काबुल, २३ असोज । अफगानी सैन्य फौजद्वारो तालिवान विद्रोहीलाई विभिन्न बस्तीबाट निकाल्न गरिएको कारबाहीमा ११६ तालिवान लडाकुको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।
गएको २४ घन्टाभित्र गरिएको सैनिक कारबाहीमा गाज्नी, लोगार, उरुज्गान, जाबुल, हेरात, फेरा, बाघिस, कान्दाहार, टाखार र कुन्दुजलगायतका ठाउँमा ११६ सशस्त्र लडाकुको मृत्यु भएको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी बताएको छ ।
कारबाहीका क्रममा ८२ जना तालिवान लडाकु घाइते भएका पनि वक्तव्यमा जनाइएको छ । आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा छजना सैनिक अधिकारीको पनि निधन भएको मन्त्रालयले वक्तव्यमा जनाएको छ । यसबारे तालिवान समूहबाट शनिबार अबेरसम्म कुनै प्रतिक्रिया आइसकेको छैन । सन् २०१५, जनवरी १ देखि नेटोद्वारा तालिम प्राप्त अफगानिस्तानी सुरक्षा अधिकारीले तालिवानको प्रभाव क्षेत्र मानिएका इलाकामा सुरक्षा कारबाही चलाउँदै आएका छन् ।
यसैबीच, तालिवानी समूहद्वारा शनिबार बिहान गराइएको एक विस्फोटमा परी खोस्ट प्रान्तमा तीनजना नागरिक घाइते भएको प्रान्तीय प्रहरी प्रमुख फैजुल्लाह घाइर्टले बताएका छन् ।
प्रतिक्रिया