अफ्रिकी मुलुकहरूको शिक्षा र नेपाल सन्दर्भ

keshav_prasad.bhattaraiबाराक ओबामा इथियोपिया भ्रमणमा जाने पहिलो अमेरिकी राष्ट्रपति त हुँदैहुन्, अफ्रिकी युनियनको ५२ वर्षको इतिहासमा सो युनियनको बैठकलार्ई सम्बोधन गर्ने पनि उनी प्रथम अमेरिकी राष्ट्रपति हुन् । यहाँ के कुरा स्मरणीय छ भने ओबामा अफ्रिकी मूलका अमेरिकी राष्ट्रपति भएकै कारणले मात्र त्यहाँ गएका होइनन्– धेरै अफ्रिकी राष्ट्रहरू निरन्तर आर्थिक र राजनीतिक सफलताको मार्गतर्फ अग्रसर छन् । विश्व राजनीतिमा अफ्रिकाको महत्व बढ्दै गइरहेको छ । अफ्रिकाको बढ्दो राजनीतिक र आर्थिक हैसियतका कारण उक्त महादेशमा चीन, रुस, भारत जस्ता देशको रणनीतिक उपस्थिति निरन्तर शक्तिशाली हुँदै गएको सन्दर्भमा त्यसलार्ई सन्तुलनमा ल्याउने र अमेरिकी उपस्थिति सघन पार्ने क्रममा ओबामा त्यहाँ पुगेका हुन् ।
नेपालमा २०४६ सालको परिवर्तन हुँदै गर्दा संसारका झन्डै दुई तिहाई जनसंख्या गरिबीको रेखामुनि थियो । तर, आजका मितिमा आइपुग्दा संसारका तीन चौथाई जनसंख्याले गरिबीको सीमा छिचोलेर मध्यमस्तरको आय आर्जन गर्न थालेका छन् । आजभन्दा तीस÷चालीस वर्ष अघिभन्दा आज संसार विल्कुल भिन्न भएको छ । आज समृद्धिका शिखर उत्तरबाट दक्षिण सरिरहेका छन् । २०४६ सम्म गरिब भनिएका एसिया, अफ्रिका र दक्षिण अमेरिकाका मुलुक निरन्तर समृद्धितर्फ बढिरहेका छन् । विश्व बैंकका अनुसार सन् २०२५ सम्ममा संसारको कुल आयमा विश्वका गरिब भनिने मुलुकहरूको हिस्सा ५५ प्रतिशत हुनेछ । एउटा अमेरिकी अनुसन्धान संस्थाको प्रक्षेपणअनुसार त सन् २०३० सम्ममा यो ७० प्रतिशत पुग्नेछ अर्थात्, त्यतिन्जेलसम्म विश्वको आयमा अमेरिका, क्यानडा र पश्चिम युरोपका समृद्ध मुलुकहरूको आय ३० प्रतिशतमा सीमित हुनेछ ।
अफ्रिकाकै पनि बोत्स्वाना, तान्जानिया, मोरिसस जस्ता देशले त सुरुदेखि नै राम्रो आर्थिक वृद्धि र समृद्धि आर्जन गरिरहेकै थिए । तर, हाल आएर मध्यअफ्रिकी र तल्लो सहारा क्षेत्रका संसारकै सबैभन्दा गरिब, अस्थिर, अराजक र हिंसाग्रस्त रुवान्डा र सियरा लिओनजस्ता देश पनि उज्यालो आशा र सुखद् सम्भावना बोकेर अघि बढिरहेका छन् । पश्चिममा घानादेखि इथियोपिया र दक्षिणमा मोजाम्बिकसम्मका दर्जनभन्दा बढी मुलुकले लगातार धेरै वर्षदेखि वार्षिक ६ प्रतिशतको वृद्धि दरसहित आफ्नो उज्ज्वल भविष्य सुरक्षित गर्दैछन् ।
भूमध्य सागरको उत्तरमा युरोप छ र दक्षिणमा उत्तर अफ्रिकी देश रहेका छन् । महत्वपूर्ण भू–राजनीतिक अवस्थिति, प्राचीन सभ्यता र संस्कृतिको केन्द्र रहेका र युरोपका मुलुकसँग निकट राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध पनि भएकाले उत्तर अफ्रिका सधैँ विश्व राजनीतिको केन्द्रमै रह्यो, रहिरहेकै छ । तुलनात्मक रूपमा गरिब पनि थिएन, तेलले त झन् समृद्धि थपेकै छ ।
तर, अत्यन्त प्रतिकुल अवस्थाका र घोषित रूपमै सम्भावनाहीन भनिएका कतिपय मध्य तथा दक्षिण अफ्रिकी राष्ट्रहरूको सफलता आफैँमा उत्साहजनक र प्रेरक छ ।
एक थोपा तेल निर्यात नगर्ने र अनिकाल, गरिबी, अभाव र द्वन्द्वको पर्याय मानिने इथियोपियाले लगातार केही वर्षदेखि ६÷७ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेर राम्रो गति लिइरहेको छ ।
