कविताहरु

कमरेड

रामकृष्ण पौडेल ‘अनायास’

कविडाँडा कैलाशनगर
भूकम्पले चर्किएर बाँसको टेको लगाएको
घरभित्रको एउटा अँध्यारो कोठामा बसेर
म तिमीलाई लाल अभिवादन टक्रयाउँछु कमरेड
म मृत्युको आँगनमा बस्दा
तिमी महलको कुन कोठामा रूमलिएर
कुन पहाडीयालाइ भोकै राख्ने
कुन मधेसीको रगत बगाउने योजनामा
मस्त छौ ।

तिमीलाई जनताले आशाको दियो मानेर
देशको साँचो सुम्पेका थिए

तिमीलाई थाहा छैन होला मेरो गाउँ
जहाँ तिमी बसेका छौ कमरेड
त्यहाँबाट सात डाँडापारिको
अँध्यारो गाउँमा हो र

त्यो पनि थाहा छैन होला
हिजो भर्खर बिहेको मिति तोकिएकि
हर्के कि छोरी मनमायाको इज्जत लुटिएको थियो
माइलाबाको छोरो
औषधि नपाएर पखालाले लगेको थियो
उता बिरे तेल लिन जाँदा
जिउँदै जलेर मरेको थियो
हो कमरेड म त्यही गाउँबाट हो
तिमीले अखबारका अक्षरबाट थाहा पायौ होला
त्यो अवोध मनमायाको इज्जत लुटिँदा कराएको चित्कार
अनि माइलाबाको सन्तानप्रतिको माया

बिरेको पीडाले मलाई पोलेको छ कमरेड

म ननिदाएको कयाँै रातहरू भइसके
निदाउँदा केवल सधँै मेरो सपनामा
कयौँ रातहरूले
लुटिएको इज्जत फिर्ता माग्छन्
हर्केको छोरा आफ्नो परिवार र
जीवनजल लिन सधैँ धाइरहन्छ र

कमरेड तिमी चियाको चुस्कीसँगै
जनताको विश्वासहरू पनि थुप्रै पिएका छौ
कुनै रात तिम्रो सपनामा पनि
यसैगरी कयौँ मनमायाहरू
आउनेछन् जीवनरक्षाको भिक माग्नेछन्
मधेसीहरू गोली र रगतको
मूल्य माग्नेछन्

बेलैमा आफ्नो कुर्चिबाट
उठेर हेर कमरेड
हिमाल, पहाड, मधेस
नत्र कयौँ नेपालीको चित्कार
पीडा र प्रश्नहरूले
आत्महत्या गर्न बाध्य हुनेछ ।

पश्चात्ताप
दुम्जाली सचन
सिन्धुली
खै के पाएछ
मेरो जीन्दगीको कुन अध्यायले
तिम्रा आँखामा गाजलका आलीहरू भत्काएर
मेरै नामको लालीगुराँस
फुलाउनु चाहिरहेथ्यो तिम्रो सिउँदो
म डँडेलो सल्काउन
तिम्रै मुटुको अन्तरकुन्तर
दल्छिनढुंगा ठुँगिरहेथेँ
ट्याक ट्याक ट्याक

त्यसैको बदलामा
मंसिरको गैरीखेतको दाइँमा
मेरै गालामा धान चुटेझै हत्केला चुट्यौ
तिम्रा ओठहरूले एसिड वर्षाए
मेरो अनुहारमा
जसले आजसम्म मेरो छातीमा भतभत पोलिरहेछ

मलाई थाहा थिएन तिमीबाट टाढा गएपछि
मेरा आँखाहरू नियास्रिन्छन भनेर
मेरा आवाजहरू घाँटीमै अड्किन्छन भनेर
मेरो छातीलाई आफ्नै मुटु बिझाउँछ भनेर
मेरा गोडाहरू लंगडो हुन्छ भनेर
र थाहा थिएन पनि
मेरो पेटले घाँटीमा बार लगाउँछन् भनेर

तिमीलाई नदेखेको दिनदेखि
मेरा आँखाले आकाशमा
तारा देखेनन् जुन देखेनन्
म कुनै रात निदाउन सकिनँ
किनकी तिमीले जसरी नै
चड्काइरहे सिरानीले मेरा गाला

मलाई तिम्रा परेलीको कठघरमा उभिएर
आँखाको कोर्रा खान मन छ
सक्छौ भने काँडैकाँडा
बिछ्याएर राख बाटोमा
मलाई त्यही काडाँहरूमा टेकेर
तिम्रा आँखाअगाडि
टक्क उभिने मन छ ।

प्रतिक्रिया