लघुकथा : माटोको हाहाकार

Nadeeshगाउँमा माटोको हाहाकार छ । दिन प्रतिदिन रित्तिदै गइरहेछ माटो । रहस्यमय छ– कसले चोरिरहेछ माटो ? कहाँ पु¥याइदैछ माटो ?

गाउँमा कालो आतङ्क व्याप्त छ । चारैतिर कालै कालो नजर आइरहेछ । यो कालो आतङ्कसँग कुनै विनाशकारी प्रलयको सम्बन्ध छ, गाउँलेहरु तयार छन् ।

उनी हुन मुखिया । केही समयअघि कालो अविरद्धारा स्वागत गरिएथे उनी गाउँलेहरुबाटै र कालै नैतिकताको हिसाबले सम्हाल्न आएछन मुखिया पद । भनिन्छ, कालो रङ्गसँग उनको गहिरो सम्बन्ध छ । त्यसैले होला उनी आजकाल जहाँ जहाँ जान्छन् कालो कपडा फर्फराउँछन् गाउँलेहरु, कालै दोसल्लाले स्वागत गरिन्छ उनलाई । प्रफुल्लित मुद्रामा उनी कालो कपडाको गुणगाण गाउँछन्, गुनासो पोखिरहन्छन् ‘मेरो लागि यति काफी भएन’ र हरेक साँझ एकछिन घोप्टो परेर भक्कानिदै रुन्छन अरे आफ्नो खोपीमा । खै किन रुन्छन उनी ?

गाउँमा माटोको हाहाकार छ । दिन प्रतिदिन रित्तिदै गइरहेछ माटो । रहस्यमय छ– कसले चोरिरहेछ माटो ? कहाँ पु¥याइदैछ माटो ?

कालो आतङ्कसँग जुधिरहेछन् मुखिया बा । जुध्न बाध्य छन् मुखिया बा । त्यसोभए, यीसँग हरेक समस्याको निराकरण छ । गाउँलेहरु हुल बाँधेर मुखिया बाकोमा निबेदन दिन जान्छन् ‘हामीलाई हाम्रो माटो फिर्ता देऊ ।’ कोमल हृदयका धनी मुखिया बाका आँखामा आँशुका थोपाहरु टिल्पिलाउँछन् । आँशुका थोपाहरुमा कालै रङ्गिदिन्छ उनको सिंहासन ।‘म तपाइहरुको माटोको मुल्य चुक्ता गरेरै छाड्नेछु, सारा गाउँलेको कसम ।’

‘मुखिया बाको जय होस ।’

‘कसले चोरिरहेछ हाम्रो माटो यो मध्य रातमा ?’ गाउँलेहरु आश्चर्यचकित हुन्छन् जब उनीहरु आफ्नै मुखियाले माटो कुम्ल्याइरहेको देख्छन् ।

कोही भन्दै थियो ‘कुरो त्यसो होइन अरे । मुखिया बा अल्मलिएछन् । माटै माटोको रासभित्र आफ्नो माटो चिन्न सकेनछन् उनले । त्यसैले नमुनाको लागि केही माटो संकलन गरेर बाहिर लादैछन रे ।’

‘यो मध्यरातमा किन ?’

‘आफ्नै माटो चिन्न नसकेकोमा ठुलो पश्चाताप छ रे उनलाई, त्यसैले आफ्नो मीठो निद्रा त्यागेर सुटुक्क आएका अरे’

‘मुखिया बाले माटो फिर्ता गरेरै छाड्लान् त ?’

‘मुखिया बाले माटोको मुल्य चुक्ता गरेरै छाड्छन अरे ।’

+ + + +

‘मुखिया बाले माटोको मुल्य चुक्ता गरेरै छाडेछन् ।’नवनिर्मित आयातित कालो आलिशान महलतिर इंकित गर्दै कसैले भन्यो ।

गाउँमा माटोको हाहाकार छ । दिन प्रतिदिन रित्तिदै गइरहेछ माटो । अब छर्लङ्ग छ –कसले चोरिरहेछ माटो ? कहाँ पु¥याइदैछ माटो ?

प्रतिक्रिया