पाँचथर, ३ भदौ । सदरमुकाम फिदिममा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न जडान गरिएको सिसी क्यामेरा प्रभावहीन भएको छ । गतवर्ष सिडिओ प्रदीपराज कणेलले आपराधिक न्यूनीकरणका लागि गरिएको पहलमा पाँचथर उद्योग वाणिज्य संघको सहकार्य र विभिन्न निकायको सहयोगमा फिदिम बजारका भिडभाड बढी हुने ठाउँमा सिसी क्यामेरा जडान गरिएको थियोे ।
फिदिम गणतन्त्र चोकमा सिडिओ कणेलले सिसी क्यामेरा उद्घाटनसमेत गरेका थिए । तर, सिसी क्यामेराले बत्ती नभएका बेला गुणस्तरीय भिडियो खिच्न सक्दैन । फिदिममा बत्ती जाने समस्या झनै विकराल छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रविराज थपलियाले क्यामेरा नाइटभिजन नै भए पनि बत्ती नहुँदा गुणस्तरीय भिडियो खिच्न नसकेको स्विकारेका छन् ।
उनले क्यामेराहरू सुचारु नै रहेको र ब्याकअप राखेर बत्तीको व्यवस्था गर्नसके बत्ती नभएको समयमा पनि गुणस्तरीय भिडियो क्याप्चर हुने बताए । गुणस्तरहीन भिडियो क्याप्चर गर्ने हुँदा अपराधीलाई पक्राउ गर्न असहज हुने उनको भनाइ छ ।
पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेले ब्याकअप राखेर बत्ती जोड्ने तयारी भइरहेको जानकारी गराउँदै क्यामेरालाई प्रभावकारी बनाउने तयारी गरिएको बताए । काप्mलेलाई बोलेर मात्र होइन काम गरेर देखाउन केही व्यापारीहरूले सुझाव दिएका छन् ।
काफ्लेका अनुसार फिदिम बजारका अन्य चोकमा पनि क्यामेरा थप्ने तयारी भइरहेको छ’ । क्यामेरा जडान गर्ने सिआइएस कम्प्युटर ट्रेडका वसन्त रिजालले बत्ती नभएको समयमा पनि क्यामेराले गुणस्तरीय भिडियो खिचिरहेको दाबी गरे । तर, क्यामेराको सुरक्षा हुन नसकेको उनले गुनासो गरे । फिदिम बजारमा बढ्दो चोरी नियन्त्रण गर्ने, शान्ति सुरक्षा कायम गर्न भन्दै क्यामेरा जडानका लागि व्यवस्थापनको जिम्मेवारी लिएको संघको करिब २ लाख ५० हजार रुपैँयासहित जिल्ला विकास समितिकोे दुई लाख रुपैयाँ, फिदिम नगरपालिकाको एक लाख रुपैयाँ, जिल्लास्थित बैंक तथा वित्तीय संघसंस्थाहरू, व्यवसायीहरू, स्थानीयलगायतको सहयोगमा ७ लाख ६० हजार रुपैयाँको लगानीमा सिसी क्यामेरा जडान गरिएका थिए ।
प्रतिक्रिया