उनका गाडि अनि मेरो यात्रा

haris copyकाठमाडौंको पुरानो बसपार्क, रत्नपार्कबाट केहि नजिकै छ यो ठाउँ, ठेलम्ठेल गाडीहरू अनि खचाखच यात्रुहरू । खलासीका बहुथरि आवाजहरू सुन्न सकिन्छ यहाँ– बालदेखि बृद्धसम्मका । निर्विरोध चलिरहेका गाडीहरू । हर्न कसले कतिखेर बजाउने, काहाँ बजाउने भन्ने केहि छैन । कसैले किन बजाइस् भन्ने पनि होइन । कसैले अनुगमन गर्ने पनि होइन । निर्धक्क बजाइ, यस्तो लाग्छ सायद सा, रे, ग, म, प, ध, नि, सा, यिनै हर्नबाटै गाइरहेका छन् यिनले । खलासीहरूका मिस्रित आवाजहरू, कलिला बाल आवाजदेखि बृद्दत्वसम्मका यिनै धुनमा आरोह र अवरोह लिदै कोइ कालीमाटी कलंकी भन्दै, कोही बानेश्वर भन्दै, कोहि बल्खु भन्दै ।

(१)

कार्यालय समयमा सधै कोचाकोच गाडी हुन्छ त्यसैले अलि साँझ भएपछि हिन्ने गर्छु म ।
आफूलाई भने सधै किर्तीपूर पुग्न पर्ने । दिनको थकाइले कोठामा गएर आराम सुत्न बाहेक केहि जागर छैन । सोच्दासोच्दै एउटा गाडी आइपुग्यो । दिनभरिको थकान, कस्तो टाउँको दुःखेजस्तो भइराको आज । अगाडिको ड्राइभर सिट छेउ बस्न खोजे, खलासीले बस्न दिएनन् ।
‘अगाडि मान्छे छ रे ।’
म पछाडि गएर बसे ।
एक छिनपछि आर्को मित्र गएर बस्न खोजे । उनलाई पनि पछाडि पठाइएछ ।
केहि छिनपछि एउटी केटी मित्रहरूको लाम आयो उनीहरू चेहार्दै थिए पछाडि बस्न । खलासीले भन्यो, ‘अगाडि बस्नुस् अगाडि सिट छ ।’
गाडस् हुइँकियो । दिनको थकानले थाकेर निदाएछु क्यार । गाडी कीर्तिपूर पुगेसी थाहा भयो । यस दिनको यात्रा यही समाप्त भयो ।

(२)
यात्राको दोस्रो दिन थियो ।
फेरि उहि प्रक्रिया दोहरियो । जहिले नी गाडि ठेलम ठेल । गाडि कम भएर हो या… एक मनले त लाग्दै थियो अब आफ्नै बाइक किनु । तर आर्को मनसित पैसो थिएन । काठमाण्डूमा सानो पैसोले खान त मुस्किल छ, के बाइक नि !
उही प्रक्रियामा आज पनि अगाडी बस्न पाइएन ।
आज भने मैले छेउको साथीलाइ सोधेँ, ‘साथी एउटा कुरा भनु ?’
‘भनम् न हजुर, के थ्यो ?’ उसले मिजासिलो पारामा भन्यो ।
‘हैन यो गाडिहरूमा मैले यस्सो हेर्दा धेरै दिन भो है, ‘हामीलाई अगाडि बस्न नदिने महिला मित्रलाइ दिने’ केहि त्यस्तो आरक्षण त छैन नी, आजकल नयाँ संविधानमा अगाडिकै ड्राइभर छेउ सिट तोकेर ?
‘हो भन्या, कुनै कुनै गाडिमा म पनि देखिराछु यस्तो’, ‘आरक्षण हैन काँहाबाट हुनु, त्यो त पछाडिको सिटमा हो नि’ ‘मलाई पनि दुइतिन दिन यस्तो गर्यो के !’ उ जडकियो ।
म चुप्प लागे, सोचे । अव पुरुषलाइ हेप्ने दिन सुरु भए ।
चाहे जे सुकै उत्तर होस्, यै उत्तरले चित्त बुझाए ।
गाडि अगाडि बढ्दै गयो ।
साँझ ढल्ने तिब्रता सँगै खलासी मित्रको आवाजको गति अब तिब्र हुँदै थियो ।
‘अलिक परपर सरिदिनुस त’ ‘परपर सरिदिनुस ल ।’
‘दुवैपट्टी सरिदिनुस है भनिदियाछु मैले’ भर्खरै जुँगाको रेखि पलाउन लागेको मुखारबिन्दबाट आवाज आयो ।
कोहि हलचल नभएपछि उसले पछाडिको ढोका खोल्यो ।
‘ह्या यत्रो ठाँउ छ । के ग¥या ?’ ‘सरिदिनुस है !’
