धनकुटा, ४ भदौ । लोकतान्त्रिक कार्यगत एकता मोर्चाले आह्वान गरेको बन्दका कारण सवारी नचलेपछि शुक्रबार धनकुटामा प्रहरीले स्कर्टिङ गरेर सवारी सञ्चालन गरेको छ ।
बन्दको शृंखला बढ्दै गएपछि वातावरण सहज बनाउने उद्देश्यले धनकुटा प्रहरीले सुरक्षा प्रदान गरेर सवारी सञ्चालनमा ल्याएको हो । प्रहरीले भोजपुर, संखुवासभा र तेह्रथुमबाट आएका सवारीलाई स्कर्टिङ गरेर भेडेटारसम्म पु¥याएको थियो । त्यस्तै तराईबाट आएका सवारीलाई स्कर्टिङमार्फत भोजपुर, तेह्रथुम र संखुवासभामा पठाइएको धनकुटाका प्रहरी प्रवक्ता डम्बर खड्काले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनकुटासहित भेडेटार, मुलघाट, हिले र सिधुवा प्रहरीचौकीले आ–आफ्नो नजिकको प्रहरी इकाइसम्म पु¥याएर सवारी आवतजावत गराएपछि सर्वसाधारणले बन्दको समयमा पनि यात्रा गर्न पाएका छन् ।
सप्तरीको भारदहमा मंगलबार प्रहरीको गोली लागेर मृत्यु भएका राजीव राउतलाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्तिलगायत माग राख्दै मोर्चाले मेची र कोसी अञ्चलमा एकदिने बन्द आह्वान गरेको हो । मोर्चाले गृहमन्त्रीको राजीनामा, झडपका क्रममा घाइते भएकालाई निःशुल्क उपचार र गोली प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग पनि गरेका छन् । मोर्चाले आह्वान गरेको बन्दलाई धनकुटामा क्रियाशील नेकपा–माओवादी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति, नेकपा एकीकृत, संघीय लिम्बुवान र सामाजिक लोकतान्त्रिक पार्टीले पनि संयुक्त विज्ञप्ति जारी गरेर ऐक्यबद्धता जनाएका थिए ।
धनकुटामा सवारीबाहेक बजार, पसल, शिक्षण संस्थामा भने बन्दको खासै प्रभाव देखिएन । बन्दको समयमा पनि धनकुटा बजार पूर्णरूपमा खुला थियो । बजार व्यवस्थापन समितिले गरेको निर्णयअनुरूप धनकुटामा बन्दको समयमा पनि प्रायः बजार पसल खुला नै रहने गरेका छन् ।
प्रतिक्रिया