संखुवासभा, २ भदौ । खाँदवारी–१० ढुंगेधाराका लक्ष्मीकुमार श्रेष्ठको घर छेवैमा रहेको रुद्राक्ष फल्न थालेको धेरै भएको छैन । उनले सुरु सुरुमा सो रुद्राक्षमा खासै चासो दिएनन् । ३ वर्ष अगाडि आफ्नै भाइलाई दुई हजार पाँच सयमा बिक्री गर्ने कुरा भयो । त्यसको केही दिनमै स्थानीय रुद्राक्ष व्यापारी आएर पाँच हजार रुपैयाँ दिने कुरा गरे । त्यो कुरा एक कान दुई कान मैदान हुँदै सबै तिर पैmलियो । व्यापारीहरू बीचमा कसले बढी मूल्य हाल्ने भन्ने प्रतिस्पर्धा जस्तै भयो, अन्ततः कृषक श्रेष्ठले एक व्यापारीलाई ६० हजार रुपैयाँमा जिम्मा लगाए ।
३ वर्षअघि यसरी बिक्री भएको रुद्राक्षको दाना हालै एक बोटकै २५ लाख रुपैयाँमा बैना गरिएको छ । सोही बोटबाटै गत वर्ष १२ लाख रुपैयाँ कमाएका कृषक श्रेष्ठले यो वर्ष २५ लाख रुपैयाँमा भोजपुरका एक व्यापारीलाई दिएका हुन् । ‘दानाको राम्रो फल नलाग्दै व्यापारी आएर दाम गर्नुस् भन्न थाले’ कृषक श्रेष्ठले भने ‘२५ लाखको कुरा भयो, २ लाख बैनावापत् लिइसकेँ ।’ दाना टिप्ने बेलामा २५ लाखभन्दा बढीको फले २५ भन्दा बढी व्यापारीले दिने सर्त रहेको उनले बताए ।
उनकोे रुद्राक्ष बगैँचामा जम्मा ४० बोट रहेकोमा एक बोट मात्रै राम्रो खाले दाना फल्ने गरेको उनले बताए । उक्त बोटमा राम्रो मुखदार नभएर ‘कण्ठे’ दाना फल्ने गरेकोसमेत उनले बताए । ‘रुद्राक्षबाट राम्रो आम्दानी लिन मुखदार नै हुनुपर्छ भन्ने छैन’ उनले भने ‘आकार ठूलो भएको पाँच मुखे भए पुग्छ ।’
गत वर्ष १ हजार ३ सय दाना फलेकोमा यस वर्ष त्यसको ३ गुणा बढी फलेको उनले बताए । सो दानाको मूल्य प्रतिगोटा ९ सय रुपैयाँभन्दा बढी पर्न जाने उनले बताए ।
रुद्राक्षबाट आएको पैसाले पुरानो ऋण तिरेको र बचेकोले दुई छोरालाई पढाउने काममा सहज भएको उनले बताए । रुद्राक्ष खेती गर्नुभन्दा पहिले तरकारी कृषक रहेका उनले रुद्राक्षको सिजन बाहेकको समयमा तरकारी खेतीमै व्यस्त रहँदै आएको बताए ।
प्रतिक्रिया