काठसहित अध्यक्ष समातिए

देउखुरी, २० भदौ । राजपुर गाविस–४ को काजोल सामुदायिक वन समूहका अध्यक्ष काम्ताप्रसाद यादवलाई सालको ४ गोलिया अवैध काठ कटान र ओसारपसारमा संलग्न रहेको भन्दै उपभोक्ताहरूले नियन्त्रणमा लिएर वन कार्यालयको जिम्मा लगाएका छन् ।

वन समूहका उपाध्यक्ष सुरेन्द्रसिंह भण्डारीको नेतृत्वको उपभोक्ताको टोलीले शनिबार वन क्षेत्रको अनुगमन गर्ने क्रममा अध्यक्ष यादवलाई समातेका हुन् । वन समूहको क्षेत्रभित्र सालको रुख कटान गरी ट्रयाक्टरबाट निकासी गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । आइतबार बिहान वन समूहका अध्यक्ष र बरामद काठ वन कार्यालय तथा स्थानीय प्रहरी चौकीको जिम्मा लगाइएको छ ।

वन कार्यालयले बरामदी मुचुल्का उठाई काठ समूहको जिम्मा लगाएको छ भने समूहका अध्यक्ष यादवलाई वन ऐनअन्तर्गत कारबाही गर्ने बताएको छ । रुख कटानमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई पनि वन ऐनअन्तर्गत कारबाही गरिने जिल्ला वन कार्यालय दाङले जनाएको छ । उपभोक्ता टोलीले सालको ४ वटा गोलिया र रा १ त १३७७ नम्बरको ट्रयाक्टर पक्राउ गरेको स्थानीय उपभोक्ता आमलाल यादवले जानकारी दिए । सामुदायिक वन समूहका पदाधिकारीहरूको मिलोमतोमा अवैध काठको कारोबार हुने सूचना वन कार्यालय र प्रहरी चौकीलाई भए पनि बेवास्ता गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया