‘गइनँ म पूर्व । बोलाएकी छु छोरीलाई यतै ।’ घोप्टिएर जवाफ फर्काइ उसले । रोदनमिश्रित स्वर थरथरी काँपेको थियो, जो थाहा पाइहाल्यो मिलनले ।
‘के भो फेरि ? अनि तिम्रो विदेश ?’
‘म जान सक्दिनँ अब विदेश, मेडिकल फेल भो मेरो ।’
कुन बेलादेखि बलैले थामिराखेको आँसुको बाँध भत्कियो एकै चोटि अहिले । हुत्तिएर लेपिन पुगी मिलनको शरीरमा ।
‘क्यान्सर भइसकेछ मेरो फोक्सोमा, म बर्बाद भएँ मिनल !’ हत्केलाले अनुहार छोपी उसले ।
‘क्यान्सर ? तिमीलाई ?’ स्तब्ध भयो ऊ । सपनाजस्तै भयो स्थिति, तर सपना थिएन त्यो । रुँदै देखाई मोहिनीले फाइलिङ गरेर बोकेको बल्ड रिपोर्ट, छातीको एक्सरे र अन्य रिपोर्टका कागजपत्रहरु ।
एकएक हेरेर तहसनहस भयो मिलन । विभक्त भयो हजार टुक्रामा सिङ्गो मुटु । शरीरका प्रत्येक इन्द्रियहरुमा आगो लागेको महसुस भयो । छाम्यो उसले एक चोटि आफैलाई, हे-यो आफ्नै अपाङ्ग शरीर र अँगाल्यो सुस्तरी एक हातले मोहिनीलाई र तिनै हातले आँसुका ढिक्काहरु पुछिदिएर विनयी भावमा भन्यो– ‘जाबो एउटा डाक्टरले भन्दैमा आत्तिनु हुन्न तिमी । हामी आजै अर्को डाक्टरकहाँ जाऔँला, नेपालमा अहिले जस्तै रोगको पनि उपचार सम्भव छ मोहिनी, केही पनि हुँदैन तिमीलाई, म छु नि !’
‘तपाईंले यति भन्नुभयो, लाख भयो मेरो निम्ति ।’
उसले दुवै हातले समाई मिलनको गलामा । तानी आफू नजिक र खोली थरथराएका अधर– ‘म अब मरुँला या बाँचुँला, रत्तीभर पीर छैन आफ्नो । पीर छ मात्र मुनाको । जीवनको आखिरी बिसौनीमा तपाईंसँग याचना गर्दैछु मिलन !’
यति भनेर निर्धक्क जुधाई आँखामा आँखा र गर्लक–गर्लक आँसु झारेर भनी– ‘तपाईं ईश्वर हो, साक्षत् ईश्वर ! कति सजिलै क्षमा दिनुभयो म अज्ञानी अभागिनीलाई । अब बाबाको मायासहितको छहारी दिनुहोस् आफ्नी छोरीलाई, नत्र मुना सद्दे टुहुरी हुन्छे, मजस्तै । मिलन, ऊ तपाईंकी रगत हो … मेरो ईश्वरको रगत !’
थाम्न नसकेर यसपटक मिलनले पनि आफूलाई पोखाइदियो सहश्र आँसुसँगै श्रीमतीको उजाड सिउँदोभरि ।

प्रतिक्रिया