‘ओइ रातो टोपि लाएको दाइ !’, ‘ओइ मुन्द्रा लाको दाइ !’
‘ओ दिदी !’ ‘अलि खुट्टा सारिदनुस न, ह्या के ग¥या यस्तो’,
‘ओ दीदि भन्या लाग्दैन तपाइलाई !, ‘कस्तो खालको मान्छे होला के !’
आफ्नो प्रष्ट आवाजमा धित मरुन्जेल बोलिरहेको थियो ऊ ।
‘जाउ है, रत्नपार्क, रत्नपार्क….. उसले जोरले चिच्यायो ।’
गाडीका सबै गिल्ल हाँसे । त्यो कीर्तिपुर गइरहेको गाडि थियो ।
ऊ फेरि चिच्यायो, ‘हैन अलिकति सरिदिनुस् भनेको नि लाग्दैन, नसर्ने भए झरिदिनुस् है, मैले भन्द्या छु !’
‘सरिदिनुस् न हो, आफैँ पनि बुझिदिनुस् सबैले जानै पर्ने छ आखिर, यत्रो सुनिसकेपछि…. एउटा यात्रुले चाटने पारामा प्रस्तुती जमाए ।’
‘हैन कति परपर सर्नु भनेको होला एल्ले हँ ? ठाँउ भए पो सर्नु यार ।’
‘तँ आएर बसेर देखा त यहाँ, ठाउँ भए पो सर्नु’, अधबैसै मित्रले अलिक तातेर जवाफ दियो ।
‘तपाइलाई राम्रो मुखले भन्या लाग्दैन कि क्या हो ।’ अलि धम्की भाषामा खलासीले आवाज दियो ।
अधबैसै युवा झन राँको भयो ।
‘ए तैले के निँहु खोज्या हो भाते त के गर्छस भन त ?’ उ तात्तीयो ।
नभन्दै गुरुजिबाट पनि आवाज आयो ।
‘तपाइजस्तो पढेलेखेको मान्छले यस्तो भन्न सुहाउँछ, अलिक सरेर बसिदिनुु न यतिका मान्छे मिलेर बसिराछ । अलिक सर्दैमा के जान्छ र । मिलेर बसिदिनुस न ।’
अधबैंसे केहि बोलेन । सायद ओर्लिने ठाउँ आएछ । नभन्दै माइक्रो रोकियो ।
उसले सोध्यो, ‘भाडा कति हो ?’
‘भाडा पन्ध्र रूपैयाँ ।’
‘हैन अस्ती सम्म त १३ थ्यो त ?’
‘तेलै पाइराछैन के १३ हुनु ।’
अधबैसेले १५ रूपैया बाल खलासीलाई टक्रयायो । पैसा फिर्ता नदिइ माइक्रो खुरुक्क हुइक्यो ।
ड्राइभरले मुसुक्क हाँस्दै भन्यो । ‘के भन्छ कान्छा तेले ?’
‘खै के भन्छ के भन्छ’, बाल खलासीको प्रत्युत्तर ।
माइक्रो बल्खु भन्ने ठाँउमा रोकियो ।
कान्छा करायो, ‘अलिक अलिक भित्र सरौ है । ट्राफिकले मार्ने भो ।’
कोचाकोच गर्दै उसले ढोका थुन्यो ।
म खिल्ल हाँसे, कान्छाले आँखा तान्दै मतिर हे¥यो ।
वास्तवमा म त्यसको कुरा सुनेर हैन । म त त्यै मास्तिर भट्टीकी साहुनीको कुरा सुनेर पो हाँसेको थिए । उनको छोरा पनि रत्नपार्क सुकेधारा रुटमा माइक्रोमा नै काम गर्दौ रैछ बिचारा, राति सुतेपछि सबैलाई बितयास बनाउँदो रैछ निद्रामा, भित्ता बजाएर जमल, भाटभटेनि नक्साल, सुकेधारा, धुम्बाराही भनेर बेस्सरी कराउँदो रैछ बिचारा !
