खोजखबर

मधेसी नेताहरू नयाँदिल्लीमा

सौर्य अनलाइन २०७२ मंसिर २० गते १४:४० मा प्रकाशित

काठमाडौं, २० मंसिर । मधेसकेन्द्रित दलका शीर्ष नेता भारत सरकार तथा भारतीय राजनीतिक दललाई नेपालको मधेस आन्दोलनको यथार्थ जानकारी गराउने उद्देश्यले आइतबार भारत प्रस्थान गरेका छन् । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज (आइतबार) बिहान ८ः१५ बजे नयाँ दिल्ली प्रस्थान गरेको तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले जानकारी दिए ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव भने शनिबार नै भारत गइसकेका छन् । भारत सरकारको निमन्त्रणामा नयाँ दिल्ली पुगेका मधेसकेन्द्रित नेताहरु भारत सरकारका साथै विपक्षी दलका नेतासँग भेटघाट गरी बुधबार फर्किने महामन्त्री शुक्लले जानकारी दिए ।

उपप्रधानमन्त्री कमल थापाको भारत भ्रमणलगत्तै मधेसकेन्द्रित नेता भारत भ्रमणमा गएका हुन् । भ्रमणका क्रममा मधेसकेन्द्रित नेताले नेपाल सरकारका तर्फबाट पराराष्ट्रमन्त्री थापाले अघोषित नाकाबन्दी खोल्ने सम्बन्धमा भारतसँग गरेको भनिएको सहमतिबारे समेत जानकारी माग्ने र आफ्नो मागबारे छलफल गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

मधेसकेन्द्रित दलका नेताहरुले नयाँदिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता सोनिया गान्धी, विदेशमन्त्री सुष्मा स्वराज, नेताहरु डिपी त्रिपाठी, सीताराम यचुरीलगायतसँग भेटघाट गर्ने तमलोपाका अर्का महामन्त्री जितेन्द्र सोनलले बताए ।

भ्रमणका क्रममा रहँदा नेताहरुले मधेसमा करिब साढे तीन महिनादेखि जारी आन्दोलन र त्यसको समाधानका लागि सहमति जुटाउनेबारे छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय