काभ्रे, १ भदौ । गत हप्तादेखि नै जति खुलायो त्यति सडक छेउको भागहरू बग्न थालेपछि हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । लगातार वर्षाको कारणले भूकम्पले चर्केको जमिनमा पानी पसेर गाउँ पुग्ने सडकमा पहिरो जान थालेको छ । यस्तै, हिजो हेलम्बु राजमार्गअन्तर्गत पर्ने सडक खण्डमा पहिरो गएपछि यातायात अवरुद्ध हुन पुगेको छ ।
मेलम्चीसम्मको सडक खण्डमा ठाउँठाउँमा पहिरो जान थालेपछि स्थानीयलाई राजधानी र आसपास जान यातायातको समस्या भइरहेको छ । मेलम्चीबाट काठमाडौं आउन ४ घण्टाको दूरीमा रहेको माहदेवस्थान आएर गाडी चढ्नुपर्ने बाध्याता रहेकाले पैदल यात्रीहरूलाई सास्ती भएको छ । समयमा नै बाटो खुलाउन क्रसर उद्योग सञ्चालकले कुनै चासो दिएको छैनन् । माहदेवस्थान र देउपुर गाविसअन्तर्गतको भागमा पर्ने कालीभीर भन्ने ठाउँमा गएको पहिरोले सडक अवरुद्ध भए पनि सम्बन्धित निकायहरू जिविस र क्रसर सञ्चालकहरू मौन बस्दा पैदल यात्री र यातायात सञ्चालनमा अवरोध पुगेको हो ।
केही महिनादेखि नै सडक खुलाउन खोजे पनि प्रयास विफल भएपछि स्थानीयलाई हैरानी भएको छ । सो ठाउँसम्म पुग्ने वैकल्पिक बाटो नहुँदा यातायात सञ्चालकहरूलाई पनि कुन बेला कहाँ के हुने हो भन्ने चिन्ताले महादेव स्थानसम्म पनि त्राहिमाममा यातायात चलाउँदै आएका छन् । काभ्रेका अधिकांश सडकहरूमा वर्षामा हिलो र हिउँदमा धुलोको समस्यामा रहेका छ । स्थानीयले ठेकेदारको लापरबाहीले बाटोमा छुट्याइएको बजेट वर्षामा मिलेमतोमा काम गरेजस्तो मात्रै गर्दै बजेट रकम सिध्याउने गर्नाले सडकको यस्तो हविगत भएको मनीष राईले बताउँछन् । यता ठेकेदारहरूले भने जिविसले दिएको टेन्डरमा कमिसन जिविसमा बुझाउनुपर्ने भएपछि सडक मर्मतको काममा क्वालिटी नपुगेको स्वीकार गरेका छन् ।
प्रतिक्रिया