सिन्धुपाल्चोक, २१ भाद्र धार्मिक महत्त्वको रुद्राक्षलाई साँगाचोक गाविसका केही किसानले आम्दानीको गतिलो माध्यम बनाएका छन् । अन्य बालीको तुलानामा रुद्राक्षबाट प्रशस्तै आम्दानी हुने भएपछि उनीहरू रुद्राक्षको खेतीमा आकर्षित भएका हुन् । साँगाचोक गाविस–७ का लोकबहादुर गिरीले करिब ६ रोपनी जग्गामा रुद्राक्षखेती लगाएका छन् । आजभन्दा १० वर्षअघि लगाएको यो खेतीले उत्पादन दिन थालेको तीन वर्ष भएको छ । रुद्राक्षखेतीबाट वार्षिक चार लाख रुपियाँ आम्दानी हुने गरेको बताएका छन् ।
गत साल दुई मुखेदेखि १४ मुखे रुद्राक्ष नौ सय किलो उत्पादन भएको र उत्पादित रुद्राक्षलाई काठमाटीका सुवेदी र खासा बजारमा लगेर बेचेको उनी बताउँछन् ।
रुद्राक्षको खेतीमा सन्तुष्ट देखिएका गिरीले यसअघि सो बारीबाट चार मुरीजति कोदो उत्पादन गर्थे । कोदोका तुलानामा सोच्नै नसक्ने किसिमको फाइदा भएको उनको भनाइ छ । १० वर्षअघि ५० बोट लगाएका रुद्राक्षबाट फाइदा देखेपछि थप २५ बोट लगाएको बताएका छन् ।
रुद्राक्षखेती आम्दानीको गतिलो माध्यम भएपछि साँगाचोक गाविस–७ कै सरोज कार्की र प्रकाश कार्कीलगायत पाँच किसानले पनि ४० बोटका दरले रुद्राक्षखेती लगाएको लोकबहादुर गिरीले बताए । रुद्राक्षको एउटै गेडा वा दाना पनि लाखौँमा बिक्री हुने गरेको पाइन्छ । दानाको मूल्य यसको मुख हेरेर हुने गरेको बताइन्छ । एकमुखे दाना आधाजून जस्तो हुने र अति महँगो हुने बताउँछन् । हिन्दूधर्मको शिवपुराण, पद्यपुराण, भविश्य पुराण, हरिवंशपुराण र श्रीमद् भागवतले रुद्राक्षको दानालाई विभिन्न देवदेवीको स्वरूपमा लिई लगाउने चलन छ ।
एकमुखे दानालाई भगवान् शिवको रूपमा पुजिने गरेको पाइन्छ । दुईमुखेलाई पार्वतीको रूपमा पुजिने र दाम्पत्य जीवन सुखमय हुनुका साथै व्यापार व्यवसाय फलदायी हुने धार्मिक विश्वास छ । तीनमुखेलाई अग्निको रूपमा, चारमुखेलाई ब्रह्माको रूपमा, पाँचमुखेलाई शिवको पाँचमुखको रूपमा, छ मुखेलाई साहसिक कुमारको रूपमा, सातमुखेलाई महालक्ष्मी र सप्तऋषिको रूपमा पुजिने गरेको पाइन्छ । हिन्दूधर्मावलम्बीले रुद्राक्षलाई प्राण प्रतिष्ठा गरी राशिअनुसार लगाउन सकिएमा चाहेको कुरा प्राप्ति हुने धार्मिक विश्वास छ । रुद्राक्ष वर्षैभरि हरियो भइरहने सदावहार वनस्पति हो । समुद्री सतहबाट सात सयदेखि एक हजार आठ सय मिटरको उचाइमा यसको खेती गर्न सकिन्छ ।
प्रतिक्रिया