‘सरकार–पारिको गाउँ’ सार्वजनिक

काठमाडौं, २९ मंसिर । पत्रकार तथा कवि कृष्ण कट्टेलको कवितासंग्रह ‘सरकार–पारिको गाउँ’ शनिबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार, कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा काठमाडौंको अनामनगरस्थित मिडिया इन्टरनेसनलमा पत्रकार कट्टेलको कवितासंग्रह सार्वजनिक गरिएको हो ।

वरिष्ठ साहित्यकार तथा कवि श्रवण मुकारुङलगायत थुप्रै साहित्यकार, पत्रकारलगायतको सहभागितामा कवितासंग्रह ‘सरकार–पारिको गाउँ’का साथै गजलकार घनश्याम मुडभरीको ‘सांगीतिक गजल–यात्रा’को पनि सोही कार्यक्रममा सार्वजनिक गरियो । मुलुकको वर्तमान परिस्थिति तथा समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको कवितासंग्रहका विषयमा साहित्यकारहरूले आफ्नो धारणा व्यक्त गरे ।

वरिष्ठ साहित्यकार तुलसी दिवसले साहित्य, कला र संगीत क्षेत्रलाई पनि समयानुकूल परिमार्जन गर्दै युगअनुसारको आवाज बोल्ने शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए । मुलुकले बेहोरिरहेको असहज अवस्था र नेतृत्वपंक्तिले पनि अबका दिनमा सिर्जनशील र कुशलताका साथ जिम्मेवारी बहन गर्न सके नेपाली कला, साहित्य, संस्कृति तथा राजनीति नै परिवर्तनशील र विकसित हुने वरिष्ठ कवि तुलसी दिवसले धारणा राखे ।

पत्रकार कट्टेलको कवितासंग्रह ‘सरकार–पारिको गाउँ’ र गजलकार मुडभरीको ‘सांगीतिक गजल यात्रा’ले पनि समयको माग र आवश्यकतालाई सम्बोधन गरेको अर्का वरिष्ठ साहित्यकार, कवि श्रवण मुकारुङले धारणा व्यक्त गरे । कवि कृष्ण कट्टेलले समसामयिक राजनीति, सरकार, समय र समाजका परिवेशलाई कवितामा उतारेको कवि मुकारुङले बताए ।
कार्यक्रममा तुलसी दिवस र श्रवण मुकारुङका साथै युवापुस्ताका लोकप्रिय कविहरू प्रोल्लास सिन्धुलीय, हरिमाया भेटुवाल, असिम सागरलगायत साहित्यकार र संचारकर्मीको सहभागिता थियो । पत्रकार कट्टेलको कवितासंग्रह ‘सरकार–पारिको गाउँ’ शब्दार्थ प्रकाशनले प्रकाशित गरेको हो भने उषा मिडिया प्रालिले गजलकार मुडभरीको सांगीतिक गजल तयार पारेको हो ।

प्रतिक्रिया