‘ओलम्पिक कमिटीको ब्यानरमा सबै खेलकुद’

काठमाडौं, २७ मंसिर । बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता नेपाल ओलम्पिक कमिटीको ब्यानरमुनि रहेर गर्नुपर्ने माग नेपाल ओलम्पिक एकेडेमीले गरेको छ । आइतबार एकेडेमीले आयोजना गरेको खेलकुद र प्रतियोगिता आयोजनासम्बन्धी अभिमुखीकरण कार्यक्रयमा सहभागी खेलकुदका व्यक्तित्वहरूले सो धारणा व्यक्त गरेका हुन् ।

नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष धु्रवबहादुर प्रधानले अहिले राष्ट्रिय प्रतियोगिता राष्ट्रिय ओलम्पिक गेम्सका रूपमा गर्नुपर्ने बताए । ‘सातौँ राष्ट्रिय खेलकुद हुन गइरहेको र सरकार र ओलम्पिकबीचको सम्बन्धको वातावरण बनेको समय यो प्रतियोगितालाई ओलम्पिक भावना अनुसार अगाडि बढाउँदा राम्रो हुन्छ’, प्रधानले भने ।

एकेडेमीका डाइरेक्टर सुजनलाल श्रेष्ठले राष्ट्रिय प्रतियोगिता गर्दा सहरहरूलाई बिडिङमा सहभागी गराउनुपर्ने धारणा राखे । ‘यसले त्यो क्षेत्रमा पूर्वाधार विकास हुने । त्यस क्षेत्रका मानिसलाई अपनत्व हुने र केन्द्रीय बजेटको मुख ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य हुनेछ’, श्रेष्ठले भने ।

अभिमुखीकरण कार्यक्रममा उमेशलाल श्रेष्ठले खेलकुद र प्रतियोगितामा मार्केटिङको महत्वको विषयमा प्रकाश पारेका थिए । तयसैगरी स्पोर्टस फर अलका चियरम्यान विष्णुगोपाल श्रेष्ठले गेम्सको आयोजक समितिको विषयमा प्रकाश पारेका थिए । एकेडेमीकी प्रतिभा जोशीले ओलम्पिक मुभमेन्ट र यसको विषयमा एकेडेमीले अब नियमित रूपमा अभिमुखीकरण कार्यक्रम गर्दै जाने बताइन् । कार्यक्रमा ओलम्पिक खेलअन्तर्गत अधिकांश संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया