‘लालजोडी’मा रेखाको स्वर

rekha-thapaकाठमाडौं, २१ पुस । बलिउडमा मात्र होइन, कलिउडमा पनि अभिनेत्री पाश्र्व गायनमा देखिन थालेका छन् । केही पहिले आफैँले निर्माण गरेको चलचित्र ‘रामप्यारी’मा संगीत गरेर चर्चामा आएकी अभिनेत्री रेखाले यसअघि चलचित्र ‘वर्षात’को गीत गाएकी थिइन् । यसपटक भने नायिका थापाले ‘लालजोडी’का लागि फेरि गीत गाएकी छन् ।
एक साता निरन्तर अभ्यासपछि उनले मंगलबार दिउसो काठमाडौंको पुतलीसडकस्थित आवर स्टुडियोमा यो गीत आफ्नो स्वरमा रेकर्ड गराएकी हुन् । चलचित्रभित्र रहने यो युगल गीत रेखा र गायक प्रल्हाद तिमल्सिनाको स्वरमा रेकडिङ गरिएको छ । ‘लालजोडी’ रंग पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा बन्न लागेको दोस्रो चलचित्र हो । यसअघि उनले ‘एउटा साथी’ निर्देशन गरेका थिए ।
रेकडिङ गरिएको गीतमा निर्देशक सुवेदीकै शब्द रहेको छ । गीतमा थानेश्वर गौतमको संगीत छ । ‘मा कसम..’ चलचित्रको कथा अनुसारको सिच्युयसनल गीत भएको निर्देशक सुवेदीले बताए । ‘प्रेममा झगडा परेर रिसाएका प्रेमीले प्रेमिकालाई फकाउने गीत हो,’ सुवेदीले भने, ‘गीतको बीचबीचमा डाइलग पनि भएकोले रेखाले नै गाउँदा उपयुक्त हुने देखेर उनलाई नै लिएको हो ।’
‘लालजोडी’को कथा, पट्कथा, सम्वादसमेत निर्देशक सुवेदी आफैँले लेखेका छन् । चलचित्रको कलाकार पनि छनोट भइसकेका छन् । फिल्म छायाँकनमा जाने तयारीमा छ ।

प्रतिक्रिया