काठमाडौं, २ भदौ । बिहीबार बिहान प्रहरी इन्काउन्टरमा गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ मारिएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसी दाजुभाइकै निकट मानिन्थे । घैंटे मारिएपछि कांग्रेस नेता जगदीशनरसिंह केसी जुलुस नै लिएर शिक्षण अस्पताल पुगे ।
प्रहरीका अनुसार घैंटेको छातीमा एक गोली लागेको छ भने शरीरका विभिन्न भागमा गरी ७–८ राउण्ड गोली लागेको छ । गोली लागेर घाइते भएका घैंटेलाई शिक्षण अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले जवाफी फायर स्वरुप ११ राउण्ड गोली हानेको बताएको छ । गोली लागी सुरेन महर्जन र राज महर्जन घाइते भएका छन् । दुबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।
प्रहरी स्रोतका अनुसार बिहीबार बिहान काठमाडौंको कपुराधारा एरियामा सवा ११ बजेतिर घटना भएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो दिनमा राजधानीका विभिन्न स्थानमा सर्च अभियान चलाइरहेको थियो ।
हनुमानढोकाले दिएको जानकारी अनुसार प्रहरी टोलीले कुमार घैंटे स्कुटरमा आउँदै गरेको देखेपछि चेकिङका लागि रोकेको थियो । तर, घैंटेले प्रहरीमाथि गोली हानेपछि जवाफ कारबाही गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारीका छन् । ‘प्रहरीमाथि उनले फायर खोलेपछि जवाफ कारबाही गरिएको हो’, खनालले भने ।
प्रहरीका अनुसार झडपका क्रममा घैंटेका सहयोगीहरुले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए । घटनाका क्रममा घैंटेका केही सहयोगीहरु हतियार लिएर आक्रमण गर्न आएका थिए । घैंटे समूहको आक्रमणमा परी प्रहरी सहायक निरीक्षक बालकृष्ण सञ्जेल र रञ्जित तामाङ एवं जवान हेमन्त चौधरीसमेत घाइते भएका छन् । घैंटेका सहयोगीहरू भागेकाले प्रहरीले खोजी भइरहेको बताएको छ ।
गुण्डा नाइके घैंटेले यसअघि पनि पटकपटक प्रहरीमाथि आक्रमण गरेका थिए । ०६२ सालमा सर्वेन्द्र खनाल डीएसपी हुँदा डन घैंटेले आक्रमण गरेका थिए । यस्तै बागबजारमा उनले नाङ्गो नाच देखाएको सूचनाका आधारमा छापा मार्न गएको प्रहरी टोलीमाथि पनि घैंटेबाट आक्रमण भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया