सामाजिक सद्भावका लागि एकमत

sadhvab rayali bhwरूपन्देही, ४ भदौ । सामाजिक सद्भाव र भातृत्व कायम गर्न रूपन्देहीवासीले एक हुने प्रतिबद्धता जाहेर गरेका छन् । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागीले सो प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा सहभागी जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख, संघसंस्थाका प्रमुख, नागरिक समाज, पत्रकार, प्राध्यापक, बुद्धिजीवी, उद्योगी, व्यापारीहरूले शान्तिका दूत बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा शान्ति र अमनचयन कायम गर्न सबै प्रयास थालिने पनि बताए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट संघर्ष समितिले सीमांकनको विषयमा असहमति राख्दै विगत १० दिनदेखि गर्दै आएको तराई बन्दको प्रत्यक्ष मार रूपन्देही सदरमुकाम भैरहवामा परेको थियो । बन्दको कारण यहाँको जनजीवनमा प्रत्यक्ष असर परेको छ । बन्द आयोजकहरूले नियमित प्रदर्शन शान्तिपूर्ण रहँदै आएकामा बिहीबार एक्कासी अशान्त भएको थियो ।

बिहीबार बन्द आयोजकहरूले शक्ति प्रदर्शन गर्दै हजारौँ मानिसहरू भैरहवामा उतारे । भैरहवाको बुद्धचौकमा बृहत् दबाबमूलक आमसभा गर्ने भनेर गाउँगाउँबाट मधेसी समुदायका जनता उतारेता पनि योजना फेरिँदा त्यो दुघर्टनमा परिणतः हुन पुगेको हो ।

बन्द आयोजकहरू नाराबाजी गर्दै बेलहियातर्फ हानिँदा निजी घर भवन तथा हस्पिटलका सिसाहरू तोडफोड गर्न थालेपछि स्थानीयहरू प्रतिकारमा उत्रेका थिए । जसका कारण विगत ९ दिनदेखि शान्तिपूर्ण हँुदै आएको बन्द हड्ताल एक्कासि असामान्य बन्न पुगेको थियोे ।

बन्दकर्ता र बन्दविरोधी दुवैले दर्जनौँ मोटरसाइकल जलाए, ट्र्याक्टर तथा गाडी जलाए । साम्प्रादायिक ढंगले पहाडी र मधेसी भन्दै एक अर्काको विरुद्धमा नाराबाजी गरे । बिहीबार दिउँसो अढाई बजेसम्म पहाडी समुदायलाई गालीगलौज गर्ने समुदायले कब्जा गरेको बुद्धचौक क्षेत्र ३ बजेपछि मधेसी समुदायलाई गालीगलौज गर्ने समुदायले कब्जा ग¥यो ।

यसरी एकाएक साम्प्रादायिकतातर्फ उन्मुख भएको आन्दोलनलाई नियन्त्रण गर्ने उदेश्यले साँझ जिल्लास्थित सुरक्षा समितिको बैठकले शुक्रबार सर्वपक्षीय छलफल गरेर सद्भावका लागी पहल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जनाए । सोही निर्णयअनुसार शुक्रबार सर्वपक्षीय छलफल सम्पन्न भयो । छलफलमा बन्द आयोजक उपस्थित थिएनन् तर अन्य राजनीतिक दल, संघसंस्था, नागरिक समाज र पत्रकारको उपस्थिति रहेको थियो ।

छलफलमा सहभागी एमाले केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज लीला गिरीले आन्दोलन जनताका लागि गरिएको भनिए पनि अनियन्त्रित हँुदा समस्या आएकाले बन्द आयोजक गम्भीर भएर शान्तिपूर्ण आन्दोलनमा जानुपर्नेमा जोड दिए । एमाले रूपन्देही जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले तराईमा सदियौँदेखिको सामाजिक सद्भाव र अमनचयन बिथोल्न केही तत्वले खेल्नसक्ने हुँदा सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिए । प्राध्यापक बालकृष्ण भट्टराईले २२ सालदेखि भैरहवामा बसेको आपूmलाई केही मधेसी समुदायले पहाडिया भनेर गालीगलौज गरेकोप्रति दुःख व्यक्त गर्दै अराजक तत्वलाई नियन्त्रण गर्दै सामाजिक मेलमिलापमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।

नेपाली कांग्रेसका नेता दीपक क्षेत्री न्यौपानेले सहनशीलताको पनि सीमा हुने हुँदा जातीय र भौगोलिक आधारमा कसैले विभेद निम्त्याउन खोज्छ भने त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिए । सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष गोकुल पोखरेलले विद्यालय शान्ति क्षेत्र भनेर दलहरूले प्रतिबद्धता जाहेर गरे पनि त्यसको उल्लंघन गरेकोमा चिन्ता व्यक्त गरे ।

एमाओवादीका नेता चोपलाल आचार्यले बिहीबार दुवै पक्षबाट भएको घटना ठीक नभएको जनाए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले सामाजिक सद्भावका लागि सबै एक हुनुपर्नेमा जोड दिए । उद्योग वाणिज्य संघका भूपु अध्यक्ष रामाशंकर कान्दुले बन्द सधैँका लागि बन्द गरिनुपर्ने बताए । नेपाल भारत मैत्री समाजका मुरारी अग्रवालले मधेसको आन्दोलन भन्दैमा जे पायो त्यही गर्न नपाइने जनाए । पर्यटन व्यवसायी सागर अधिकारीले गाउँगाउँबाट सहर घेर्ने ध्येयले मान्छेहरू ल्याउने कामलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयका मोतिलाल सुवेदीले बालबालिकाको पढ्न पाउनुपर्ने अधिकार सुनिश्चित गराउनुपर्नेमा जोड दिए ।

सोही अवसरमा सिद्धर्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बन्दको नाममा अराजकता निम्तिएकाले त्यसलाई तत्काल नियन्त्रण गरिनुपर्ने बताए । विप्लव माओवादीका शरद अलीले भातृत्व र सद्भाव आजको आवश्यकता भएकोमा जोड दिए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले प्रहरीकै अगाडि ढुंगामुढा गरिनु दुखद भएको बताउँदै गरिखानेलाई काम गर्ने वातवरण बनाइदिन आग्रह गरे । उद्योग व्यापार संगठन रूपन्देहीका कार्यवाहक अध्यक्ष डा. ऋषिराम शर्माले उच्छृंखल तत्वलाई तत्काल निरुत्साहित गर्नुपर्ने बताए । प्याब्सन नेपालका केन्द्रीय सदस्य विष्णु पन्थीले अराजकताको नेतृत्व गर्नेलाई तत्काल कारबाही गर्नुपर्नेमा जोड दिए ।

सिद्धार्थ यातयातका अध्यक्ष सूर्य सारु मगरले जसको भए पनि राजमार्गमा सवारीसाधन चल्न दिने वातवरण बनाउनुपर्ने बताए । हिसानका उपाध्यक्ष लक्ष्मण ज्ञवालीले आवसीय विद्यालयहरू चलाउँदा आन्दोलनकारीले नबुझीकन आक्रमण गर्ने गरेको बताए । नेमकिपामा जिल्ला अध्यक्ष हरिसुन्दर बासीले खुला सीमानाको फाइदा उठाउँदै आयतीत भिडले रूपन्देहीको सामाजिक सद्भाव र मेलमिलापमा किचलो हाल्न खोजेको जनाए । नेपाली कांग्रेसका युवराज गिरीले मेलमिलापको विकल्प नभएकाले आन्दोलनकारीलाई छलफलमा आउन आग्रह गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले भैरहवालाई नजरबन्द गरिएको भन्दै आपत्ति प्रकट गरे ।

सोही क्रममा स्थानीय शान्ति समितिका जिल्ला संयोजक ज्ञानु पौड्यालले छलफल र संवादलाई निरन्तरता दिँदै जानुपर्ने र सामाजिक सञ्जालमा जे पायो त्यो प्रचार भइरहेकाले त्यसलाई पनि रोक्नुपर्नेमा जोड दिइन् । शिक्षक रवीन्द्र गुप्ताले सद्भाव र हातेमालो कायम गर्नुपर्ने बताए । अर्का शिक्षक रूपकुमार रायमाझीले आन्दोलनकारीहरू विध्वंसतर्फ उन्मुख भएको तर्क गरे । राप्रपाका सागर प्रताप राणाले अविच्छन्न रूपमा गासिँदै गाएको मेलमिलापलाई खलबलाउन खोज्नु चिन्ताको विषय भएको तर्क गरे । नेकपा माओवादीका अनुपले आन्दोलन गर्न पाउनु नैसर्गिंक अधिकार भए पनि भैरहवामा भएको आन्दोलनको शैली ठीक नभएको बताए ।

सोही अवसरमा लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी गणेश केसीले रूपन्देहीको सुरक्षा संयन्त्र जस्तोसुकै परिस्थितिलाई पनि नियन्त्रण गर्न जतिबेला पनि तयार भएकाले ढुक्क भएर आ आफ्नो काम गर्न आग्रह गरे । सिडिओ विण्णुप्रसाद ढकालले भैरहवामा सामाजिक सद्भाव खल्बलाउन केही उद्दण्डकारीले प्रयास गरे पनि त्यो सफल नहुने बताए । सिडिओ ढकालले सबै एक भएर सामाजिक सद्भाव कायम गर्नतर्फ उद्दत हुनुपर्नेमा जोड दिए ।

यसअघि बिहीबार प्रतिकारमा उत्रने स्थानीयहरूले शुक्रबार नेपालको राष्ट्रिय झन्डासहित भैरहवामा सद्भाव ¥याली निकालेका थिए ।

प्रतिक्रिया