हेम वाईबाको ‘लाईभ म्हेन्दोमाया साँझ’ हुने

lama mehendoकाठमाडौं ५ पुस । गायक तथा संगीतकार हेम वाईबाको एकल ‘लाईभ म्हेन्दोमाया साँझ २०७२’ हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी आगामी पुष १० गते राष्ट्रिय नाचघर जमलमा हुने सो कार्यक्रमको बारेमा जानकारी दिइएको हो ।

तामाङ समुदायमा लोकप्रीय म्हेन्दोमाया गीतका गायक वाईबाले पहिलो पटक एकल साँझ गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा बौल्दै गायक वाईबाले म्हेन्दोमाया दोरा र म्हाने दोरा गीतहरुको विशेष सामाजिक महत्व रहेको बताए । उनले भने ‘म्हेन्दोमाया तामाङ समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको छ । त्यसैले यसको संरक्षण र प्रवद्र्धनमा हामी निरन्तर लागिरहेका छौँ ।’ म्हेन्दोमायाको प्रवद्र्धन गर्ने अभियानलाई निरन्तरता दिन एकल साँझ गर्न लागिएको उनले बताए ।

एकल साँझमा गायक वाईबाले आफ्ना चर्चित म्हेन्दोमाया गीतहरु प्रस्तुत गर्नेछन् । उनले गाएका केही नेपाली गीतहरुसमेत प्रस्तुत गरिने उनले बताए । उक्त कार्यक्रममा म्हेन्दोमाया गीत संगीतमा चर्चित गायक गायिकाहरुले उनलाई साथ दिनेछन् । तामाङ मोडल तथा नृत्यकारहरुबाट तामाङ मौलिक संस्कृति झल्कने प्रस्तुतिहरुसमेत कार्यक्रममा प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वि.सं. २०५२ सालबाट संगीत क्षेत्रमा लागेका गायक वाईबाले वि.सं. २०५४ सालमा ‘तरेली’ नामक पहिलो एल्वम निकालेका थिए । वि.सं. २०५६ मा उनले म्हेन्दोमाया युवा समाज नेपालबाट ‘म्हेन्दोमाया’ नामक एल्वम बजारमा ल्याए । उक्त एल्वम म्हेन्दोमाया गीतको पहिलो एल्वम रहेको उनको दावी छ । पछि उनले ‘मुश्किल’, ‘कप्चङ’, ‘ल्हाल्हुङ’, ‘क्येका’, ‘गाङ्स्योङ’, ‘संगालो’ लगायत एल्वमहरु बजारमा ल्याएका छन् ।

सामाजिक विकास आधार नेपालको आयोजनामा हुने एकल साँझको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक सुकसागर तामाङले जानकारी दिए । कार्यक्रमको टिकट बिक्रीबाट उठेको रकम भूकम्पबाट क्षतिग्रस्त सेम्जोङ–५, धादिङस्थित श्री बुद्ध प्रा.वि.को भवन निर्माणमा सहयोग गरिने संयोजक तामाङले बताए ।

प्रतिक्रिया