अफगानिस्तानमा थप अमेरिकी सेना आवश्यक–अमेरिकी जर्नेल

न्युयोर्क । अमेरिकी सेनाका एक जर्नेलले अफगानिस्तानमा थप नयाँ अमेरिकी सैनिक आवश्यक पर्नसक्ने जनाएका छन् । अमेरिकामा रहेको नेटो सैन्य समूहको कमाण्डरसमेत रहेका ती जर्नेल भन्छन्, ‘अफगानिस्तानको स्थानीय क्षेत्रमा अहिले पनि तालिवानको त्रास कायमै रहेकोले हाल त्यहाँको सैनिकलाई सघाउनका लागि थप अमेरिकी सैनिक आवश्यक पर्नसक्छ ।’जर्नेल जोन क्याम्पबेलले राखेको सो धारणा अमेरिकी पत्रिका युएसए टुडेको मङ्गलबारको संस्करणमा प्रकाशन गरिएको छ ।

उनले सन् २०१५ को मध्यतिरबाट अफगानिस्तानको सुरक्षाको अवस्थामा पनि ह्रास आइरहेको भन्दै त्यसका लागि थप नेटो सैनिक अफगानिस्तानमा हुनु आवश्यक देखिएको पनि बताएका हुन् । सन् २०१५ को अन्त्यतिर आएर अफगानिस्तानमा तालिवानको आक्रमणका घटनामा वृद्धि भइरहेको जानकारी पनि उनले दिए ।

सो अन्तरवार्तामा उनले भनेका छन्, यस समयमा तालिवानले सर्वसधारण एवम् अफगान सेनामाथिको आक्रमण र हत्या बढाएको छ । त्यसका कारण अफगान सुरक्षाबल मारिने क्रम बढेको छ ।

यसअघि गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१६ को अन्त्यसम्ममा अफगानिस्तानमा करिब दश हजार मात्र सेना बाँकी रहने र त्यस अगावै अरुलाई फिर्ता गरिसक्ने जानकारी दिएका थिए । त्यसपछिकोे अमेरिकाको यो नै पहिलो आधिकारिक भनाइ हो । उनले सो अन्तरवार्तामा भनेका छन्, ‘मैले राष्ट्रपति ओबामालाई पनि जतिसक्दो धेरै सङ्ख्यमा अमेरिकी सेना अफगानिस्तानमा राख्न आग्रह गर्नेछु । ’

हाल अफगानिस्तानमा करिब २० हजारको सङ्ख्यमा मात्र अमेरिकी सेना रहेका छन् । ती सेनाले अफगानिस्तानमा तालिवानका विरुद्ध लडिरहेको अफगान राष्ट्रिय सेनालाई सल्लाह र तालिम दिनेगर्छ ।

अफगानिस्तानमा रहेको नेटो सेनाले गतवर्ष नै अफगानिस्तान छोडिसकेको छ । त्यहाँ नेटो आवद्ध विभिन्न देशका करिब एक लाख सैनिक कार्यरत रहेका थिए । (एजेन्सी)

प्रतिक्रिया