हराभरा लालीको टियू गेट भन्ने ठाउँमा फेरि माइक्रो रोकियो । जहाँ दुईजना तालुखुइले व्यक्तिहरू कुरा गरिरहेका थिए ।
‘उ हरियो माइक्रो पूरै रित्तो छ त्यसमै जाउ न ।’
‘नजाउ भो टाउँको ठोकिन्छ त्यसमा बस्नै गाह्रो, बरु उभिएरै भए पनि यसमै जाउ सर !’
‘फेरि आर्को कुर्नु, कति खेर पो आउने हो, जाउ भो ।’ दुवैजना सहमत भए । गाडी हुइकियो ।
यात्रा पांगा दोबाटो आएर रोकिया । म झरे ।

(३)
आजको यात्रा धेरै ठाउँमा तय गर्नु थियो मैले । त्यसैले बिहानै हिँडे म । किर्तीपुरबाट पुरानो बसपार्क चल्ने गाडिमा चढियो । निदाउँदै रत्नपार्क पुगेको चालै भएन । मेरो यात्राको पहिलो अंश सकियो । अब भने मैले धुम्बाराहि पुग्नुपर्ने थियो ।
म माइक्रो कुरेर बसिरहेको थिए । नभन्दै भाटभटेनी नक्साल भन्दै माइक्रो आइपुग्यो । गाडी खाली थियो । म बीचको सिटमा गएर बसे । गाडी अलिक अगाडि के बढेको थियो आर्को एकजाले हात दियो । गाडी रोकियो तर ट्रफिकले सिटी बजाइ हाल्यो यसपाली ।
ट्रफिकले छेउमै आएर भन्यो, ‘भाइ किन गाडी रोकेको हँ ? यहाँ रोक्नु हुँदैन भन्ने कुरा थाहा छैन कि क्या हो ! ड्राइभरले टाउको कन्याउँदै भन्यो, ‘के गर्ने सर हेर्नु न पुरै माइक्रो खाली छ ।’
‘ए त्यस्तो हो ल जाउ…. ।’
‘ल माफ दियो’ ड्राइभरले जोरले हाँस्दै भन्यो, ‘देखिस् कान्छा त्यो जुंगे दाइको सरुवा भएछ त्यो हुन्जेल त मोज थ्यो नि !’
खलासीले भन्यो, ‘चिन्ता लिनु पर्देन त्यो पनि तालमा आइहाल्छ ।’
गाडीमा अंगे्रजी ¥याप गुन्जिरहेको थियो । गालीका छाडा शब्दहरू प्रष्ट बुझिइरहेका थिए । खलासी ‘या, या, अ….’ को धुन त्यै गीतसँग गुनगुनाइरहेको थियो । रुमालले टाउँको झ्याप्प बेरेको बन्धु सायद ऊ यो संस्कृतिमा हुर्केकै छैनजस्तो उसको प्रस्तुति थियो गीतप्रति ।
‘के गीत लाको यस्तो, आमाचाक्ली गाली बाहेक केहि छैन यसमा । बन्द गर न भाइ’, मैले भनेँ ।
खलासी हास्यो, ‘ए हो र त्यस्तो पो ।’
अचम्म लाग्छ, बुझेर हो कि नबुझेर, मोडर्न पल्टिने दाउ हो, उसले प्रतिक्रिया बाहेक केहि जनाएन ।
गाडी टक्क रोकियो । नभन्दै, एउटा अपांग व्यक्ति आएर अपांग सिट खै ? भनेर खोज्यो । तत् सिटमा बिराजमान मुन्द्रे उठेन । उसले भन्यो, ‘खोइ कसरी थाह पाउने ?, तपाई अपांग हुन कार्ड चाहियो ।’
‘कार्ड देखाउनुस् न’ विद्यार्थी हुँदा त कार्ड माग्छ, सबै चिज भएको प्रमाणित कागजात चहियो के । नत्र कसरी थाहा हुन्छ महिला पुरुष अपांग, बृद्द ?, नांगै बस्ने हैन क्यारे ? त्यतिक्कै त म पनि बृद्ध भन्छु, अपांग भन्छु मानुहुन्छ ?’ उसले भन्यो ।
पछाडिबाट आवाज आयो, ‘ए भाइ के हो यस्तो पारा ? सिट छोडिदिनुन् न अपांग हो भन्दैछन त ।’
‘हैन तपाइ छोडनुस् न त सिट ।’
‘हामीले किन छोड्ने, त्यो अपांग सिट हो त त्यहाँ लेखेको पढनुस्, महिला रन्किई । अरू सबै चुपचाप रहे सायद नबोल्नु साध्य लागेर होला ।
