करातेमै सक्रिय नाम

phurba3 copyनेपाली खेलकुदमा कराते खेल सर्वत्र चर्चामा रह्यो । विभिन्न संघमा आवद्ध भए पनि आप्mनो खेलमा सक्रिय केहीले महत्वपूर्ण सफलता पाए पनि उनीहरूको खासै चर्चा हुन सकेको छैन । गत वर्ष थुप्रै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाए । यसमा उनीहरूले सफलता पनि पाए । यी सफलता पाउनेमा अमेरिकामा भएको प्रतियोतिामा सफलता पाउने सुनील लामा रहे । सुनील र परशुराम बास्तोलाले इंग्ल्यान्डमा भएको प्रतियोगितामा पनि सफलता पाए । यसैगरी, बंगलादेशमा भएको एक प्रतियोगितामा नेपालका कराते खेलाडीको प्रदर्शन राम्रो रहेको थियो ।

भारतमा २ महिनाअघि भएको प्रतियोगितामा सुदूरपश्चिमका कराते खेलाडीले राम्रो प्रदर्शन गरे । यो राम्रो प्रदर्शनी श्रृंखलाको सुरुआत यसअघि नै भएको थियो । नर्वेमा भएको एक प्रतियोगितामा त्रिलोक पाण्डे, जनक सिंह खड्कालगायतले सफलता पाएका थिए ।

फाटफुट हुने प्रतियोगितामा सफलता पाएको नेपाली कराते आसन्न १२औँ सागमा सहभागी नभएका कारण निराश भए पनि नेपालमै हुने दक्षिण एसियाली च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेका छन् । नेपालमा दक्षिण एसियाली च्याम्पियनसिप तयारी भइरहेको कराते अधिकारीहरू बताउँछन् ।

त्यसो त कुनै विशेष स्टाइलको ठूलो प्रतियोगिता पनि सन् २०१६ मा नेपालमा हुने भएको छ । कुनै पनि रूपले सक्रिय यो खेलका अनेक व्यक्तित्व मध्ये यसपटकको चर्चा कराते खेलाडी फुर्बा सिंह तामाङको ।

नेपाली करातेमा परिचित व्यक्तित्व फुर्बा सिंह तामाङ पछिल्लोसमय खेलाडी, प्रशिक्षक र रेफ्री तीनवटै भूमिकामा उत्तिकै सक्रिय छन् । स्वयम्भू डोजोको रूपमा उत्कृष्ट खेलाडी उत्पादनमा सक्रिय रहेका फुर्बाले केही महिना अघि मात्र स्विडेनको स्टकहोममा भएको प्रतियोगितामा रजतपदक जिते । ३१ अक्टोबरमा सम्पन्न प्रतियोगितामा नेपालबाट फुर्बा र प्रशिक्षकको रूपमा प्रविनकुमार राना मगर सहभागी थिए । ६० किलो तौल समूहमा सहभागिता जनाएका फुर्बाले बेलायत, नर्वे र इटालीका खेलाडीलाई पराजित गरेका थिए । फाइनलमा उनी स्वीडेनका खेलाडीसँग पराजित भए ।

५० को दशकको मध्यमा नेपालको परिचित कराते एकेडेमी बालाजुमा आबद्ध फुर्बा त्यसपछि रेफ्री र खेलाडीको रूपमा समानरूपले सक्रिय भएका थिए । ६० को दशकको सुरुआतमा नेपाली करातेमा एउटा परिवर्तन देखिएको थियो । सितोरियो करातेको एउटा ठूलो समूह पुरानो स्टाइलबाट गोजेरियोमा सक्रिय भयो । त्यही समूहमा आवद्ध भएर फुर्वा पनि गोजुरियोलाई स्थापित गराउन सक्रिय रहे । यसपछि उनी रेफ्रीको भूमिकामा मात्र होइन, स्वयम्भू डोजाको स्थापना गर्दै प्रशिक्षकको रूपमा पनि उत्तिकै सक्रिय रहे । रेफ्रीको रूपमा एजिकेएफ रेफ्री बी उत्तीर्ण गरिसकेका छन् । सन् २०१२ मा भारतमा भएको चौथो एसियन गोजुरियो एसियन कराते च्याम्पियनसिपमा उनको प्रशिक्षणमा रहेको स्वयम्भू डोजोका खेलाडीले ९ स्वर्णपदक जितेका थिए । काभ्रे तिमालका यी खेलाडीले सफलताको पाइला चुम्ने क्रममा बंगलादेशमा गत वर्षको अन्त्यमा भएको चौथो दक्षिण एसियाली च्याम्पियनसीपमा रजतपदक जितेका थिए । यसैगरी, सन् २०११ मा मलेसियामा भएको इपुसिटी इन्टरनेसनल गोजुरियो कराते च्याम्पियनसिपमा फुर्वाले स्वर्णपदक जितेका थिए । सामाजिक जीवनमा समेत सहयोगी भूमिका भएका कारण फुर्बा अन्य करातेकर्मीका माझ प्रिय मानिन्छन् ।

उनी अहिले पनि आफ्नो डोजाङलाई सक्रिय बनाउने, अन्य करातेकर्मीको सहयोगमा जुट्ने र यस खेलको विकासमा सक्रिय हुने गरेका छन् । यसैका लागि सक्रिय पनि छन् ।

प्रतिक्रिया