काठमाडौं, २१ भदौ । संविधानसभाले मंगलबारबाट संविधानको अन्तिम प्रक्रिया सुरु गर्ने भएको छ । बिहान ११ बजे सुरु हुने बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानको अन्तिम विधेयकमा सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राखेपछि संविधानको प्रक्रिया आरम्भ हुने छ । सभाध्यक्ष नेम्बाङले मस्यौदा समितिका सभापतिले प्रस्ताव राखेपछि संविधानको प्रक्रिया आरम्भ गर्दै संविधानमा परेका संशोधन प्रस्ताव क्रम संख्याका आधारमा प्रस्तुत गर्नेछन् ।
संविधान जारी गर्ने अन्तिम प्रक्रिया सुरु भएका बेला संविधानको प्रक्रिया रोकेर विरोधमा रहेका मधेसी थारूलगायतसँग वार्ता गर्न सभाध्यक्ष नेम्बाङलाई केही नेताहरूले सुझाव दिएका छन् । तर, प्रमुख नेताहरूसँग सभाध्यक्षले गरेको परामर्शमा त्यस्तो सुझाव नआएका कारण प्रक्रिया मंगलबाट आरम्भ गरेर अघि बढाउन सभाध्यक्ष नेम्बाङ तयार भएका छन् ।
‘मैले हिजो (आइतबार) देखि नै विभिन्न दलका नेताहरूसँग परामर्श गरिरहको छुँ, उहाँहरूले प्रक्रिया कसरी अघि बढ्छ भन्ने मात्र जिज्ञासा मसँग राख्नुभएको छ,’ सभाध्यक्ष नेम्बाङले भने, ‘त्यसैले प्रक्रिया रोक्न प्रस्ताव राख्नेहरूलाई मैले आफ्नै नेतासँग छलफल गर्न भनेको छुँ ।’ उनले नेताहरूले चाहेमा संशोधनका प्रस्ताव पेस भएकै समयमा वार्ता गरेर निर्णयमा पुग्न सकिने बताए । ‘एक दिन प्रक्रिया रोक्दा संविधानको समग्र प्रक्रिया मिल्छ भने रोक्न कुनै समस्या छैन,’ उनले भने, ‘तर कुनै पनि शीर्ष नेताले अहिलेसम्म प्रक्रिया रोकेर सहमतिमा पुग्ने विषयमा परामर्शसमेत गर्नुभएको छैन ।’
सभाध्यक्ष नेम्बाङले आइतबार विभिन्न दलका नेताहरूसँग भेटघाट गरेका थिए । सोमबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको खुलाउँदै सभाध्यक्ष नेम्बाङले एमाओवादी अध्यक्ष दाहालले पनि प्रक्रिया अघि बढाउने विषयमा मात्र छलफल गरेको जानकारी दिए । सभाध्यक्षले सोमबार अपराह्न गरेको ठूला दलका प्रमुख सचेतकहरूसँग पनि छलफल गरेका थिए । छलफलमा एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सभाध्यक्षका तर्फबाट केही दिन प्रक्रिया रोकेर सार्थक वार्ताको पहल गर्न सुझाव दिएका थिए । ‘सभाध्यक्षज्यूको ऐतिहासिक भूमिका पनि छ, दलहरूका तर्फबाट गरिएका प्रयास सफल हुन सकेनन्,’ नेम्बाङसँग भेटेर बाहिरिने क्रममा पोखरेलले भने, ‘त्यसैले अब सभाध्यक्षकै तर्फबाट सार्थक प्रयास होस् भनेर मैले भनेको छुँ ।’
‘हामी संविधानको अन्तिम प्रक्रियामा छौँ, सबैलाई स्वीकार्य संविधान ल्याउन म नेताहरूलाई अब संविधानमा परेको संशोधन प्रस्ताव राम्ररी अध्ययन गर्न आग्रह गर्छु,’ सभाध्यक्ष नेम्बाङले भने, ‘समस्याको समाधान गर्ने एउटा बाटो त्यहाँ भेटिन सक्छ ।’
सभाध्यक्ष नेम्बाङले संशोधन प्रस्तावबाट त्यस्तो सहमतिको बिन्दु भेटिने बताए पनि धेरैजसो सुझाव एउटा विषयमा केन्द्रित नभएर धेरै विषय समेटिएकाले त्यस्तो सम्भावना कम मात्र देखिन्छ । तर एमाओवादी सभासद् धनिराम पौडेलले प्रस्तुत गरेको संशोधन प्रस्तावमा थारू बहुल क्षेत्रलाई आठौँ प्रदेश बनाउने भन्ने मात्र प्रस्ताव परेकाले आठ प्रदेशको सहमति गरेका दलहरूलाई एउटा विकल्प प्रप्त हुनसक्छ । सभाध्यक्ष नेम्बाङले मिल्ने विषय संशोधन प्रस्तावभित्रैबाट सम्बोधन गरे केही विषय समेट्न नसके संविधान जारी भएलगत्तै संशोधन प्रस्ताव ल्याएर बाँकी विषय समट्न सकिने बताए ।
प्रतिक्रिया