‘मैले के भन्या छु त । कार्ड देखाउनुस् बस्नुस’ के प्रमाण छ तपाइ अपांग भन्ने ? उसले लजिक थप्यो ।
अपांग भनाउँदाको सिट आर्के व्यक्तिले छोडिदियो । गाडी फेरि गुड्यो ।
केहि दूरी गाडि गुड्दै अगाडि महिलाले हात दिइन् । ड्राइभरले कान्छालाई भने, ‘कान्छा त्यहाँ ट्रफिक छ कि हेर त ।’
‘छैन जस्तो छ । यस्सो साइड मिलाएर रोकिदिनु न ।’
माइक्रो रोकियो ।
म ड्राइभर र माइलो को कुराकानी सुन्नमै ब्यस्त थिए । मेरो पछाडिको सिटबाट आवाज आयो ।
‘दाइ रोकिदिनुस् है’
माइक्रो २०० मिटर जति गुड्यो । फेरि आावाज आयो ।
‘दाइ राकिदिनुस् भन्या सुन्नु भएन ’
‘फेरि के नसुन्या हो कि नटे¥या हो अघिदेखि यहाँ छ भनेर भनिराछुँ । के हो यस्तो पारा’, उनी जडकिइन् ।
‘यहाँ रोक्न मिल्दैन के’, ड्राइभरको उत्तर थियो ।
अधबैसै आइमाई जर्किएर बोली, ‘मान्छे हाल्न भएपछि जहाँ पनि रोक्न मिल्ने, ओराल्न चाहिँ नमिल्ने, खुरुक्क रोक् ।’ नभन्दै माइक्रो रोक्यो र ती महिला ओर्ली ।
माइक्रो आफनै तालमा बिशालनगरतिर हुइँकियो । माइक्रोको अपांग र महिला आरक्षण लेखिएको र केरमेट गरी काटिएको ठाँउ हेर्दै ब्यस्त थिएँ म । सोमा युवाहरूको ठेलमेल थियो । मलाई थाहा थिएन, म सितै चढ्ने साथी महिला सिटमा पो बसेको रहेछ । मैले उभिइरहेकी महिला मित्रलाई चाट्ने पारामा भने, ‘धन्य है झन् दलित, मधेशी, आदीबासी, जनजातिलाई पनि आरक्षण भइदिया भे हामीलाइ कहाँ बस्न पुग्थ्यो र । ब्राम्हण र क्षत्री यातायात भनेर छुट्टै गाडि चल्थ्यो होला है ।’
मैले फेरि उनीतिर फर्कर्दै चासो व्यक्त गरे, ‘महिला आरक्षण भनेको छ, त्यसमा बसेको मान्छेलाई उठाएर पनि त तपाई बस्न सक्न हुन्थ्यो नि, कि कसो ?’ मैले यसो भन्दा महिला मित्र केहि बोलिनन् ।
‘हुन त हो उठिदिएन भने, खाली के झगडा गर्नु, बुझनु पर्ने हो’, उनले मलाई बुझाउने पारामा उत्तर फर्काइन् ।
यी कुराबीच मलाई पोहोर सालको दिल्ली भ्रमणको कुरा याद आयो । मलाई थाहा थिएन । म महिला आरक्षण सिटमा बसेको थिएँ ।
अचानक यजमन्तको महिला आएर मलाई भनी, ‘जरा हटो तो ।’
क्यु हटु ? बसेको सिटबाट उठने किन ?
‘समझ मे नहि आया क्या ?’
समझमै आना क्या है । अभि टिकट लेके बैठा हु, मैले भने ।
मैले सिट नम्बर नकोरिएको साझा यतायातको जस्तै टिकट देखाए ।
पछाडिबाट एउटाले भन्यो, ‘अरे भैया उधर पढो तो क्या लिखा है जरा ।’ म सिटबाट उठेँ । मलाई उठ्न बाहेक आर्को बिकल्प नै थिएन ।
अनि आइमाइले भन्यो, ‘लग्ता है साला बिहारी है ।’
म केहि बोलिनँ ।
गाडी आफ्नै पारामा हुइँकिरहेको थियो । तर मेरो दिमाग भने प्रश्नै प्रश्नको खिचडि भइसकेको थियो । पछाडिबाट एउटा बाक्लो ध्वनी गुन्जियो ।
‘चुप लाग्नुस् । यो नक्कली कार्ड हो !’
