मच्छिन्द्र र सरस्वतीको कार्बाही फुकुवा

gकाठमाडौं, ११ साउन । चार क्लबको समन्वय समिति बनाएर २०७१ वैशाखबाट एन्फाविरुद्ध आन्दोलन थालेका मध्ये मच्छिन्द्र क्लब र सरस्वती क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई चित्तबुझ्दो जवाफ दिएको भन्दै दुई क्लबमाथि लगाएको प्रतिबन्धबाट फुकुवा भएको छ ।

‘चित्तबुझ्दो जवाफ आएका कारण मच्छिन्द्र र सरस्वतीको प्रतिबन्ध हटाइएको हो ।’ एन्फाको आइतबार बसेको बैठकपछि एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले भने,’ तर, फ्रेन्ड्स र हिमालयन शेर्पा क्लबले भने चिक्तबुझ्दो जवाफ नदिएकाले प्रतिबन्ध कायमै छ । हामी उहाँहरूलाई भोलि तपार्इंहरूको केही छ भनेर पत्र पठाउँछौँ ।’ एन्फा अध्यक्ष तथा सभासद् गणेश थापाको अध्यक्षतामा आइतबार बसेको बैठकमा एन्फामा रहेका मच्छिन्द्र र सरस्वती क्लबका प्रतिनिधिसमेत उपस्थित भएका थिए । यसैबीच सोही बैठकले एन्फा कम्प्लेक्स सातदोबाटोमा निर्माण भइरहेको प्याराफिटको उद्घाटन साफ यु–१९ च्याम्पियनसिपको दौरान गर्ने निर्णय पनि गरेको छ ।
च्यासलमा रहेको एन्फा टेक्निकल सेन्टरमा सरकारले १०/१५ हजारको दर्शक क्षमता भएको प्याराफिट बनाउने निर्णयलाई पनि स्वागत गरेको छ । फिफाको फन्डबाट आउने रकमबाट एन्फा कम्प्लेक्सको मैदानमा कृतिम लाइट र आर्टिफिसियल टर्फ र छिट्टै नै एन्फा कम्प्लेक्स नजिकै फुटसल मैदान निर्माण गर्ने पनि बताए । सोही बैठकबाट बाँसबारी फुटबल क्लबका अध्यक्ष मधुसूदन उपाध्ययलाई एन्फाको सदस्यमा नियुक्त गरेको छ ।

प्रतिक्रिया