एउटा अध्ययनअनुसार यो वर्षको अन्त्यसम्ममा १० करोड अफ्रिकीहरू मध्यमस्तरको आयमा उक्लिसकेका हुनेछन् भने ३० करोडले थप एक हजार डलर प्रतिव्यक्ति आर्जन गर्नेछन् ।
अफ्रिकीहरूको श्रमको उत्पादकत्वमा निरन्तर वृद्धि भइरहेको छ । गत १५ वर्षको अवधिमा अफ्रिकाको बाँकी विश्वसँगको व्यापारमा दुई सय प्रतिशत वृद्धि भएको छ । मुद्रास्फीतिमा निरन्तर गिरावट आइरहेको छ । वैदेशिक ऋण घट्दै गएको छ । बजेट घाटामा उत्साहजनक सुधार छ । विश्व बैंकको एउटा प्रतिवेदनअनुसार केही वर्षदेखि संसारका सबैभन्दा गरिब तल्लो सहारा क्षेत्रका मुलुकको आर्थिक विकासको गति जापानलगायत पूर्वी एसियाका मुलुकको भन्दा पनि तीव्र देखिएको छ । विश्व बैंकले २०११ मै घोषणा गरेको थियो– चीनले ३० वर्षअघि र भारतले २० वर्षअघि विकासको जुन उडान भरेका थिए त्यो उडान अफ्रिकाले सुरु गरेको छ ।
अफ्रिकामा चीन, भारत, जापान, दक्षिण कोरिया जस्ता मुलुकको लगानी बढिरहेको छ । औलो र एड्स जस्ता घातक रोगविरुद्धको प्रभावकारी उपचार र जनचेतनामा आएको विस्तारले उनीहरूको स्वास्थ्यमा सुधार भइरहेको छ । सबैभन्दा महत्वपूर्ण कुरो अफ्रिका क्रमशः शान्ति र स्थिरताको मार्गमा अग्रसर छ । अमेरिका र सोभियत संघबीचको शीतयुद्धको स्थितिमा ५० वटा अफ्रिकी देशमध्ये सात देशमा मात्र चुनावद्वारा सरकारमा परिवर्तन हुन्थ्यो– बाँकीमा सैनिक विद्रोह र जातीय युद्धमा विजयी पक्षले सरकारको नियन्त्रण गर्ने गर्दथ्यो र निरन्तर गृहयुद्धको स्थिति रहेको हुन्थ्यो । तर, अहिले ती ५० मध्ये दुई तिहाई मुलुकमा निर्वाचनमार्फत सरकार परिवर्तन हुने गरेका छन् ।
सहारा र कालाहारी मरुभूमिबीचका संसारका सबैभन्दा अक्षम सरकारमा शासन सुधारको लहर चलेको छ । आर्थिक उदारीकरणको नयाँ युग आरम्भ भएको छ । परस्पर व्यापारका अवरोध हटाइएका छन् । अफ्रिकामा हुने वैदेशिक लगानी अब तेल, हिरा र प्राकृतिक साधन केन्द्रित मात्र छैनन्, ती वस्तु तथा सेवा क्षेत्रमा विस्तार भएका छन् ।
राजनीतिक स्थिरता, राष्ट्रिय आत्मविश्वासको स्तर, स्वतन्त्र र खुला बजार अर्थतन्त्र, उन्नत र उत्पादक श्रम शक्ति, अन्तर्राष्ट्रिय बजारको स्तर अनुरूपका स्तरीय वस्तु तथा सेवा उत्पादन अफ्रिकी अर्थतन्त्रको ऊर्जा बनेको छ । उन्नत पर्यटन क्षेत्र, कृषि, विकास पूर्वाधार, शिक्षा स्वास्थ्य, सुरक्षित खानेपानी सुविधासहितको सुदृढ कानुनी शासन, सबैका लागि र खास गरेर महिला उद्यमीहरूलार्ई बैंकिङ सुविधा, स्वायत्त र सबल स्थानीय सरकारको उपस्थिति साथै लगानीमैत्री वातावरणले स्थानीय बजारलार्ई राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारसँग एकीकृत गराएकाले यो रूपान्तरणलार्ई सम्भव बनाएको हो ।
अफ्रिकाको यो समृद्धि छचल्किँदै एसिया र दक्षिण अमेरिकातिर पुग्न थालेको छ । उदाहरणका लागि १० अर्ब डलर सम्पत्तिका स्वामी र संसारका सबैभन्दा धनी अफ्रिकी– नाइजेरियाका अलिको डान्गोटे नेपाल र ब्राजिलमा लगानी गर्दैछन् । नाइजेरियाका ‘सिमेन्ट किङ’ भनिने डान्गोटे सन् १९७७ मा एउटा सानो व्यवसायबाट समृद्धिको यात्रामा लागेका थिए । स्वच्छ उद्योगपति र व्यापारीको छवि बनाएका उनको चीनी, आपूर्ति सेवा, निर्माण व्यवसायको सञ्जाल अफ्रिकाभरि फैलिएको छ । अब आएर डान्गोटे जस्ता अर्बपतिहरू अफ्रिकालार्ई मात्र होइन, एसियाको समृद्धिका लागि पनि जोस्सिएका छन् र सोही क्रममा डान्गोटेले पहिलोपटक अफ्रिकाबाहिर आफ्नो सिमेन्ट साम्राज्य विस्तार गर्न नेपाल रोजेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि प्रकाशित भए । नेपालमा त्यसबारे आशंका पनि पोखिए । तर, नेपाल सरकारले सबै कानुनी प्रक्रिया पूरा गर्नमा सहयोग गर्ने सामथ्र्य र तत्परता देखायो भने ४० करोड डलरको लगानीको विशाल उद्योगबाट २०१७ को अन्त्यसम्ममा डान्गोटेले नेपालबाट सिमेन्ट उत्पादन सुरु गरिसक्नेछन् ।
सिमेन्ट तेल जस्तै अत्यन्त ठूलो रणनीतिक महत्वको वस्तु हो । नेपालमा सिमेन्ट उद्योगको प्रचुर सम्भावना र नेपाल, भारत र चीनको तिब्बत क्षेत्रसमेतको सिमेन्टको बजार हेरेर उनी नेपालमा सिमेन्टको क्षेत्रमा लगानी गर्न उत्सुक रहेका हुन् । वैशाख १२ गते र त्यसपछिका भूकम्पले गरेको विराट क्षतिपछिको निर्माण सम्पन्न गर्न नेपाललार्ई ठूलो परिमाणमा सिमेन्ट आवश्यक हुने नै भयो । सो सन्दर्भलार्ई समेत मध्यनजर गर्दा साविकका सिमेन्ट उद्योग र आपूर्तिकर्ताहरूले नेपालको सिमेन्टको माग धान्ने सामथ्र्य राख्दैनन् ।
भारतले केही वर्षदेखि दुधालु गाई निर्यात गर्नमा रोक लगाए जस्तै भारतका विराट निर्माण आवश्यकता पूरा गर्ने क्रममा भारत आफैँलार्ई सिमेन्ट नपुग्ने भयो भने उसले नेपालमा सिमेन्ट निर्यातमा रोक लगाउन सक्छ र परिणाममा नेपालले सिमेन्टको ठूलो अभाव र आफ्ना विकास र निर्माण संरचनाको क्षेत्रमा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउँदैन भन्न सकिन्न ।
अत्यन्त गरिबी र अराजकताको बाटो हिँड्दै अफ्रिकी राष्ट्रहरूले स्थिरता र समृद्धि आर्जन गर्न मात्र सिकेनन् उनीहरूले चीन, भारत, रुस र अमेरिकासँगको सम्बन्धलार्ई आफ्ना हितमा लेनदेन गर्नसमेत अभूतपूर्व कुटनीतिक कुशलता देखाइरहेका छन् ।
त्यो हाम्रो लागि महत्वपूर्ण शिक्षा हो । नेपालले भारत, चीन र अमेरिका जस्ता मुलुकसँगको सम्बन्ध सञ्चालनमा देखाएको कुटनीतिक असफलता नै नेपालको आर्थिक पछौटेपन, राजनीतिक अस्थिरता र साम्प्रदायिक तनावमा रूपान्तरित भइरहेको छ । त्यसले नेपालको राष्ट्रिय एकता र अखण्डतामाथि पनि संकटको स्थिति उत्पन्न गरिरहेको छ ।
धेरै टाढा जानु परेन– कसरी बिपी कोइराला, राजा महेन्द्र र वीरेन्द्रले एकै साथ आफ्नो शर्तमा भारत, चीन, अमेरिका, सोभियत संघलगायतका युरोपका शक्तिशाली मुलुकको रणनीतिक चासो र सरोकारलार्ई नेपालमा निर्माण गरे, तिनलार्ई सन्तुलित राखे र नेपालको एकता र अखण्डतालार्ई सुरक्षित राखे ? त्यो रणनीतिलार्ई नेपालले पूर्ण क्षमता र समर्पणका साथ अघि बढाउन नसक्ने र राष्ट्रिय इच्छाशक्तिलार्ई दृढतापूर्वक प्रदर्शन गर्न नसक्ने हो भने अहिले जस्तै कुनै पनि सडक छाप टपरटुइयाँले बातैपिच्छे देश टुत्र्mयाउने धम्की दिँदै हिँड्न पाइरहन्छ ।
त्यसको पछाडिको अरू कोही नभएर त्यत्रो प्रचण्ड जनमतलार्ई प्रतिनिधित्व गरेर राष्ट्रको एकता र अखण्डताका लागि शपथ लिएर सिंहदरबार पस्ने र त्यस्तै शपथ लिएर सानो टुँडिखेलभित्र बस्नेहरूकै निरीहता र कायरता नै मूलतः जिम्मेवार छ । हुन सक्छ, उनीहरू कुनै संकीर्ण लोभ र स्वार्थको बन्दी भएर यो स्थितिमा पुगेका हुन् ।

प्रतिक्रिया