पहिरोले डाँकसेवा प्रभावित

सिन्धुपाल्चोक, ४ भदौ । बगिरहने पहिरोले बाटो असुरक्षित भएपछि जिल्ला हुलाकको डाँकसेवा प्रभावित भएको छ । इलाकास्तरमा रहेका तातोपानी र पाङताङको कात्तिके हुलाकमा २ महिनादेखि डाँक पुग्न नसकेको हो ।

भूकम्पले क्षतिग्रस्त बनेको दुवै इलाका हुलाक कार्यालय विस्थापित भएपछि डाँकसेवा अवरुद्ध भएको जिल्ला हुलाक कार्यालयले जानकारी दिएको छ । तातोपानी र कात्तिकेमा रहेका इलाकास्तरीय सरकारी कार्यालय विस्थापित हुँदा सेवाग्राही मर्कामा परेका छन् । भूकम्पपछि नेपाल–चीन हुलाक पार्सल सेवा ठप्प छ । चिनियाँ पक्षले ३ महिनाको लागि हुलाक सेवा बन्द गरेको छ । हुलाक सेवा बन्द हुँदा नेपालका लागि चीनबाट आउने र नेपालबाट चीनका लागि जाने पार्सल सामग्री ३ महिनादेखि सीमा क्षेत्रमै अड्किएका छन् । बसबाट आउने पार्सल ५० केजीसम्मको हुन्छ ।

तातोपानीको इलाका हुलाक कार्यालय ध्वस्त भएपछि बाह्रबिसेबाट सेवा दिइँदै आएको छ । तर, बाह्रबिसे तातोपानी सडकमा निरन्तर पहिरो गइरहेकोले डाँक लान मुस्किल परेको जिल्ला हुलाक कार्यालय प्रमुख पवन अर्यालले जानकारी दिए । ‘हुलाक सेवा मात्रै होइन, इलाकास्तरीय सरकारी सेवा सबै अवरुद्ध बनेको छ,’ उनले भने, ‘चिठीपत्र पु¥याउन हुलाक स्टाफले ज्यानको जोखिम उठाउनुपर्छ ।’ इलाका हुलाक निर्माण गर्न के गर्ने भन्नेबारे विभागसँग टेलिफोनमा कुरा गरेको उनले जनाए । ‘विभागबाट कुनै निर्देशन आएको छैन र डिडिआरसीले पनि केही गर्न भनेको छैन,’ उनले भने ।

वर्षासँगै भूकम्पले हल्लाएका र धाजा फाटेका जमिन खस्न थालेपछि इलाका र अतिरिक्त हुलाकले सर्वसाधारणको चिठीपत्र पु¥याउन जोखिम मोल्नुपर्ने बाध्यता छ । इलाकास्तरमा रहेका सरकारी कार्यालय बिस्थापित भएर सेवाग्राही मर्कामा पर्दा पनि जिल्ला प्रशासनको ध्यान जान सकेको छैन ।

कात्तिके हुलाक जलबिरे सरेको छ । तातोपानी र कात्तिके हुलाक अन्यत्र सर्दा एक दर्जन गाविसमा चिठीपत्र समयमै पुग्न सकेको छैन । सदरमुकाममा रहेको जिल्ला हुलाकको नयाँ भवनसमेत भूकम्पबाट क्षतिग्रस्त बनेपछि पाल र अस्थायी टहरामा हुलाक सेवा सञ्चालन हुँदै आएको छ । भूकम्पमा परी चार हुलाक कर्मचारीको मृत्यु भएको थियो ।

प्रतिक्रिया