बिहेको खर्च शिक्षा र स्वास्थ्यमा

पर्वत, २९ मंसिर । पर्वतका युवाले विवाहमा भोज खुवाउने रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरेका छन् । शनिबार मात्रै विवाह बन्धनमा बाँधिएका पर्वत कुस्माबजार निवासी ‘रोट्याक्ट क्लब’ का अध्यक्ष सन्तोष पौडेल र उनकी जीवन संगिनी शर्मिला बराल पौडेलले बिहेमा गर्ने खर्च आफूले पढेको विद्यालयमा अक्षयकोष र गाउँमा बेडको अभावमा सुत्केरी गराउन समस्या झेलिरहेको स्वास्थ्य चौकीलाई सुत्केरी गराउने बेड तथा पेरिलाइट खरिद गरिदिएर सहयोग गरेका हुन् । नव दम्पत्ती पौडेलले आफ्नो गाउँको आमा समूहलाई बिरामी बोक्न स्टेचरसमेत सहयोग गरेका छन् ।

पौडेल दम्पतीले कुस्मा नगरपालिका–१८ स्थित वीरेन्द्र उच्च माविमा १ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष खडा गरेका हुन् । भने सोही गाउँको जागृति महिला समूहलाई झन्डै २० हजार रुपैयाँ पर्ने अत्याधुनिक स्टेचर सहयोग प्रदान गरेका छन् । यस्तै पर्वत जिल्लामा अस्पतालबाहेक सबैभन्दा बढी सुत्केरी गराउँदै आएको शंकरपोखरी गाविसस्थित स्वास्थ्य चौकीमा ५० हजार रुपैयाँ मूल्य पर्ने सुत्केरी गराउन बेड र पेरिलाइट सहयोग स्वरूप प्रदान गरेका छन् ।

त्यहाँको स्थानीय ‘रोट्याक्ट क्लब’ अफ पर्वतका युवाले बिहे भोजको रकम सामाजिक काममा खर्च गर्ने अभियान सञ्चालन सँगै यो पहिलो प्रयास भएको पौडेलले जनाएका छन् । मंसिर महिना बिहेको मौसम भएकाले बिहेका कार्यको नाममा हुने अत्यधिक फजुल खर्चलाई सामाजिक काममा लगाउन यो अभियान सुचारु गरिएको उनको भनाइ छ । ‘विवाहको भोजमा तडकभडक गरेर मनाउनुभन्दा सामाजिक क्षेत्रमा लगाउनु उचित ठानेर विद्यालय र स्वास्थ्य क्षेत्रमा सहयोग गरेको हुँ,’ पौडेलले भने, ‘मेरो सहयोगले आर्थिक अभावमा पढ्न नसकेका जेहेन्दार विद्यार्थीले शिक्षा पाउने र गाउँका महिलालाई सुत्केरी गराउन सहयोग पुग्ने विश्वास लिएको छु ।’ वीरेन्द्र उच्च माविमा पौडेलका दाजुभाइले अध्ययन गरेका थिए । नगरपालिका भएपछि बाह्रैमहिना सवारी साधन नचल्ने भएकाले बिरामीलाई मोटरबाटोसम्म ल्याउन समेत समस्या थियो ।

यसैगरी ंकरपोखरी स्वास्थ्य चौकीले वर्षमा ४० जनाभन्दा बढीलाई सुत्केरी गराउँदै आएको छ । शंकरपोखरी, थापाठाना, भंगारा गाविसलगायतका ठाउँबाट आउने गर्भवती महिलालाई सुत्केरी गराउन शैया र पेरिलाइटको अभावमा सामान्य शैयामा राखेर लाइट बालेर सुत्केरी गराउनुपर्ने समस्या रहेको स्वास्थ्यचौकी प्रमुख उमाकान्त सापकोटाले जानकारी दिइन् ।

यसअघि गएको जेठमा विवाह बन्धनमा बाँधिएका रोट्याक्ट क्लब अफ पर्वतका संस्थापक अध्यक्ष मोहन आचार्यको दम्पत्तीले कुस्मा बजारमा सौर्य बत्ती जडान गरेका थिए । आचार्य दम्पत्तीले कुस्मा बजारमा सबैभन्दा बढी भिड हुने शिवालयचोक र संवेदनशील क्षेत्र मानिने लोकतन्त्रचोकमा सौर्य बत्ती जडान गर्न सहयोग गरेका थिए ।

प्रतिक्रिया