ताप्लेजुङ, २६ असोज । ताप्लेजुङको सुकेटार विमानस्थलमा कालोपत्रे भएसँगै गोमा एयरको जहाजले परीक्षण उडान गरेको छ । धावनमार्ग कालोपत्रे भएपछि पहिलोपटक सो जहाजले मंगलबार दिउँसो परीक्षण उडान भरेको हो ।
क्याप्टेन एडी शेर्पालगायतको टोलीले काठमाडौंबाट बिहान ११ बजेपछि उडान गरेर सुकेटार विमानस्थलमा सफलतापूर्वक जहाज अवतरण गराएका थिए । विस्थानस्थलको स्तरोन्नतिपछि पहिलोपटक गोमा एयरको विमानलाई अवतरण गराइएको हो । क्याप्टेन शेर्पाले दुवैतिरबाट सहजरूपमा विमान अवतरण गर्न सकिने जानकारी दिए । उडानको पहिलो अनुभवसँगै यस विमानस्थलमा अवतरण गराउनलाई कुनै असहज नभएको पनि शेर्पाले बताए । सफल परीक्षण उडानसँगै अब गोमा एयर कम्पनीले हप्ताको दुई दिन प्रत्येक सोमबार र शुक्रबार ताप्लेजुङ–काठमाडौं उडान सञ्चालन गर्ने जनाएको छ ।
मंगलबार गोमा एयरको विमानमा ताप्लेजुङ आएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव दिनेश थपलियाले यस जिल्ला कृषिसँगै पर्यटनको राम्रो सम्भावना भएकाले यसको विकासका लागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने बताएका छन । कञ्चनजंघा पदमार्ग, सुकेटार विमानस्थलदेखि काफ्ले पाटीसम्मको सडक स्तरोन्नति गर्न, पाथीभरा गुरुयोजना अन्तर्गत प्रभावकारी कार्ययोजना बनाई थप व्यवस्थित गर्न, पाथीभरामै केबुलकार जोड्न लगायतका पर्यटन प्रवद्र्धन कार्यका लागि तुरुन्तै पहल थाल्ने सचिव थपलियाले बताएका छन् ।
थपलिया सँगै संस्कृति पर्यटन तथा नागरिक उडड्ययन मन्त्रालयका सहसचिव सुरेश आचार्य, नेपाल नागरिक उडड्ययन प्राधिकरणका महानिर्देशक सञ्जिप गौतम, नागरिक उडड्ययन प्राधिकरण तथा पर्यटन विभागका महानिर्देशक गोविन्द कार्कीलगायतको टोली विमानस्थल निरीक्षणका लागि गोमा एयरमा आएका थिए ।
पर्यटन मन्त्रालयका सचिव दिनेश थपलिया स्वयम्को उपस्थिति रहेपछि जिल्लाबासीका तर्फबाट निमित्त स्थानीय विकास अधिकारी दुर्गाप्रसाद श्रेष्ठले दुई बुँदे मागपत्र पेश गरेका छन । सिंगो जिल्लाको पर्यटन विकासका लागि पाथीभरा देवीलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सुकेटारदेखि काफ्ले पाटीसम्मको ११ दशमलव २ किलोमिटर सडकलाई कालोपत्रे गर्नुपर्ने र कञ्चनजंघा बेस क्याम्पसम्म जाने पदमार्ग निर्माण गर्नुपर्ने माग थपलियासमक्ष श्रेष्ठले पेश गरेका हुन । मागपत्र बुझ्दै सचिव थपलियाले यस जिल्लाको विकासका लागि मन्त्रालयको सधैं पहल र प्रयत्न रहने बताएका छन ।
विमानस्थल स्तरोन्नतिको कार्यका कारण झण्डै साढे एक वर्ष अघिदेखि उडान बन्द रहेको सुकेटार विमानस्थलमा गोमा एयरले परीक्षण उडान गर्ने भन्ने खबर पाएपछि मंगलबार बिहानै देखि जिल्लाबासी राजनीतिक दलका नेतृत्व, कार्यालय प्रमुखहरू र सर्वसाधारणको भीड लागेको थियो । लामो प्रतिक्षापछि उडान सञ्चालन हुने भएकाले जिल्लाबासी तथा सरोकारवालामा खुसियाली छाएको छ ।
दुर्गम अनि पर्यटकीय जिल्ला भएकाले यहाँको विमानस्थल स्तरोन्नतिको कार्य सम्पन्न भएसँगै उडान सञ्चालनमा आउने भएपछि हवाई यात्रु तथा ताप्लेजुङ भित्रने पर्यटकलाई ठूलो राहत पुग्ने पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष सजन पौडेलले बताएका छन । यस्तै विमानस्थल सञ्चालनमा आएपछि तत्कालका लागि चाडपर्व मनाउन जिल्ला फर्कनेलाई राहत पुगेको साथै सुकेटार बजार र ताप्लेजुङका होटललगायतका अन्य व्यवसायीलाई पछिसम्म फाइदा पुग्ने पौडेलले जानकारी दिए ।
प्रतिक्रिया