मलाई डर लाग्यो । अस्ती मलाई पनि बसपार्क टिकट किन्न जादा यो कार्ड नक्कली हो भनिएको थियो । तर कार्ड त सक्कली नै थियो । सायद अलिक फोहोर भएकोले हो या के हो । साथीले भनेको याद आयो, ‘खलासीलाई सक्कली लाग्न त चिटिक्क कार्ड हुनु पर्छ जुत्ताको होलोग्राम टाँसेको किन नहोस ।’
त्यो भे मेरो पुरानो भएर होला । मैले चित्त बुझाएँ ।
कार्ड प्रसंग चलिरहेकै थियो तर मेरो ओर्लिने समय आइसकेछ । मसित खुल्ला पैसा भने थिएन । खल्तीबाट ५०० को नोट र कार्ड भिक्दै दिए ।
कन्टेक्टरले भने, ‘खुला पैसा दिनुस न ।’
‘छैन’ मैले काँहाबाट दिनु मसँग थिएन ।
उसले यत्रतत्र खोज्योे कहिँ भेटेन ।
उसो त मलाई गाडीका खलासीहरू सित मुखामुख गर्न मन लाग्दैन । उनीहरू जे पायो त्यै पच्च भनिदिन्छन् । अगाडिबाट ड्राइभर रिसायो, ‘गाडिमा चढ्दा खुल्ला पैशा बोकेर चढनुपर्छ भन्ने थाहा थिएन तपाईलाई ?’
मलाई झनक्क रिस उठ्यो, ‘ब्यापार गर्ने तपाई खुला पंसा मैले बोक्नु ?’
‘कुन बंैकले चाहिँ मलाई घरमै आएर साँटिदिन्छ ? खुद्रा पैसा छ भने खुरुक्क भाडा काट होइन भने म हिडे ।’
म लगत्तै आर्को महिला झरिन् ।
‘भाडा कति हो भाइ ?’
उसले भन्यो, ‘१५’
‘१३ होइन र अस्ती घटेको छ त ।’
‘होइन दिदी खुद्रा छैन ।’
त्यो प्रसंग त्यतिक्कै सुल्झियो । महिला आफ्नो बाटो लागिन् ।
आखिर यो यथार्थ तपाई हाम्रो साझा समस्या हो । सार्वजनिक यतायातको सवालमा आमजनता र सवारी हकदार दुवै पक्षबाट गल्ती नभएका भने होइनन् । देशको फितलो ट्राफिक व्यवस्थापनको उपज मान्न सकिन्छ यसलाई । साना कदका सवारी साधन काठमाडौं सडकमा बढी चल्ने, त्यसमा पनि उभिएर पनि कोचाकोच मान्छे राखेर चलाउनै, कमाउनै पर्ने यातायात व्यवसायीको मानसिकता र जस्तोसुकै अवस्थामा पनि यात्रा गर्नुपर्ने यात्रुको बाध्यता, त्यसैगरी उभिएर पनि यात्रा गर्ने आम मानसिकताको उपज भन्न सकिन्छ, केहि फितलो ट्राफिक व्यवस्थापन त । अझै भन्नुपर्दा गाडि ओराल्ने तथा ओराल्ने ठाउँहरू पनि निश्चित नभएको, भएका ठाउँहरू पनि राम्रो सदुपयोग नभएको, ट्राफिक नभएको बखत ट्रफिक नियमको उल्लंघन, साँघुरा रोडहरू, मोटरसाइकलका खात, तँभन्दा म के कमको दौडाइले हुने जाम, उही रोडमा नारा जुलुस, उहीमा साइकल, ठेला, अव्यवस्थित रोड क्रसिङ ट्राफिक समस्याको केहि उपज हुन भने अर्कोतर्फ आमयात्रुहरू पनि निश्चित ठाउँमा नकुरी जताततै कुर्ने, ब्यवसायीहरू पनि जाताततै रोकिदिने गर्दा पनि ट्राफिक समस्या निम्त्याइरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया