धनकुटा १९ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शनिबार धनकुटाका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको दर्शन र पुजापाठ गर्ने धर्मावलम्वीहरूको घुइँचो लागेको छ ।
भीमनारायण चोक, तल्लो कोप्चे, माथ्लो कोप्चे, बीचबजार, परिचमोड, सिरवानीलगायत स्थानमा रहेका कृष्ण मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । भगवान् श्रीकृष्णको दर्शन र पूजापाठ गर्नका लागि बालबालिकादेखि वृद्धवृद्धासम्म कृष्ण मन्दिरमा भेला भएका थिए । धर्मावलम्वीहरूले कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको दर्शन तथा पूजासँगै कृष्णको भजन गाउने, नृत्य गर्नेलगायत गरेर श्रीकृष्ण जन्माष्टमी मनाएका हुन् । मन्दिरमा भेला भएका कतिपयले कृष्ण र गोपिनी जस्तो देखिने पहिरनमा नृत्यसमेत गरेका थिए । श्रीकृष्ण जन्माष्टमीका कारण धनकुटाका सवै कृष्ण मन्दिरहरू सिंगारिएका छन् ।
श्रीकृष्ण जन्माष्टमीकै अवसर पारेर शनिबार साँझ त्रिवेणी सांस्कृतिक समूहले स्थानीय त्रिवेणी उच्च माविको प्राङ्गणमा तेरीया मगर, सत्यकला राईलगायतका कलाकारको साथमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै तल्लोकोप्चेमा पनि श्रीकृष्ण जन्माष्टमीकै अवसर पारेर शनिबार साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
प्रतिक्रिया